संगठनात्मक लक्ष्य हासिल गर्न प्रभावकारी प्रतिभा व्यवस्थापन

16K
shares
Nabil bank

बिषाय प्रवेश

प्रतिभा व्यवस्थापन कुनै पनि संस्थाले आफ्ना कर्मचारीहरूको क्षमता, सीप, अनुभव र सम्भावनाको प्रभावकारी व्यवस्थापन गर्ने समग्र रणनीति हो। यसको मुख्य उद्देश्य योग्य जनशक्तिको पहिचान, विकास, प्रेरणा र दीर्घकालीन रूपमा संस्थामा संलग्न गराउनु हो। प्रतिस्पर्धी युगमा सक्षम मानव पूँजी नै सफलता र दिगो विकासको आधार हो, र त्यसलाई व्यवस्थित गर्न प्रभावकारी प्रतिभा व्यवस्थापन अपरिहार्य हुन्छ।

नेपालको निजामती सेवामा प्रतिभा भित्र्याउने प्रयासहरू भए तापनि तिनको प्रभाव अपेक्षित छैन। कर्मचारीहरूको कार्यसम्पादन, नवप्रवर्तन र सिर्जनशीलता कमजोर हुनुको मूल कारण  औपचारिक भर्ना प्रक्रिया, नीति र नेतृत्वमा अस्थिरता तथा स्रोतको कमी हो। व्यवहारिक रूपमा कर्मचारीहरू सेवा मुखी नभएर आत्मकेन्द्रित र वृत्तिमुखी बन्ने प्रवृत्ति विकसित भएको छ। तर प्रत्येक संस्थाको वास्तविक इन्धन भनेको समयानुकूल र उत्कृष्ट प्रतिभा हो, जसले संस्थागत रुपान्तरण र दीर्घकालीन सफलताको मार्ग प्रशस्त गर्छ।

प्रतिभा व्यवस्थापन  भर्ना प्रक्रियासँग मात्र सीमित छैन; यो कर्मचारीको क्षमता पहिचान, तालिम, मूल्याङ्कन, प्रेरणा र उत्तराधिकारी योजना मार्फत दीर्घकालीन रूपमा संस्थामा टिकाइराख्ने प्रणाली हो। यसले कर्मचारीलाई व्यक्तिगत र व्यावसायिक दृष्टिले विकास गर्ने अवसर दिन्छ, कार्यसम्पादन सुधार्छ र संगठनप्रतिको लगाव बढाउँछ। प्रभावकारी प्रतिभा व्यवस्थापनले संस्थागत लक्ष्यप्राप्ति, प्रतिस्पर्धात्मक क्षमता र दीर्घकालीन स्थायित्व सुनिश्चित गर्छ।

नेपालमा भने, योग्य जनशक्तिको विदेश पलायन, राजनीतिक हस्तक्षेप, सीमित स्रोत र अस्थिर कार्यसंस्कृति प्रमुख चुनौती हुन्। यस्ता समस्याको समाधान मेरिटमा आधारित नियुक्ति प्रणाली, पारदर्शी नीति, निरन्तर तालिम र सकारात्मक कार्यसंस्कृतिको विकासमार्फत सम्भव छ। यसरी प्रभावकारी प्रतिभा व्यवस्थापनले संस्थागत क्षमता वृद्धि गर्दै दीर्घकालीन विकास र प्रतिस्पर्धात्मक सशक्तता सुनिश्चित गर्न सक्छ।

नेपालमा प्रतिभा व्यवस्थापन र यसको वर्तमान अवस्था

प्रतिभा व्यवस्थापन संस्थागत लक्ष्य प्राप्तिमा आवश्यक जनशक्तिको योग्यताको पहिचान, विकास, प्रयोग, मूल्याङ्कन, प्रेरणा र टिकाउपनासम्मको एकीकृत रणनीति जनाउँछ। यो मानव संसाधनको विवेकपूर्ण व्यवस्थापन हो, जसले कर्मचारीको सीप, ज्ञान, अनुभव र सम्भावनालाई प्रयोग गरेर संगठनको कार्यसम्पादन सुधार गर्छ। तर नेपालको सन्दर्भमा यो अवधारणा अझै औपचारिकतामा मात्र सीमित देखिन्छ।

