राहदानीमै ‘रोजगारी प्रतिबन्ध’ लेख्ने अध्यागमनका कर्मचारीमाथि कारबाही, कानुन मिच्ने अभ्यासमाथि छानबिन तीव्र
वि.सं.२०८३ वैशाख ७ सोमवार
shares
काठमाडौं । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमै ‘रोजगारी पूर्ण रूपमा प्रतिबन्ध’ लेख्ने गम्भीर अनियमितता प्रकरणमा दुई जना अध्यागमन अधिकृतमाथि कारबाही सुरु गरिएको छ।
अध्यागमन विभाग ले प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास गरेको निष्कर्षसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत ती अधिकृतहरूलाई तत्काल जिम्मेवारीबाट हटाएको छ।
विभागले उनीहरूको नाम सार्वजनिक नगरे पनि प्रस्थानको समयमा आधिकारिक निर्णयविना नै राहदानीमा ‘रोजगारी निषेध’ लेखिएको तथ्य फेला परेपछि विवाद चर्किएको हो। प्रस्थान छापसँगै यस्तो प्रतिबन्धात्मक टिप्पणी लेखिनु गम्भीर अधिकार दुरुपयोगको रूपमा हेरिएको छ।
यस घटनापछि विभागले वैशाख ३ गते नै छानबिन समिति गठन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।
विभागका प्रवक्ता टीकाराम ढकाल ले जारी गरेको विज्ञप्तिमा स्पष्ट रूपमा भनिएको छ— नेपाली नागरिकलाई शर्त तोकेर विदेश प्रस्थान अनुमति दिने कुनै नीति वा निर्णय अध्यागमन प्रशासनसँग छैन।
“कानुन बाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाएर आवश्यक छानबिन भइरहेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
यो प्रकरणले अध्यागमन प्रणालीभित्र मनपरी निर्णय र अधिकारको दुरुपयोग भइरहेको आशंकालाई थप बल दिएको छ। अब छानबिनले दोषीको पहिचान मात्र होइन, यस्ता अभ्यासको जड नै उखेलेर फाल्ने अपेक्षा गरिएको छ।



























