लोकतान्त्रिक स्थायित्वका लागि प्रशासनिक पुनर्निर्माण

10.1K
shares
Nabil bank

 

नेपालको राजनीति विगत केही दशकयता अस्थिर, गुटबन्दी र निष्क्रियताले ग्रस्त छ। जेन जी आन्दोलनले यही असन्तोष र प्रणालीगत कमजोरीलाई प्रत्यक्ष उजागर गर्यो। यो आन्दोलन जेन जी सडक प्रदर्शन वा युवा आक्रोशको प्रतीक मात्र होइन, बरु नागरिक चेतना, पारदर्शिता र लोकतान्त्रिक सहभागिताको गहिरो मागको अभिव्यक्ति हो।

 

जेन जी आन्दोलनले देखाएको मुख्य कुरा हो—राजनीतिक नेतृत्व र प्रशासनबीचको दूरी, नागरिकको अपेक्षा र राज्यको कार्यक्षमता बीचको अन्तर, र भ्रष्टाचार तथा निष्क्रियताबाट उत्पन्न असन्तोष। निर्वाचन, मताधिकार र संवैधानिक अधिकारको मात्र प्रयोगले लोकतन्त्र सशक्त हुँदैन। वास्तवमा, लोकतन्त्रको वास्तविक शक्ति नागरिकको सक्रिय सहभागितामा निर्भर हुन्छ। जेन जी आन्दोलनले नागरिक चेतनालाई केन्द्रमा राख्दै राजनीतिक प्रणालीमा सुधारको माग उठाएको छ।

 

नेपालको प्रशासन र कर्मचारीतन्त्रले दशकौँसम्म राजनीतिक दबाब, गुटबन्दी र संरचनागत जडताको सामना गरेको छ। परिणामस्वरूप, नीति कार्यान्वयन सुस्त, भ्रष्टाचार र अपारदर्शी भएको छ। जेन जी आन्दोलनले जनताका वास्तविक जीवनका समस्या—सरकारी सेवामा ढिलासुस्ती, अनियमितता, बजेट दुरुपयोग, र सार्वजनिक योजनाको दुरुपयोग—लाई स्पष्ट पार्यो। नागरिकले महसुस गरे कि अधिकारको अभ्यास मात्र पर्याप्त छैन; उनीहरूको सक्रिय अनुगमन र आवाजले मात्र शासन प्रणालीलाई जवाफदेही बनाइराख्न सक्छ।

 

नेपालमा लोकतन्त्र स्थापनापछि पनि प्रशासनिक प्रणालीमा लगातार चुनौतीहरू देखिएका छन्। गणतन्त्रले संविधानमा नागरिक अधिकार, तटस्थ प्रशासन र सुशासनको दृष्टान्त दिएको भए पनि व्यवहारमा कर्मचारीतन्त्र राजनीतिक हस्तक्षेप, ढिलासुस्ती र भ्रष्टाचारबाट मुक्त हुन सकेको छैन। प्रशासनिक निकायहरूले नीति कार्यान्वयन, योजना सञ्चालन र सार्वजनिक सेवा वितरणमा अपेक्षित दक्षता देखाउन नसक्दा नागरिकको विश्वासमा कमी आएको छ। यसले लोकतन्त्रको आधार—नागरिक र राज्यबीचको विश्वास—कमजोर बनाएको छ।

 

लोकतान्त्रिक स्थायित्वको लागि प्रशासनिक पुनर्निर्माण अपरिहार्य छ। नेपालको बहुजातीय, बहुभाषिक र भौगोलिक रूपमा जटिल समाजमा प्रशासनिक प्रणालीले समावेशी र उत्तरदायी सेवा दिन सक्षम हुनु आवश्यक छ। तर हालको कर्मचारीतन्त्रमा संरचनात्मक कमजोरी, प्रक्रियागत जटिलता र नैतिक मूल्यको अभावले गर्दा नागरिक सेवामा असमानता, ढिलासुस्ती र भ्रष्टाचार देखा परेको छ। राजनीतिक दलको दबाब, पदोन्नति र सरुवा सम्बन्धी गुटबन्दी तथा लोकसेवा कर्मचारी युनियनको दलीयकरणले प्रशासनिक निष्पक्षता कमजोर पारेको छ।

