गुण्डा नाइके चक्रे मिलनलाई कुटपिट मुद्दामा बयानका लागि भक्तपुर लगियो
वि.सं.२०८२ साउन २४ शनिवार
shares
काठमाडौं । काठमाडौं प्रहरीको हिरासतमा रहेका गुण्डा नाइके चक्रे मिलनलाई बयानका निम्ति शुक्रबार भक्तपुर लगिएको छ । २०८१ भदौ ४ मा भएको एक कुटपिटसम्बन्धी घटनामा भक्तपुरको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।
गत साता जन्मदिन मनाउने क्रममा महाराजगन्जस्थित होटल साम्बालाको आठौं तलाबाट ४७ जनासहित उनी पक्राउ परेका थिए । त्यसमध्ये १९ का विरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर भएको छ । उनीहरू जिल्ला प्रहरी, भद्रकालीको हिरासतमा छन् ।
गत वर्षको भदौमा भक्तपुरका बासिन्दा मनिष रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई लक्षित गर्दै ‘डुँडे’ भनी होच्याएका थिए । त्यसपछि चक्रे आर्फैँले फोन गरेर रायमाझीलाई धम्क्याएका थिए ।
भदौ ४ गते चक्रेका सहयोगी अजित खवाससहितको टोलीले सांघातिक हमला गरेको थियो । सोही घटनापछि रायमाझीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध मुद्दा चलेको थियो । उक्त जाहेरी भक्तपुर जिल्ला अदालतमा २०८१ असोज ९ गते दर्ता भएको थियो । जाहेरीमा प्रतिवादीका रूपमा पहिलो नाम चक्रेकै थियो ।