नेपालको निजामती सेवा तथा सरकारी संरचनामा प्रतिभा व्यवस्थापनको अभ्यास कमजोर, असंगठित र कहिलेकाहीँ राजनीति–प्रेरित देखिन्छ। कर्मचारी व्यवस्थापन प्रणाली बढी पदीय संरचनामा केन्द्रित छ, जहाँ ज्ञान, सीप र योग्यताभन्दा अनुभवको वर्ष गणना, वरिष्ठता, वा राजनीतिक पहुँचले पदोन्नति र अवसर निर्धारण गर्दछ।

नेपालको संघीयता कार्यान्वयनपछि तीन तहका सरकारमा जनशक्ति व्यवस्थापनको खाँचो तीव्र छ। स्थानीय सरकारहरूमा सीमित स्रोत, तालिम, अनुभव र व्यवस्थापन संरचनाको कमजोरीका कारण दक्ष जनशक्ति अभाव झनै गहिरिएको छ। तर त्यसको समाधानका लागि केन्द्र सरकारले आवश्यक नीति निर्माण, लगानी वा दिगो रणनीति निर्माण गर्न सकेको छैन।

प्रमुख समस्या र बाधाहरू

निजामती सेवा ऐन र नियमावलीमा प्रतिभा व्यवस्थापनका केही प्रावधान भए पनि तिनको कार्यान्वयन कमजोर छ। कर्मचारी वृत्ति विकास, मूल्याङ्कन र प्रेरणा प्रणाली स्पष्ट नहुँदा उनीहरू निष्क्रिय, आत्मकेन्द्रित र दैनिकीअनुकूल मात्र काम गर्न थाल्छन्। यसका पछाडि नीति निर्माताको उदासीनता, नेतृत्व कमजोरी, स्रोतको कमी र संगठनप्रतिको समर्पण अभाव मुख्य कारक हुन्। कागजीरूपमा क्षमता विकासको कुरा भए तापनि व्यवहारमा सरकारी निकायहरू औपचारिकतामा सीमित छन्, जसले प्रतिभाको सही उपयोग रोक्छ।

नेपालमा ‘ब्रेन ड्रेन’ अर्थात् दक्ष जनशक्तिको विदेश पलायन व्यापक समस्या बनेको छ। चिकित्सा, प्रविधि, प्रशासन र शिक्षा क्षेत्रमा योग्य जनशक्ति देश बाहिरिन्छ। ‘ब्रेन गेन’ एकाइ गठन भए पनि यसको प्रभाव सीमित छ। विदेशमा रहेका नेपाली विज्ञसँग सम्पर्क र तिनको ज्ञान उपयोगको प्रयास भए तापनि आन्तरिक प्रतिभालाई देशमै टिकाउने ठोस रणनीति छैन। युवाहरूलाई स्वदेशमै अवसर, सम्मान र प्रगतिका सम्भावना नदिँदा ब्रेन ड्रेन रोक्न कठिन छ।

साथै, सरकारी सेवामा निरन्तर तालिम र ज्ञान व्यवस्थापन कमजोर छ। जीवनपर्यन्त सिकाइको अभ्यास नहुँदा कर्मचारीको सीप समयानुकूल अद्यावधिक हुँदैन। सेवाबाट निवृत्त हुँदा मूल्यवान ज्ञान हराउँछ, किनभने अनुभव हस्तान्तरण र संस्थागत ज्ञान सञ्चयको व्यवस्था पर्याप्त छैन। यसले संस्थागत स्मृतिलाई कमजोर बनाइरहेको छ।

नेतृत्व विकासको अभाव पनि प्रतिभा व्यवस्थापनको एउटा जटिल चुनौती हो। संगठनभित्र उदाउँदो नेतृत्वको पहिचान गर्न सक्ने, उनीहरूलाई उत्प्रेरणा प्रदान गर्न सक्ने र दीर्घकालीन उत्तराधिकारी योजना बनाउन सक्ने प्रणालीको अभाव छ। यस्तो अभावका कारण न त संस्थाभित्र नेतृत्वको निरन्तरता देखिन्छ, न त गुणस्तरीय नेतृत्वको विकास हुन्छ। नेतृत्वले नै नीति निर्माणमा तथ्य र सन्दर्भको आधारमा निर्णय लिनुपर्छ, तर उल्टो नेताहरूको कमजोरीका कारण नीतिगत निर्णयहरू व्यक्तिगत चाहना, दबाब र अनौपचारिक सञ्जालद्वारा निर्देशित भइरहेका छन्।त्यसैगरी, कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रणाली पारदर्शी छैन। कुन कर्मचारीले कस्तो नतिजा दिएको हो, त्यसको आधारमा प्रोत्साहन, पुरस्कार वा पदोन्नति हुने नीतिगत स्पष्टता र अनुशासनको अभाव छ। नतिजा स्वरूप मूल्याङ्कन प्रणाली राजनीतिक वा व्यक्तिगत पहुँचको भरमा चल्ने गरेको देखिन्छ, जसले दक्ष कर्मचारी हतोत्साहित हुन्छन् र औसत प्रदर्शनकर्ताहरू पुरस्कृत हुने प्रवृत्ति बलियो हुन्छ।