 

यो आन्दोलनले नागरिक चेतनाको महत्त्वलाई पुनः पुष्टि गर्‍यो। जब नागरिक आफ्ना अधिकार र जिम्मेवारी प्रति सचेत हुन्छन्, तब उनीहरू जेन जी आफ्नो हितमा नभई समग्र समाज र राष्ट्रको हितमा निर्णय गर्न सक्षम हुन्छन्। जेन जी आन्दोलनले देखायो कि नागरिक सचेत, नैतिक र सामाजिक उत्तरदायित्ववाली भए मात्र भ्रष्टाचारमुक्त शासन सम्भव छ।

 

जेन जी आन्दोलनले राजनीतिक प्रणाली र कर्मचारीतन्त्र दुबैलाई चुनौती दिएको छ। राजनीतिक दलहरूको आन्तरिक विवाद, प्रशासनमा हस्तक्षेप, र उत्तरदायित्वविहीन निर्णयले नागरिक विश्वास कमजोर पारेको छ। आन्दोलनले सुझाव दिएको छ कि राजनीतिक हस्तक्षेप कम गर्न आचारसंहिता, पारदर्शिता, जवाफदेही मूल्याङ्कन र डिजिटल निगरानी आवश्यक छ। अमेरिकी ह्याच एक्ट जस्तो तटस्थता सुनिश्चित गर्ने कानुन र नीतिहरू लागू गरेर मात्र प्रशासनलाई ‘नागरिकको सेवक’ बनाइराख्न सकिन्छ।

 

यस आन्दोलनले देखाएको अर्को महत्त्वपूर्ण कुरा हो—सकारात्मक पुरस्कृत र परिणाममुखी कार्यसंस्कृतिको आवश्यकता। कर्मचारीले समयमै सेवा दिए, नवप्रवर्तन देखाए र जनतालाई सहज सेवा उपलब्ध गराए भने मात्र राज्यबाट सम्मान र अवसर प्राप्त गर्न सक्ने व्यवस्था हुनु पर्दछ। जेन जी आन्दोलनले जनताको सहभागितालाई मात्र होइन, प्रशासनिक सुधार, डिजिटल निगरानी र सामाजिक जागरुकतालाई पनि जोड दिएको छ।जेन जी आन्दोलन नेपालमा नागरिक चेतनाको शक्तिलाई केन्द्रमा राख्दै राजनीतिक र प्रशासनिक सुधारको मार्गदर्शन गर्छ। आन्दोलनले देखायो कि जेन जी मताधिकार प्रयोग वा प्रदर्शनले मात्र पर्याप्त छैन; नागरिकको निरन्तर निगरानी, सक्रिय सहभागिता, र नैतिक मूल्यमा आधारित चेतना आवश्यक छ। जब नागरिक सचेत र जिम्मेवार बनिरहेका छन्, तब मात्र लोकतन्त्र सशक्त, पारदर्शी र भ्रष्टाचारमुक्त बन्न सक्छ। जेन जी आन्दोलनले यही कुरा स्पष्ट पारेको छ—नागरिक चेतना नै लोकतन्त्रको मेरुदण्ड हो।

 

नेपालजस्तो बहुजातीय, बहुभाषिक र भौगोलिक रूपमा जटिल देशमा, कर्मचारीतन्त्रले समान अवसर, गुणस्तरीय सेवा र न्यूनतम सम्पर्कमै प्रभावकारी सेवा सुनिश्चित गर्नुपर्छ। जब कर्मचारीतन्त्र नागरिकको अपेक्षा अनुरूप काम गर्न सक्षम हुन्छ, तब मात्र लोकतान्त्रिक शासन बलियो, समाज समावेशी र राज्य–नागरिक सम्बन्ध मजबुत हुन्छ।

 

कर्मचारीतन्त्रको विफलता केवल राजनीतिक दोष होइन। नीति निर्माणमा दबाब, दलको गतिविधिमा संलग्नता र पदोन्नतिमा सौदाबाजीले कर्मचारीलाई ‘नागरिक सेवक’ होइन, ‘व्यक्तिगत लाभको व्यापारी’ बनाउँछ। यसले नागरिकमा अविश्वास बढाउँछ र प्रशासनिक प्रणाली कमजोर बनाउँछ।

