गृहमन्त्री गुरुङ ‘एक्सन मोड’मा: उच्च तहका पक्राउको तयारी, मन्त्रालयमै सुरक्षा शीर्षसँग गोप्य बैठक
वि.सं.२०८३ वैशाख ८ मंगलवार
shares
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ अहिले उच्च सुरक्षा अधिकारीहरूसँग मन्त्रालयमै आपतकालीन शैलीको गोप्य बैठकमा जुटेका छन्। स्रोतका अनुसार बैठकमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैललगायत शीर्ष सुरक्षा नेतृत्व सहभागी छन्।
बैठक सामान्य प्रशासनिक छलफल नभई ‘हाई-प्रोफाइल एक्सन प्लान’ केन्द्रित रहेको बताइएको छ। केही संवेदनशील प्रकरणका फाइलहरू खोलिँदै गएपछि उच्च तहका व्यक्तिहरूलाई पक्राउ गर्ने तयारी तीव्र पारिएको स्रोतको दाबी छ।
यता, व्यवसायी दीपक भट्टसँगको विवादास्पद साझेदारी सार्वजनिक भएसँगै गृहमन्त्री गुरुङमाथि राजीनामाको चर्को दबाब बढिरहेको छ। तर, दबाबबीच पनि उनी पछि हट्ने संकेत देखिएको छैन।
सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् गुरुङले आफूविरुद्ध ‘मिडिया ट्रायल’ र ‘प्रायोजित हल्ला’ चलाइएको आरोप लगाउँदै कडा चेतावनी दिएका थिए।
उनले स्पष्ट शब्दमा भनेका छन्— “कारबाही रोकिन्न, म डगमगाउँदिन।”
गुरुङको यो अभिव्यक्तिसँगै अब सरकार ‘डराएर पछि हट्ने’ होइन, बरु ठूला माछामाथि नै जाल फ्याँक्ने संकेत देखिएको विश्लेषण हुन थालेको छ।

























