शैक्षिक प्रमाणपत्रमा कैफियत भएकादेखि काँग्रेसका बफादारहरुकै पर्यटनमा बढ्यो रवाफ
वि.सं.२०८२ माघ २८ बुधवार
shares
काठमाडौँ ।काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सिडिओ रहँदा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा छानबिनमा परेका जयनारायण आचार्य हाल पर्यटन मन्त्रालयको योजना महाशाखाका प्रमुखका रूपमा कार्यरत छन् । मन्त्रालयभित्र उनले कर्मचारीहरूमाथि दबाब र दादागिरी शैली अपनाएको गुनासो उठ्न थालेको छ ।
उता,सहसचिव रामकृष्ण लामिछाने काँग्रेस सभापति गगन थापासँग पारिवारिक सम्बन्ध रहेको कारण सचिवको सिफारिसमा पर्यटन विभागको महानिर्देशक (डिजी) बनेका छन् । पर्यटन विभागमा जिम्मेवारी सम्हालेदेखि नै उनले पनि दबाबमूलक शैली अपनाएको कर्मचारी वृत्तमा चर्चा भइरहेको छ ।
आफू मन्त्रालयको महाशाखामा रहँदा आफ्नो अनुकूलता अनुसार कांग्रेसी खेमाका कर्मचारीहरू शाखा अधिकृत बद्री पाण्डे, काँग्रेस मन्त्री बद्री पाण्डेका स्वकीय सचिव सरोज अर्याल, महाशाखाकी सुधा रेग्मी पन्त, नासु उत्तम श्रेष्ठ लगायतका कर्मचारीहरूको टिम नै विभागमा सरुवा गराएको बताइन्छ । पर्यटन विभागमा के यस्तो आकर्षण छ र जसका लागि पूरै टिम नै सार्नुपर्ने ? भन्दै केही कर्मचारीहरुले मन्त्रालयमै प्रश्न उठाएका थिए ।
पर्यटन विभाग र होटल–क्यासिनोबीचको सम्बन्धबारे पनि गम्भीर प्रश्न उठेका छन् । विभागीय महानिर्देशकदेखि कर्मचारीसम्मलाई होटल र क्यासिनोहरूले विभिन्न प्रलोभन दिने, भ्रमण, हवाई भाडा, बसोबास र आतिथ्यका खर्च होटलहरूले नै बेहोर्ने गरेको आरोप कर्मचारी वृत्तमै सुनिन थालेको छ । विभागको परिसरदेखि विमानस्थलसम्मका आवतजावतमा समेत होटलको संलग्नता रहेको स्पष्टै देखिन्छ ।
टुर अपरेटर अनुमतिपत्र, क्यासिनो निरीक्षण, नवीकरण र होटल नवीकरणजस्ता काममा कर्मचारीहरूले दोहोरो सुविधा लिने गरेको चर्चा पनि चलिरहेको छ । कानुनतः यस्तो सुविधा लिन नपाइने भए पनि विभागका केही कर्मचारीहरूका लागि यो अवसर बनिरहेको छ । यही कारण यो विभागमा सरुवा हुन कर्मचारीहरूबीच प्रतिस्पर्धा हुने गरेको छ ।
पर्यटन विभाग स्थापनाकालदेखि नै बारम्बार हिमाल (ट्रेक÷एक्स्पेडिसन) सम्बन्धी जिम्मेवारी पाएका कर्मचारीहरू वर्षौंदेखि त्यही जिम्मेवारीमा रहेको, फिल्डमा नजाँदै कागजी प्रक्रिया मिलाउने प्रवृत्ति रहेको र आकर्षक हिमालहरूका लागि आर्थिक लेनदेन हुने गरेको आशंका व्यक्त गरिएको छ । फिल्ड अनुगमन प्रभावकारी नभएको गुनासो पनि उठिरहेको छ ।
मन्त्रालय र विभागका यस्ता गतिविधिबारे विभिन्न निकायमा प्रश्न उठ्न थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन हुँदा पनि उनी पुनः आकर्षक र प्रभावशाली जिम्मेवारीमा पुग्नु आचार्यप्रति शंकाको विषय बनेको छ । उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेको चर्चा पुनः सार्वजनिक बहसमा आएको छ ।


























