काठमाडौँका क्यासिनोमा प्रहरीको कडाइ, लेमन ट्रीको क्यासिनो गरुडबाट पाँच नेपाली पक्राउ
वि.सं.२०८२ पुस १७ बिहीवार
shares
काठमाडौँ । पाँचतारे होटलमा सञ्चालित क्यासिनोको आवरणमा आर्थिक अपराधका गतिविधि बढ्दै गएपछि प्रहरीले काठमाडौँका क्यासिनोहरूमा निगरानी कडा बनाएको छ। यही क्रममा बूढानीलकण्ठस्थित होटल लेमन ट्रीमा सञ्चालनमा रहेको क्यासिनो गरुडबाट पाँच जना नेपाली नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार राति छापा मार्ने क्रममा अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश तथा जुवा खेल्न कानुनी रूपमा निषेध छ। पछिल्ला दिनमा विदेशी नागरिकसँग मिलेमतो गरी नेपाली र विदेशी खेलाडीलाई विभिन्न तरिकाबाट ठगी गर्ने गतिविधि बढेपछि क्यासिनोमाथि कडाइ गरिएको उनले बताए।
पक्राउ पर्नेहरूमा खोटाङका गणेश मगर, काठमाडौँका भरतराज पौडेल, महोत्तरीका दयाराम राना, सिन्धुपाल्चोकका पशुपति खड्का र दोलखाका सन्तोष भण्डारी रहेका छन्। उनीहरूको साथबाट नगद रकमसहित क्यासिनो ठगीमा प्रयोग हुने मोबाइल फोन र अन्य उपकरणसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
यसअघि पनि प्रहरीले ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालित क्यासिनो वाल्डोबाट तासमा चिप्स र आँखामा विशेष प्रकारको लेन्स प्रयोग गरी ठगी गर्ने गिरोहलाई पक्राउ गरेको थियो। उक्त घटनामा क्यासिनो सञ्चालक ७५ वर्षीय चिनियाँ नागरिक चन मन चियाङको संलग्नता देखिएपछि उनी हाल प्रहरी हिरासतमा छन्।
बुधबार छापा मारिएको क्यासिनो गरुडमा पनि विदेशी नागरिकलाई लक्षित गरी ठगी गर्ने विभिन्न उपाय अपनाइने गरेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको जनाएको छ।
बूढानीलकण्ठ लिमिटेडद्वारा सञ्चालित होटल लेमन ट्री २०८१ सालदेखि सञ्चालनमा आएको हो। करिब २ अर्ब ६० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त होटलमा ५७ ट्विन्स रुम, ३३ किङ रुम, ६ जुनियर सुइट, ४ बिजनेस सुइट र २ प्रेसिडेन्टल सुइट गरी कुल १९० बेड रहेका छन्। होटलको व्यवसाय सन्तोषजनक नभएपछि क्यासिनोमार्फत सञ्चालन टिकाइराख्न क्यासिनो इभेन्टजस्ता गतिविधि बढाइएको आशंका प्रहरीले गरेको छ।