सरकारी संस्थाहरूमा संगठनात्मक स्वामित्वको भावना कमजोर देखिन्छ। कर्मचारीहरू सेवा प्रवाहमा समर्पित नभई  जागिर धान्नेतिर केन्द्रित छन्। स्रोतसाधनको न्यूनता, भौतिक पूर्वाधारको अभाव, प्रविधिको अपर्याप्त प्रयोग तथा अनावश्यक रूपमा जटिल प्रशासनिक प्रक्रिया संस्थागत कार्यक्षमताका बाधक बनेका छन्। यस्तो अवस्थामा सरकारद्वारा घोषित सुधार योजनाहरू कार्यान्वयन गर्न सकिँदैन, र प्रतिभा व्यवस्थापन  नाराका रूपमा सीमित हुन्छ। यसैले, संस्थागत रूपान्तरणका लागि नेतृत्व, संरचना, रणनीति र संस्कृतिको समग्र पुनर्संरचना अपरिहार्य देखिन्छ।

 

नेपालको राजनीतिक प्रणालीले निजामती सेवामा पनि असर पारेको छ। संघीय सरकारमा नेतृत्व परिवर्तन सँगै प्रशासनमा हस्तक्षेप, कर्मचारीको सरुवा–बढुवा राजनीति प्रेरित, र योग्यताको उपेक्षा भएको देखिन्छ। कर्मचारी प्रशासनको राजनीतिकरणले प्रतिभा व्यवस्थापनको प्रभावकारिता घटाएको छ।

यसबाहेक, संघीयता कार्यान्वयनमा जनशक्ति व्यवस्थापन रणनीति तयार गर्न नसक्दा स्थानिय तहमा प्राविधिक कर्मचारीको अभाव छ। योजना निर्माण, बजेट कार्यान्वयन र सार्वजनिक सेवा वितरणमा दक्षता देखिदैन।

समाधानका रणनीतिहरू

नेपालमा प्रभावकारी जनशक्ति व्यवस्थापनका लागि कर्मचारीको नियुक्ति र पदोन्नतिमा स्पष्ट मापदण्ड तथा पारदर्शी प्रक्रिया अत्यावश्यक छ। हालको प्रणालीमा वरिष्ठता, पहुँच र राजनीतिक प्रभावले निर्णय प्रभावित हुने अवस्था रहेको छ, जसले योग्यताको उपेक्षा गर्दछ। आयोगहरू, मन्त्रालयहरू र स्थानीय तहहरूबीच समन्वय गर्दै एकीकृत योग्यता आधारित प्रणाली निर्माण गरिएमा मात्र दक्ष जनशक्तिको पहिचान, परिचालन र दीर्घकालीन संस्थागत क्षमता विकास सम्भव हुन्छ।

सरकारी सेवामा रहेका कर्मचारीहरूको प्राविधिक र व्यवस्थापकीय सीपलाई निरन्तर अभिवृद्धि गर्न सेवाभित्रै जीवनपर्यन्त सिकाइको अवसर हुनुपर्छ। प्रत्येक कर्मचारीको वृत्तिविकासको लागि आवश्यक तालिमको संरचना, अभिमुखीकरण कार्यक्रम र अध्ययन–अनुसन्धानमा जोड दिनुपर्ने हुन्छ। साथै, सेवानिवृत्त कर्मचारीको दीर्घ अनुभवलाई संस्थागत रूपमा संकलन गर्ने ज्ञान व्यवस्थापन प्रणालीको अभाव पूर्ति गर्नुपर्छ।

सहसचिव र सचिवजस्ता उच्चपदस्थ पदहरूमा दीर्घकालीन उत्तराधिकारी योजना आवश्यक छ, जसबाट योग्य, कर्मठ र दूरदर्शी नेतृत्व क्षमता भएका कर्मचारी पहिचान गरिन सकून्। नेतृत्वको भविष्य सुनिश्चित गर्न पदोन्नतिमा मात्र होइन, नेतृत्व प्रशिक्षण र जिम्मेवारी सुम्पने अभ्यास पनि विकसित गर्नुपर्छ, जसले संस्थालाई स्थायित्व र उत्कृष्टता दिन्छ।

