Pious Hope नबनोस जेनजी आन्दोलनको गन्तव्य

3K
shares

 

 

अंग्रेजीमा एक शव्दावली छ Pious Hope ।यो शब्दको अर्थ बुझ्नका लागि यसलाई दुई भागमा विभाजन गर्न सकिन्छ । Pious भन्नाले धार्मिक, आस्थावान्, वा निष्ठावान् भन्ने अर्थ दिन्छ। तर राजनीतिक, सामाजिक वा व्यवहारिक सन्दर्भमा Pious शब्दले आवेशपूर्ण, अत्यधिक आदर्शवादी वा अवास्तविक रूपमा सकारात्मक सोच भन्ने अर्थ पनि जनाउँछ।Hope भन्नाले आशा, अपेक्षा, वा केही राम्रो हुने विश्वास भन्ने बुझाउँछ।

 

 

त्यसैले Pious Hope भन्नाले यस्तो आशा वा अपेक्षा हो, जुन अत्यधिक आदर्शवादी, भावनात्मक वा व्यवहारमा सम्भव नदेखिने हुन्छ।अर्थात्, राम्रो कुरा हुने वा ठूलो परिवर्तन आउने अपेक्षा त गरिन्छ तर त्यसका लागि आवश्यक व्यवहारिक तयारी, संस्थागत आधार, र दीर्घकालीन नीति नहुदा र यसमा तत्परता नहुदा ती संभावनाहरु कार्यान्वयनमा आउन सक्दैनन्। जस्तो कुनै देशमा राजनीतिक परिवर्तनपछि भन्ने गरिन्छ अब सब ठीक हुन्छ, सब बदलिन्छ तर त्यस परिवर्तनसँगै सोच, व्यवहार र संरचना नबदलिँदा त्यो आशा Pious Hope बन्न पुग्छ। यसै गरि  नयाँ नीतिले सबै समस्या समाधान गर्छ भन्ने सोचाइ पनि कार्यान्वयन गर्ने इच्छाशक्ति र क्षमता नहुने हो भने Pious Hope हुन सक्छ । Pious Hope अत्यधिक आदर्शवादी वा अवास्तविक आशा; व्यवहारिक आधारविनाको विश्वास हो । यो  यस्तो अपेक्षा  हो जुन भावनामा आधारित हुन्छ तर कार्य तत्परताको अभावमा वा पुरानै शैलीको अवलम्बनले परिणाममा ठोस सुधार नआउने सम्भावना बढी हुन्छ।यसरी Pious Hope भनेको व्यवहारमा आधारित नभएको, केवल आदर्श वा भावनामा आधारित आशा हो  जसले सुरुवाती  चरणमा उत्साह त दिन्छ, तर परिणाममा ठोस सुधार ल्याउन सक्दैन।यसलाई शुभ तर कहिल्यै पूर्ण नहुने अधूरो आशा पनि भनिन्छ।

 

के नेपालमा भएका राजनीतिक परिवर्तनहरु  वा सुधारवाट गरिने अपेक्षा Pious Hope  नै हुन् त भन्ने प्रश्न यस प्रसंगमा सान्दर्भिक बन्ने गर्दछ । राजनीतिक परिवर्तनहरूको उद्देश्य सधैं सकारात्मक रूपान्तरण हो । जस्तैः सुशासनको स्थापना, जनउत्तरदायी नेतृत्व,आर्थिक समृद्धि,सामाजिक न्याय, र स्थायित्व।यी सबै पवित्र र सद्भावनायुक्त लक्ष्यहरू हुन्। त्यस अर्थमा, यी Pious (पवित्र) हुन्। व्यवहारिक रूपमा नेपालको इतिहास हेर्दा प्रत्येक राजनीतिक परिवर्तनपछि पनि शासनशैलीमा ठूला सुधार नदेखिनु, नयाँ नेतृत्वले पुरानै गल्ती दोहोर्याउनु,दलगत स्वार्थ र भ्रष्टाचारको पुनरावृत्ति र जनतामा निराशा र असन्तोष बढ्नु, तर ती पवित्र आशाहरू धेरैजसो व्यवहारमा पूरा हुन नसकेकोले ती अपेक्षाहरू धेरै हदसम्म Pious Hope  अर्थात् सद्भावनायुक्त तर अवास्तविक आशा  जस्तै देखिएका छन्।

 

 