 

दण्डहीनता अर्को समस्या हो। कानुनी सजाय भए पनि व्यवहारिक कार्यान्वयन कमजोर छ। नीतिनिर्माताको डर, कर्मचारी संरक्षणवादी दृष्टिकोण र राजनीतिक विवशताले प्रशासनलाई उत्तरदायित्वविहीन शक्ति केन्द्रमा परिणत गरेको छ।

 

यसरी, नेपालको निजामती प्रशासन मूल्य–विहीन, नैतिकताविहीन र संरचनात्मक असन्तुलनको संक्रमणमा छ। सेवा भन्दा शक्ति, उत्तरदायित्वभन्दा सुविधा, संस्थागत निष्ठाभन्दा व्यक्तिगत स्वार्थ प्रधान भएको छ। गणतन्त्र स्थापनापछि सुधारका अवसर भए पनि कर्मचारी युनियनको दलीयकरण, नेतृत्वको राजनीतिक विवशता र नीति निर्माताको निर्णयहीनताले प्रशासनलाई सुधारको मार्गमा अघि बढ्न दिएको छैन।

 

संक्षेपमा, कर्मचारीतन्त्रले नागरिकको सेवक बन्नुपर्छ, सत्ताको छायाँ वा व्यक्तिगत लाभको साधन होइन। सुधार केवल संरचनागत होइन, मूल्यगत र चेतनागत पनि हुनुपर्छ। सेवा, नैतिकता र जवाफदेहिता प्रशासनको मूल मन्त्र बन्नुपर्छ।

 

नेपालको निजामती प्रशासनले राष्ट्रको नीतिगत, कार्यान्वयनात्मक र विकास पक्षलाई गतिशील बनाउने अपेक्षा गरिएको थियो, तर आज यो सुस्त, भ्रष्ट र अविश्वसनीय बनेको छ। यसको मूल कारण—संरचनागत संरक्षण, प्रक्रियागत जटिलता र नैतिक मूल्यको अभाव।

 

 

२०४९ सालमा जारी निजामती सेवा ऐनले कर्मचारीलाई सुरक्षा कवच त प्रदान गरेको छ, तर आज त्यो कवच प्रशासनिक जडता र जवाफदेहीहीनताको प्रमुख कारण बनेको छ। सामान्य अनुशासनात्मक कदम चाल्न समेत लोकसेवा आयोगको अनुमति आवश्यक पर्ने व्यवस्था, कार्यान्वयन तहमा गम्भीर बाधक बनेको छ। यसको परिणामस्वरूप न भ्रष्टाचार गर्ने कारबाहीमा पर्छ, न कर्तव्य पालन नगर्ने सजायमा। उदाहरणका लागि, भ्रष्टाचार मुद्दा नलागेसम्म कसैलाई जागिरबाट हटाउने असाधारण सजाय कल्पनाभन्दा परको कुरा हो।

 

अत्यधिक सुरक्षा र संरचनाले कर्मचारीमा निर्भार मानसिकता जन्माएको छ—”नतिजा आए नआए फरक पर्दैन, जिम्मेवारी सीमित छ, सजायको सम्भावना न्यून छ।” यो संरचनात्मक कमजोरी सुधारको पहिलो चुनौती हो। यसैबीच, नेपाल अझै कागज र दस्तावेजमा अल्झिएको छ, डिजिटल सेवा प्रणालीमा अभाव छ। तालिमको कमी, अधिकारको अभाव र जटिल प्रक्रिया कार्यसम्पादनमा बाधक बनेको छ।साथै, राम्रो नियतले काम गर्दा पनि निलम्बन, सामाजिक अपमान वा मुद्दा भोग्नु पर्ने स्थिति कर्मचारीको मनोबल कमजोर बनाएको छ। यसले राष्ट्रसेवाभन्दा आर्थिक लाभ र व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिने प्रवृत्ति जन्माएको छ। घुसखोरी र भ्रष्टाचार खुला रूपमा बढ्न थालेको देखिन्छ। परिणामस्वरूप निजामती सेवामा नैतिक मूल्य ह्रास भएको छ, जुन दीर्घकालीन राष्ट्रिय संकटको रूपमा देखिन्छ।लोकसेवाले लिने संज्ञानात्मक परीक्षाले ज्ञान नाप्न सक्छ, तर नैतिक चरित्र, कर्मचारीको सोच, मूल्य र कर्तव्य–भावना जाँच्ने कुनै संयन्त्र छैन। यही खाचोले गर्दा योग्य ठहरिएका कर्मचारी नै भ्रष्ट, गैरजिम्मेवार र निरंकुश बन्न पुगेका छन्।