कर्मचारीको कार्यसम्पादन, प्राप्त तालिम, पुरस्कार, कमजोरी, उन्नतिको अवस्था लगायतका सम्पूर्ण विवरण व्यवस्थित राख्न मानव संसाधन सूचना  प्रणाली अनिवार्य हुनुपर्छ। यस्तो प्रणालीबाट तथ्यमा आधारित नीति निर्माण, क्षमताको विश्लेषण, पारदर्शी मूल्याङ्कन र वृत्तिविकासलाई सहज बनाउन सकिन्छ। अहिलेको कागजी प्रणालीलाई छोडेर डिजिटल प्रणालीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता तीव्र छ।

योग्य जनशक्तिको विदेश पलायन रोक्न र विदेशमा रहेका दक्ष नेपालीहरूलाई देशमा फर्काउने प्रयास स्वरूप स्थापित ‘ब्रेन गेन केन्द्र’ अहिले सीमित भूमिकामा सीमित छ। यसको रणनीति सुधार गर्दै, भित्रकै योग्य जनशक्तिको पहिचान, सम्मान, प्रेरणा र आवश्यक सुविधा प्रदान गरिनुपर्छ। अनुसन्धानको वातावरण, सामाजिक सम्मान, करियर सुरक्षा र सिर्जनात्मक अवसरहरू प्रदान गर्न सकिएमा योग्य प्रतिभाहरू देशमै टिक्न सक्छन्।

कुनै पनि संगठनलाई सक्षम, प्रभावकारी र उत्तरदायी बनाउने मूल आधार भनेको नेतृत्व हो। नेपालको सन्दर्भमा सकारात्मक कार्यसंस्कृति, सम्मानजनक व्यवहार, पारदर्शिता र दायित्वबोध निर्माण गर्न सक्ने नेतृत्वको खाँचो छ। यस्तो नेतृत्वले कर्मचारीमा प्रेरणा, संस्थामाथिको विश्वास र सेवा प्रवाहमा जिम्मेवारीको भावना विकास गर्न सहयोग पुर्याउँछ। नेतृत्व नै सेवा परिवर्तनको प्रवेशद्वार हो, जसलाई सुदृढ गर्न ठोस नीति र अभ्यास आवश्यक छन्।

निष्कर्ष

निष्कर्षमा भन्नुपर्दा, प्रभावकारी प्रतिभा व्यवस्थापन  कर्मचारीको भर्ना वा व्यवस्थापनको साधारण प्रक्रिया मात्र होइन, यो संस्थागत सफलता र दिगो विकासको आधारशिला हो। योग्य जनशक्तिको पहिचान, विकास, मूल्याङ्कन र प्रेरणादायी वातावरण सिर्जना नगरी संस्थाहरू दीर्घकालीन रूपमा सक्षम हुन सक्दैनन्। योग्यता आधारित पदोन्नति, निरन्तर तालिम, उत्तराधिकारी योजना र आधुनिक मानव संसाधन सूचना प्रणालीको प्रयोगले पारदर्शिता, दक्षता र जवाफदेहिता सुनिश्चित गर्छ।

नेपालजस्ता विकासशील मुलुकमा डिजिटल प्रविधि, ज्ञान व्यवस्थापन र कार्यप्रणाली सुधारमार्फत मानव पूँजीको पूर्ण उपयोग अपरिहार्य छ। संस्थागत प्रतिबद्धता, नेतृत्वको दृढता र आधुनिक प्रविधिको संयोजनले मात्र कर्मचारीको सृजनशीलता, नवप्रवर्तन र नेतृत्व क्षमता विकास गर्न सकिन्छ। यसले कर्मचारी र संगठनबीच सहकार्य, विश्वास र प्रतिबद्धताको वातावरण सिर्जना गर्दछ।

समग्रमा, प्रभावकारी प्रतिभा व्यवस्थापनले संस्थागत लक्ष्य प्राप्तिमा मात्र सहयोग पुर्‍याउँदैन, यसले दीर्घकालीन दिगो विकास, सार्वजनिक सेवा प्रभावकारिता र प्रतिस्पर्धात्मक क्षमता पनि सुनिश्चित गर्छ। मानव पूँजीको सही मूल्याङ्कन, विकास र उपयोग बिना दिगो विकासको सपना अधुरो रहन्छ। त्यसैले प्रत्येक संगठनले आफ्नो रणनीति र नीति प्रणालीमा प्रतिभा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्नुपर्छ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख हुन्।)

 

 

 

 

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x