नेपालका राजनीतिक परिवर्तनहरू २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, २०६२/६३ को  जनआन्दोलन, संघीय गणतन्त्रको स्थापना यी सबै परिवर्तनका उद्देश्यहरू “पवित्र” थिए, तर परिणामहरू त्यति व्यवहारिक रूपमा साकार नहुँदा, तीबाट गरिएका धेरै अपेक्षाहरू अहिले Pious Hope को श्रेणीमा राख्न सकिन्छ।तर  Pious Hope भन्नाले केवल निराशा मात्र होइन।
यो शब्दले आशा पवित्र छ, तर त्यसलाई यथार्थमा रूपान्तरण गर्न व्यवहारिक प्रतिबद्धता, प्रणालीगत सुधार, नेतृत्वको दूरदर्शिता र सहयोगी संरचनाहरुको तदनुरुपको प्रतिबध्दता आवश्यक हुन्छ । यसैले नेपालमा भएका राजनीतिक परिवर्तनहरूबाट गरिएको अपेक्षा पवित्र (Pious) त अवश्य हुन्, तर ती सवै अपेक्षाहरु पूरा नहुँदा अहिलेको अवस्थामा ती Pious Hope  अर्थात् सद्भावनायुक्त तर अपूर्ण आशामा परिणत भएका छन्। तर हेरक परिवर्तन संग केही अपेक्षाहरु भने पूरा हुदै गएका भने छन्।

 

नेपालका राजनीतिक परिवर्तनहरू प्रायः Pious Hope  मा रूपान्तरित हुनुका केही प्रमुख कारणहरू छन् ।  राजनीतिक परिवर्तनहरू हुँदा जनतामा ठूलो उत्साह र आदर्शपरक आशा जन्मिन्छ  गरिबी अन्त्य हुन्छ, भ्रष्टाचार समाप्त हुन्छ, सुशासन आउँछ, सबै समान अधिकार पाउँछन् आदि। तर व्यवहारिक संरचना, कार्यशैली र जनताको जीवनशैलीमा परिवर्तन ल्याउने ठोस तयारी नहुँदा ती अपेक्षाहरू केवल शुभ–आशा (Pious Hope) मात्र रहन्छन्।

 

 

परिवर्तनपछि एकीकृत राष्ट्रिय लक्ष्यका सट्टा सत्ताको भागबन्डा र स्वार्थको राजनीति हाबी हुने  नेतृत्वले देशको दीर्घकालीन नीतिलाई भन्दा तत्कालीन पद–सुविधा र सत्ता सुरक्षित गर्न प्राथमिकता दिने हुँदा परिवर्तनको उपलब्धि स्थायी हुन सक्दैन।

संविधान, कानुन वा नीतिगत स्तरमा परिवर्तन भए पनि त्यसलाई कार्यान्वयन गर्ने संस्थागत संरचना सबल र सक्षम हुँदैन यी संरचनाहरु तदनुरुप समायोजित गरिदैनन्। कहींनीतिहरु नै नबन्न सक्दछन् कतै नीतिगत परिवर्तनहरू कागजमै सीमित रहन्छन् तिनले कार्यरुप पाउंदैनन जसका कारण सुधारका प्रयासहरू “पवित्र आशा” मात्र बन्छन्।

परिवर्तनलाई संस्थागत गर्न नागरिक सचेतना, जिम्मेवारी र सहभागिता आवश्यक हुन्छ। तर नागरिकहरू परिवर्तनको उपभोक्ता मात्रै बनेर बस्दा, र निगरानी वा दबाब नदिँदा, परिवर्तन “जनताको आन्दोलन” बाट “व्यक्ति विशेष वा गुट विशेषको स्वार्थ” मा रूपान्तरित हुन्छ।

परिवर्तनपछि पनि शासन प्रणालीमा स्वमूल्यांकन, सुधार र उत्तरदायित्वको संस्कृतिको विकास नहुँदा परिवर्तन स्थिर र जीवन्त बन्न सक्दैन। प्रारम्भिक दिनहरुमा रहेका भावनात्मक उमङ्ग समय वित्दै जांदा मथ्थर हुँदै जाने र त्यो परिवर्तन पनि केवल एक “पवित्र स्मृति र अधूरो आशा” बन्छ।

राजनीतिक परिवर्तनहरू Pious Hope अर्थात् शुभ तर अधूरो आशा मात्र नबनून् भनेर चाहने हो भने, परिवर्तनलाई भावनात्मक उत्साह बाट निकालेर संरचनागत, संस्थागत र व्यवहारिक कार्यान्वयनमा रूपान्तरण गर्नुपर्छ। यसका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ ।

 