 

अहिलेको आवश्यकता के हो भने, निजामती सेवामा राजनीतिक हस्तक्षेपलाई कडाईका साथ निषेध गरिनुपर्छ। अमेरिका जस्तो देशले लागू गरेको ‘ह्याच एक्ट’ जस्तै आचारसंहिता नेपालमा पनि तत्काल कार्यान्वयन गरिनु पर्छ—जहाँ कर्मचारीले कार्यक्षेत्रमा राजनीति गर्न नपाओस्, तर नागरिक अधिकारका रूपमा निजी जीवनमा राजनीतिक स्वतन्त्रता कायम रहोस्। यस्तै, नागरिक सहभागिता सुनिश्चित गर्न सेवाप्रवाहको विन्दुमा सल्लाहकार समिति, डिजिटल पारदर्शिता र परिणाममुखी मूल्याङ्कन प्रणालीको विकास गर्नुपर्छ।

 

यो अव्यवस्था सुधार्न आचारसंहिताको कठोर पालना, राजनीतिक स्वतन्त्रता, नैतिक मूल्यमा आधारित प्रशिक्षण र परिणाममुखी मूल्याङ्कन प्रणाली अनिवार्य छ। गणतन्त्रले अधिकार दिएको हो, उच्छृंखलता होइन। अतः राज्य संयन्त्रको मेरुदण्ड भनिएको प्रशासन फेरि ऊर्जाशील, जनउत्तरदायी र इमानदार नबनेसम्म लोकतन्त्रको आत्मा सधैं अपूर्ण रहनेछ।अन्ततः, राष्ट्रको मेरुदण्ड ठानिएको निजामती प्रशासन सुधारबिना सुशासनको कल्पना अपुरो रहन्छ। संरचना, चेतना र संस्कारको एकीकृत सुधारबाट मात्र हामी ‘नयाँ नेपाल’ भन्ने नारालाई कार्यरूपमा बदल्न सक्नेछौं। जस दिन कर्मचारी कर्तव्य, मूल्य र परिणामप्रति प्रतिबद्ध हुनेछ, त्यही दिन राष्ट्रको पुनर्जागरणको शुभारम्भ हुनेछ।

 

निजामती प्रशासन कुनै पनि राष्ट्रको नीतिगत मेरुदण्ड हो, जसको कार्यसम्पादन, आचरण र उत्तरदायित्वको स्तरले समग्र राज्यशक्तिको विश्वसनीयता निर्धारण गर्छ। तर, नेपालमा दशकौँदेखि देखिँदै आएको प्रशासनिक जडता, राजनीतिक हस्तक्षेप, नैतिक मूल्यको अवसान र संरचनात्मक जटिलताले गर्दा यो यन्त्र निष्क्रियता, भ्रष्टाचार र अकर्मण्यताको प्रतीक बनिरहेको छ। अब सुधारको कुरा भावनात्मक भाषणमा सीमित नरहेर गहिरो नीतिगत, संरचनात्मक र सामाजिक हस्तक्षेपमार्फत कार्यान्वयनको धरातलमा आउनुपर्छ। यसका लागि राजनीतिक निषेध अनिवार्य शर्त हो। अमेरिकी ह्याच एक्टजस्तै स्पष्ट आचारसंहिताले निजामती सेवामा कार्यरत व्यक्तिहरूको हैसियत राजनीतिक स्वार्थको वाहक बन्ने होइन, तटस्थताको प्रतीक बन्ने सुनिश्चित गर्नु अत्यावश्यक छ। सेवा प्रवाहमा हैसियतको दुरुपयोग, पदको प्रभावमा गरेको निर्णय वा जनताको हितविपरीत लिएको कदमले राज्यको नैतिक धरातललाई कमजोर बनाउँछ। कर्मचारी तटस्थ भएन भने शासन प्रशासन सन्तुलित हुँदैन।

