फागुन २१ को चुनावअघि दलहरू घोषणापत्र लेखनमा व्यस्त, २०७९ को वाचा कति पुरा भए ?
वि.सं.२०८२ माघ २४ शनिवार
shares
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलहरू घोषणापत्र लेखनको अन्तिम तयारीमा जुटेका छन् । अधिकांश दलले फागुनको पहिलो साताभित्र घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन् ।
यही सन्दर्भमा २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पहिलोदेखि चौथो स्थान हासिल गरेका दलहरू—नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्यतिबेला सार्वजनिक गरेका घोषणापत्रका मुख्य प्रतिबद्धता र एजेन्डाहरू पुनः स्मरणयोग्य बनेका छन् ।
नेपाली कांग्रेस : संविधान रक्षा, समुन्नत नेपाल र सामाजिक सुरक्षा
नेपाली कांग्रेसले ‘नेपाली कांग्रेसको संकल्प’ शीर्षकमा घोषणापत्र सार्वजनिक गर्दै संविधानको रक्षा, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र समुन्नत नेपालको लक्ष्य अघि सारेको थियो ।
कांग्रेसले
-
लोकतन्त्र, संविधानवाद र विधिको शासनमाथि हुने कुनै पनि आक्रमणको विरोध
-
प्रजातान्त्रिक समाजवादमा आधारित समतामूलक र समावेशी समाज निर्माण
-
भ्रष्टाचार नियन्त्रण, सुशासन र दलीय हस्तक्षेपमुक्त सार्वजनिक संस्था
-
स्वदेशमै रोजगारी, ज्ञानमा आधारित अर्थतन्त्र
-
जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षा
जस्ता विषयलाई प्राथमिकतामा राखेको थियो ।
कांग्रेसले ५ वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन, १२ लाख ५० हजार रोजगारी, सबै नागरिकलाई स्वास्थ्य बीमा, डिजिटल नेपाल निर्माण र २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसमेत अघि सारेको थियो ।
नेकपा एमाले : ‘समृद्ध नेपाल, सुखी नेपाली’ र लोककल्याणकारी राज्य
नेकपा एमालेले ‘सुशासन, विकास, समृद्धि र समानता : पाँच वर्ष, एमालेले गर्छ’ शीर्षकमा घोषणापत्र ल्याउँदै समाजवाद उन्मुख आर्थिक–सामाजिक रूपान्तरणको लक्ष्य अघि सारेको थियो ।
एमालेले
-
‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ नीति
-
५ वर्षमा वार्षिक ५ लाख रोजगारी
-
न्यूनतम ज्याला २५ हजार
-
सबै नागरिकको स्वास्थ्य बीमा
-
६ हजार ५०० मेगावाट विद्युत् उत्पादन
-
१० हजार लिटर पानी निःशुल्क वितरण
जस्ता महत्वाकांक्षी घोषणा गरेको थियो ।
एमालेले प्रशासन सुधार, डिजिटल नेपाल, पूर्ण साक्षर देश, निरोगी नेपाल र राष्ट्रिय सुरक्षालाई प्रमुख प्राथमिकता बनाएको थियो ।
माओवादी केन्द्र : ‘क्रमभंगता’ र प्रणालीगत परिवर्तनको एजेन्डा
तत्कालीन नेकपा माओवादी केन्द्रले ‘समृद्धिका लागि क्रमभंगता’ नारासहित घोषणापत्र सार्वजनिक गर्दै संविधान संशोधनदेखि निर्वाचन प्रणाली परिवर्तनसम्मका प्रस्ताव अघि सारेको थियो ।
माओवादीको घोषणापत्रमा
-
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली
-
पूर्ण समानुपातिक निर्वाचन प्रणाली
-
संघीय संसद् र प्रदेशसभाको संरचना पुनर्संरचना
-
५ वर्षमा २० लाख रोजगारी
-
१० हजार मेगावाट विद्युत् उत्पादन
-
शिक्षा र स्वास्थ्यमा राज्यको पूर्ण जिम्मेवारी
जस्ता विषय समेटिएका थिए ।
साथै, शान्ति प्रक्रियाको पूर्णता, सत्य निरूपण आयोगको टुंगो र समावेशी राज्य संरचना माओवादीको मुख्य एजेन्डा थियो ।
रास्वपा : सुशासन, शून्य भ्रष्टाचार र प्रणाली सुधार
राष्ट्रिय स्वतन्त्र पार्टीले ‘हामी र हाम्रो वाचा’ शीर्षकमा घोषणापत्र ल्याउँदै आफूलाई परम्परागत दलभन्दा फरक शक्तिका रूपमा प्रस्तुत गरेको थियो ।
रास्वपाले
-
भ्रष्टाचारप्रति शून्य सहनशीलता
-
विद्युतीय मतदान प्रणाली
-
जनप्रतिनिधि फिर्ता बोलाउने अधिकार
-
समयमै सेवा नदिने कर्मचारीलाई दण्ड
-
सबै ठूला भ्रष्टाचार काण्डका फाइल खोल्ने
-
घरमै स्वास्थ्य सेवा
-
रासन कार्ड प्रणाली
जस्ता नयाँ र कडा प्रस्ताव अघि सारेको थियो ।
घोषणापत्रका वाचा र व्यवहारबीचको दूरी प्रश्नमै
२०७९ को निर्वाचनमा दलहरूले गरेका यी प्रतिबद्धता अहिले फेरि चुनावी बहसको केन्द्रमा छन् । नयाँ घोषणापत्र ल्याउने तयारी भइरहँदा पुराना वाचा कति कार्यान्वयन भए ? भन्ने प्रश्न आम नागरिकको चासो बनेको छ ।
अब दलहरूले पुराना घोषणापत्रको आत्मसमीक्षा गर्दै नयाँ भरोसा दिन सक्छन् कि सक्दैनन्, त्यो फागुन २१ को चुनावले तय गर्नेछ ।



