परिवर्तनका नतिजाहरू स्थायी बनाउन कानुनी, नीतिगत र संस्थागत सुधार आवश्यक हुन्छ। यसका लागि संविधान र कानुनअनुसारका निकायहरूलाई सबल र स्वतन्त्र बनाउने, नीति केवल घोषणा नभई, व्यवहारमा लागु हुने प्रणाली निर्माण गर्ने, संस्थाहरूलाई व्यक्तिमा निर्भर नराख्ने, प्रणालीमा आधारित शासन सुनिश्चित गर्ने जसता कार्यहरुले प्राथमिकता पाउनु पर्दछ। यसै गरि परिवर्तन पश्चात नेतृत्वले आदर्श र निष्ठा कायम राख्नुपर्छ। जसमा सत्ता होइन, सेवा भावले प्रेरित नेतृत्वको आवश्यकता, उत्तरदायित्व र पारदर्शिताको संस्कृतिलाई प्राथमिकता दिनु पर्ने , जनताको आशा बुझ्ने र त्यसको नतिजा मापन गर्न सक्ने performance-based शासन प्रवृत्ति विकास गर्नुपर्ने, योग्यता प्रणालीको अवलम्बन र सो को यथार्थ रुपमा कार्यान्वयन गरिनु पर्दछ।

 

 

परिवर्तन सफल बनाउन  नागरिक सचेतना र सक्रिय सहभागिता अभिवृध्दि गरिनु पर्दछ । जसमा  नागरिकले केवल मतदाताको हैसियतमा नभई निगरानीकर्ताको भूमिकामा रहनु पर्छ, नागरिक समाज, मिडिया, शैक्षिक संस्था र युवाले सुधारको माग निरन्तर उठाइराख्नुपर्छ, सहभागितामूलक शासन  प्रणाली अपनाउनुपर्छ।

 

सुशासन नै परिवर्तनको मुटु हो यसर्थ सुशासन, पारदर्शिता र जवाफदेहिताको अभ्यास गरिनु पर्दछ । जसमा हरेक सार्वजनिक निकायलाई तोकिएको कामको नतिजा निकाल्नु पर्ने गर्ने संस्कृतिको विकास गर्ने, भ्रष्टाचार, ढिलासुस्ती र गैरजवाफदेही कार्यशैलीलाई शून्य सहनशीलता नीतिले नियन्त्रण गर्ने।भ्रष्टाचार, ढिलासुस्ती र गैरजवाफदेही कार्यशैली लाई कुनै वाद वा आस्थाको आधारमा संरक्षण नगर्ने परिपाटी बसाल्नु पर्दछ।

 

परिवर्तनलाई निरन्तरता दिन युवापुस्ता र अनुभवी पुस्ताबीचको सहयोग आवश्यक हुन्छ। यसका लागि अन्तरपुस्ता सम्बन्ध र नेतृत्व हस्तान्तरण शैलीको अवलम्बन गर्ने, नयाँ पुस्ताले प्रणाली सुधारमा सहभागिता गराउने, अनुभव, दृष्टि र नवप्रवर्तनबीच सन्तुलन कायम गराउने कार्य गर्नु पर्दछ ।

 

परिवर्तन pious hope हुन नदिन  भावनाबाट भन्दा संस्थागत कार्यान्वयन,  वचनभन्दा  उत्तरदायित्व, र  व्यक्तिकेन्द्रित शासन भन्दा प्रणाली केन्द्रित शासन स्थापना हुनुपर्दछ।यसवाट परिवर्तन व्यवहारमा देखिन्छ, नागरिकले सेवा, समानता र न्याय अनुभव गर्छन्  तब मात्र त्यो परिवर्तन शुभ आशा होइन, सफल यथार्थ बन्छ।

 

राजनीतिक वा सामाजिक परिवर्तनहरू “pious hope” (शुभ तर अधूरो आशा) मा नपरून् भनेर चाहने हो भने, केवल नेताहरू होइन, राज्यका सबै निकाय र नागरिकको साझा जिम्मेवारी हुन्छ। परिवर्तनलाई स्थायी बनाउन हरेक तह र सरोकारवालाको भूमिकाको स्पष्ट परिभाषा आवश्यक हुन्छ।

राजनीतिज्ञहरू परिवर्तनका प्रमुख चालक हुन्। राजनीतिज्ञहरूले

  • दूरदर्शी र उत्तरदायी नेतृत्व प्रदान गर्नुपर्छ।
  • सत्ता होइन, सेवाको भावनाका साथ जनताको हितमा निर्णय लिनुपर्छ।
  • लोकप्रियता भन्दा परिणाममुखी शासनशैली अपनाउनुपर्छ।
  • नीति, कानुन र संस्थागत सुधारमा निरन्तर ध्यान दिनुपर्छ।
  • राजनीतिक स्थायित्व र दीर्घकालीन नीतिगत निरन्तरता सुनिश्चित गर्नुपर्छ।

