उडान अनियमितताले चर्कियो आक्रोश, नेपाल एयरलाइन्स कार्यालयमा ताला
वि.सं.२०८२ चैत ८ आइतवार
shares
जुम्ला । जुम्लामा यात्रुहरूलाई पटक–पटक दुःख दिएर आलोचनामा परेको नेपाल एयरलाइन्सले फेरि आफ्नो गैरजिम्मेवार कार्यशैलीका कारण विरोध खेप्नुपरेको छ। दुई हप्तादेखि नियमित उडान गर्न नसकेर यात्रुलाई अलपत्र पारिरहेको नेपाल एयरलाइन्सको जुम्ला कार्यालयमा अन्ततः आक्रोशित यात्रुले ताला लगाएका थिए। सोमबार दुई वटा उडान गर्ने बाध्यात्मक प्रतिबद्धता जनाएपछि मात्रै उक्त ताला खोलिएको हो।
स्थानीय यात्रुहरूका अनुसार नेपाल एयरलाइन्सले लामो समयदेखि जुम्लाजस्ता दुर्गम जिल्लालाई प्राथमिकतामा नराखी उडान अनियमित, व्यवस्थापन कमजोर र यात्रुप्रति पूर्ण बेवास्ता गर्दै आएको छ। आइतबारका लागि तय गरिएको उडान पनि अन्तिम समयमा रद्द गरिएपछि यात्रुहरूको आक्रोश विस्फोट भएको थियो। यसले नेपाल एयरलाइन्सको सेवा प्रणाली कति अव्यवस्थित र अविश्वसनीय छ भन्ने फेरि उजागर गरेको छ।
यसअघि नै नेपाल पत्रकार महासंघको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा नेपाल एयरलाइन्ससहित सिता, समिट र तारा एयरको नियमित उडान माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको थियो। तर जनताको गुनासो र प्रशासनको ध्यानाकर्षणपछि पनि सेवा सुधार नगरेको नेपाल एयरलाइन्स अन्ततः प्रत्यक्ष विरोधको सामना गर्न पुगेको हो।
छलफलपछि नेपाल एयरलाइन्सले आइतबारको उडान विभिन्न कारणले रद्द भएको भन्दै सोमबार रद्द भएको उडानसहित दुई वटा उडान गर्ने प्रतिबद्धता जनाएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलका अनुसार नेपाल एयरलाइन्स लगायत निजी विमान कम्पनीहरूलाई नियमित उडान सुनिश्चित गर्न प्रशासनले पत्राचारसमेत गरेको छ। नेपाल एयरलाइन्सका महानिर्देशक अमृतमान श्रेष्ठले पनि सोमबार दुई उडान गर्ने वाचा गरेका छन्।
तर मुख्य प्रश्न के हो भने, जहिले समस्या चर्किन्छ, विरोध हुन्छ, कार्यालयमा ताला लाग्छ, त्यसपछि मात्रै नेपाल एयरलाइन्स किन ब्युँझिन्छ ? दुर्गम जिल्लाका नागरिकले नियमित सेवा पाउनु अधिकार हो, कुनै दबाबपछि दिइने कृपा होइन। जुम्लावासीले भोगिरहेको सास्तीले देखाएको छ कि नेपाल एयरलाइन्सको व्यवस्थापन प्रतिबद्धतामा कमजोर, कार्यान्वयनमा लापरवाह र दुर्गम क्षेत्रप्रति उदासीन छ।
निमित्त प्रजिअ रावल र युवा अनुप थापाबीच भएको टेलिफोन संवादअनुसार चैत ९ गते बिहान १० देखि ११ बजेसम्म पहिलो उडान र त्यसपछि दिउँसो दोस्रो उडान सञ्चालन गर्न नेपालगञ्ज स्टेशनलाई निर्देशन दिइएको जानकारी आएको छ। त्यसपछि मात्रै जुम्ला स्टेशन कार्यालयको ताला खोलिएको स्टेशन इन्चार्ज उकान्त न्यौपानेले बताएका छन्।
घटना आफैंमा स्पष्ट संकेत हो—नेपाल एयरलाइन्सले सेवा दिएर विश्वास जित्न सकेन, बरु लापरवाहीले आक्रोश कमायो। दुर्गम जिल्लाका नागरिकलाई हप्तौं कुर्न बाध्य बनाउने, अन्तिम समयमा उडान रद्द गर्ने र विरोध भएपछि मात्रै सक्रिय देखिने शैलीले राष्ट्रिय ध्वजावाहक संस्थाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।




