 

त्यस्तै, प्रोत्साहन र प्रतिफलको सिद्धान्त पनि सुधारको मेरुदण्ड हो। एउटा कर्मचारीले समयमै सेवा दिए, जनताको समस्या सरलताका साथ समाधान गरे, इमानदारी र नवप्रवर्तन देखाए भने उसले राज्यबाट सम्मान, पदोन्नति र अवसर पाउनु न्यायोचित मात्र होइन, अपरिहार्य पनि हो। अब समय आएको छ, जहाँ निष्क्रियता होइन, उत्पादकता र प्रभावकारिता पुरस्कृत हुनेछन्। यसका साथै, हाम्रो प्रशासन प्रणाली अनावश्यक प्रक्रिया, रौं–चिरा संस्कृतिमा अल्झिएको छ, जहाँ परिणामभन्दा प्रक्रिया महत्त्वपूर्ण मानिन्छ। यस्ता जटिलता घटाएर परिणाममुखी कार्यसंस्कृति स्थापना गर्नु आवश्यक छ। निर्णय गर्न सक्ने अधिकार नदिएर परिणामको अपेक्षा गर्नु न जेन जी अन्याय हो, त्यो व्यवस्थामाथिको व्यंग्य हो। यससँगै, डिजिटल सुशासन र नागरिक सहभागितालाई संस्थागत गर्दै नागरिक प्रतिनिधिहरूलाई सेवा मूल्याङ्कन, प्रक्रिया पुनर्रचना र सेवा डिजाइनमा परामर्शदाताको भूमिका दिन सकिने व्यवस्था गर्नु आवश्यक छ। यसले प्रशासन पारदर्शी, जवाफदेही र जनउत्तरदायी बन्ने दिशामा ठोस अग्रसरता ल्याउँछ। अन्ततः, सुशासनको कल्पना त्यतिखेर मात्र सम्भव हुन्छ जब राज्यका कर्मचारीहरू कार्यकुशलता, नैतिकता र उत्तरदायित्वप्रति कटिबद्ध हुन्छन्। र यही समर्पणबाट ‘नयाँ नेपाल’को सपना व्यवहारिक यथार्थमा रूपान्तरण हुन्छ।

 

अन्ततः, नागरिक चेतनाबाट मात्रै लोकतन्त्र सुदृढ र भ्रष्टाचारमुक्त बन्न सक्छ। जागरुक, जिम्मेवार र मूल्य–आधारित नागरिकले मात्र शासन प्रणालीको पारदर्शिता सुनिश्चित गर्न सक्छन्। शिक्षा, सूचना प्रविधि, नागरिक समाज र सञ्चार माध्यमले नागरिक चेतना अभिवृद्धि गर्न योगदान दिन्छन्। जब नागरिकले आफ्नो अधिकार र दायित्वको सही प्रयोग गर्छन्, तब मात्र लोकतन्त्र पूर्ण रूपमा सशक्त, पारदर्शी र भ्रष्टाचारमुक्त बन्न सक्छ। नागरिक चेतना लोकतन्त्रको मेरुदण्ड हो, र यसको अभिवृद्धिले मात्र दीर्घकालीन सामाजिक स्थायित्व, राष्ट्रिय विकास र न्याय सुनिश्चित गर्न सक्छ।

 

नेपालमा भ्रष्टाचारमुक्त, पारदर्शी र जिम्मेवार प्रशासन कायम गर्न नागरिक चेतना, कर्मचारीतन्त्रको पुनर्निर्माण र कानुनी सुधार एकसाथ आवश्यक छन्। जब नागरिकले अधिकार र जिम्मेवारी बुझ्छन्, कर्मचारी पारदर्शिता अपनाउँछन् र प्रशासनिक संरचना सक्षम हुन्छ, तब मात्र लोकतन्त्र बलियो, समाज समावेशी र राष्ट्र समृद्ध बन्न सक्छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x