परिवर्तनको कार्यान्वयन गर्ने जिम्मा प्रशासनको हुन्छ। प्रशासनले

  • नीतिलाई व्यवहारमा रूपान्तरण गर्ने क्षमता र प्रतिबद्धता विकास गर्नुपर्छ।
  • पारदर्शिता, जवाफदेहिता र कार्यक्षमतामा जोड दिनुपर्छ।
  • “Rule-based administration” लाई अबलम्बन गर्दै “result-oriented administration” तिर रुपान्तरण हुनुपर्दछ।
  • नवप्रवर्तन र सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्छ।

 नागरिक समाज, सञ्चार माध्यम र बुद्धिजीवी वर्ग  परिवर्तनका watchdog हुन्। यिनीहरुको भूमिका

  • सरकार र नेतृत्वका कार्यहरूको निगरानी र आलोचनात्मक मूल्यांकन गर्नुपर्छ।
  • जनतालाई सचेत बनाउने शिक्षा, सूचना र बहसको वातावरण सिर्जना गर्नुपर्छ।
  • परिवर्तनको भावना क्षीण हुन नदिई निरन्तर दबाब र सुझाव दिने भूमिका निर्वाह गर्नुपर्छ।

परिवर्तन स्थायी बनाउने अन्तिम शक्ति नागरिककै हातमा हुन्छ। नागरिकको भूमिका

  • परिवर्तनपछि पनि सक्रिय र जिम्मेवार नागरिकता अभ्यास गर्नुपर्छ।
  • मतदाताको हैसियतमा मात्र होइन, शासनका निगरानीकर्ताको रूपमा व्यवहार गर्नुपर्छ।
  • कर तिर्ने, कानुन पालना गर्ने र सार्वजनिक सरोकारमा सहभागिता जनाउने बानी बसाल्नुपर्छ।
  • अधिकारको माग मात्र गर्ने होइन, योगदान दिने करत्वयशील नागरिक बन्नुपर्छ।

परिवर्तनको ऊर्जा युवामा हुन्छ। युवा पुस्ता र विद्यार्थीको भूमिका

  • सुधारका अभियानमा सृजनात्मक र सकारात्मक नेतृत्व लिनुपर्छ।
  • नकारात्मक राजनीति होइन, समाधानमुखी सोच विकसित गर्नुपर्छ।
  • प्रविधि, नवप्रवर्तन र स्वेच्छासेवा मार्फत शासन प्रणालीमा योगदान गर्नुपर्छ।

नियामक निकायहरूले प्रणालीलाई निष्पक्ष र विश्वसनीय बनाउँछन्। नियामक निकायहरूको भूमिका

  • कानुनको शासन कायम गर्नुपर्छ।
  • सत्ता दुरुपयोग, भ्रष्टाचार र अनुचित लाभ रोक्न निष्पक्ष निर्णय र कारबाही गर्नुपर्छ।
  • सार्वजनिक निकायहरूको कार्यसम्पादनमा पारदर्शिता सुनिश्चित गर्नुपर्छ।

जेनजी आन्दोलनपछि उत्पन्न गतिविधि वा राजनीतिक–सामाजिक उत्साहलाई Pious Hope बन्न दिनु हुँदैन। जेनजी आन्दोलनले जनमानसमा ठूलो अपेक्षा सिर्जना गरेको छ । यसले विगतको विकृतिको अन्त संगै सकारात्मक भविष्यको परिकल्पना गरेको छ । यदि ती अपेक्षाहरू केवल भावनामा सीमित रहन्छन् र व्यवहारिक कार्यान्वयन, नीति, संस्थागत क्षमता, र स्रोत व्यवस्थापनसँग जोडिंदैनन् भने ती आशाहरू Pious Hope मा परिणत हुन्छन्। यसले न केवल जनविश्वास कमजोर बनाउँछ, तर आन्दोलनको प्राप्त उपलब्धि र उत्प्रेरणालाई समेत नकारात्मक प्रभाव पार्छ। त्यसैले, आन्दोलनपछि आएको उत्साहलाई व्यवहारिक लक्ष्य, स्पष्ट कार्ययोजना, जिम्मेवार नेतृत्व, निरन्तर निगरानी, संसाधन सुनिश्चितता र जनसहभागितासँग जोड्नु अनिवार्य हुन्छ। यसरी मात्र जनताका अपेक्षाहरू ठोस परिणाममा परिणत गर्न सकिन्छ र आन्दोलनले ल्याएको परिवर्तनलाई दिगो बन्न सक्दछ ।

 

जेनजी आन्दोलनपछि राजनीतिक, प्रशासनिक र सामाजिक रुपान्तरणमा पुस्तान्तरण मात्र पर्याप्त होइन भन्ने कुरा स्पष्ट देखिन्छ। अहिले समस्या पुस्तामा होइन, पात्रमा रहेको सोच र प्रवृत्तिमा केन्द्रित छ। अर्थात् कुनै व्यक्तिको जन्म वा उमेरले मात्र उसको नेतृत्व वा परिवर्तनमा सक्रिय भूमिका निर्धारण गर्दैन। पुरानो पुस्ताका व्यक्तिहरू पनि नयाँ विचार, ज्ञान र नवप्रवर्तनात्मक दृष्टिकोणबाट सुसज्जित हुन सक्छन् र समाज तथा संस्थागत सुधारमा योगदान दिन सक्छन्। त्यस्तै, नयाँ पुस्ता भए पनि यदि उनीहरू पुरानो सोच, दृष्टिकोण वा अव्यवहारिक प्रवृत्तिमा अडिग छन् भने, उनीहरूले पनि परिवर्तन प्रक्रियामा अवरोध पुर्याउन सक्छन्। त्यसैले जेनजी आन्दोलनपछिका परिवर्तन र पुस्तान्तरणमा ध्यान दिनु पर्ने मुख्य पक्ष पात्रको विचारधारा, संवेदनशीलता, नवप्रवर्तनशीलता र जिम्मेवार कार्यशैली हो। उमेर वा जन्म वर्षले होइन, सोच र कार्यशैलीले नै व्यक्तिको योगदान र प्रभावकारितालाई मापन गर्नुपर्छ। तर यसको अर्थ नेतृत्वमा पुराना पुस्ताकै बाहुल्यता हुनु पर्दछ भन्ने होइन। पुराना विचारले ग्रस्त जुनसुकै उमेर समूहमा भने रुपान्तरणको आवश्यकता छ।

 

अहिले जेनजी प्रति सवैको आशा र विश्वास छ । जेनजी कुनै एकीकृत संगठित समूह होइन तर जेनजीका विभिन्न समूहहरु अस्तित्वमा रहेका र सवै समूहको मागमा विविधता पनि रहेका छन्। जेनजी कुनै एकीकृत संगठित समूह बन्ने नबन्ने त्यो सम्बन्धितमै भर पर्ने कुरा हो तर जेनजी आन्दोलनको कारणले सत्ता नै परिवर्तन भएको सन्दर्भमा अव जेनजीका मागहरु पनि सवै  जेनजीका वीचमा साझा हुन सक्नु पर्दछ। निर्वाचन अगाडी र निर्वाचन पश्चातका कार्यसूचीहरुको वीचमा सवै समूहमा एकरुपताको आवश्यकता छ। यस दृष्टिकोणले मात्र आन्दोलनपछिका उद्देश्यलाई ठोस परिणाममा परिणत गर्न सकिन्छ।यो काम गर्न नसके यसले पनि सकारात्मक परिणति दिन गाह्रो हुन्छ।

 

यसरी परिवर्तन Pious Hope मा रूपान्तरण नहोस् भन्नका लागि  राजनीतिक नेतृत्वले इमानदारी र भविष्यद्रस्टा, प्रशासनमा कार्यान्वयन दक्षता, तत्परता र प्रतिबध्दता ,  नागरिकहरूले सहभागिता र निगरानी, युवाले ऊर्जा र नवप्रवर्तन जस्ता भूमिकाहरू इमानदारीका साथ निर्वाह गर्नुपर्छ।जब यी सबै अंगहरू आफ्नो भूमिकामा सचेत र जिम्मेवार हुन्छन्, तब मात्र परिवर्तन आशा होइन, उपलब्धिमा रूपान्तरण हुन्छ। जब राष्ट्रका सबै तहका सरोकारवाला आ–आफ्नो भूमिकामा इमानदार, उत्तरदायी र सुसंगठित हुन्छन्, त्यतिबेला मात्र परिवर्तन कुनै शुभ तर अधूरो आशा होइन जनताको जीवनमा देखिने सार्थक उपलब्धि बन्छ। यसले  परिवर्तनलाई Pious Hope बन्न दिदैन ।

 

( डा. दामोदर रेग्मी  प्रशासनविद तथा गीतकार हुन्)

 

 

 

 

civil hospital
Hams Hospitals