अनुसन्धानकर्ता नै साझेदार भएपछि कारबाहीमाथि प्रश्नचिन्ह:अभियुक्तसँगै महानिर्देशक परिवारको साझेदारी
वि.सं.२०८३ वैशाख ९ बुधवार
shares
काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी गम्भीर कसुरमा पक्राउ परेका विचौलिया दीपक भट्ट प्रकरणले नयाँ र झनै विवादास्पद मोड लिएको छ। अनुसन्धानकै नेतृत्व गर्ने निकायका महानिर्देशक गजेन्द्र ठाकुरकै परिवार भट्टसँगै साझेदार रहेको तथ्य बाहिरिएपछि यो प्रकरणमा ठूला प्रश्नहरू उठेका छन्।
प्रहरी हिरासतमा रहेका भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा अघि बढिरहेको बेला, उनी आबद्ध रहेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा महानिर्देशक ठाकुरकी पत्नी राखी निहारिका ठाकुरकै नाममा सेयर रहेको कागजात सार्वजनिक भएको हो। उक्त कागजातअनुसार राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता सेयर रहेको देखिन्छ।
नागरिकता विवरण मिलान गर्दा उनी महोत्तरीको मनरा शिवा नगरपालिका–९ की स्थायी बासिन्दा रहेको र पति गजेन्द्र कुमार ठाकुर नै रहेको पुष्टि भएको छ। यसले अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
उक्त कम्पनीमा दीपक भट्टसँगै शाहिल अग्रवाल, सुलभ अग्रवाल, शेखर गोल्छालगायत समूहको समेत लगानी रहेको बताइएको छ। यही कम्पनीमार्फत भट्टले अवैध कारोबार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
तर विडम्बना के भने, सोही प्रकरणको अनुसन्धान गरिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकै नेतृत्वकर्ता ठाकुरले आफ्नै परिवारमार्फत सोही कम्पनीमा लगानी गरेको तथ्य बाहिरिएको छ। यसले स्पष्ट रूपमा ‘हितको द्वन्द्व’ मात्र होइन, सम्भावित मिलेमतोको आशंकासमेत जन्माएको छ।
यसअघि दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको समेत साझेदारी रहेको खुलासा भइसकेको थियो। लगातार शक्तिशाली व्यक्तिहरूसँग जोडिँदै गएको यो प्रकरणले अब कारबाही प्रक्रिया निष्पक्ष रूपमा अगाडि बढ्छ कि दबाबमा कमजोर हुन्छ भन्ने गम्भीर चिन्ता बढाएको छ।
यो प्रकरणले राज्य संयन्त्रभित्रै गहिरो जालो फैलिएको संकेत दिएको छ। अब प्रश्न सीधा छ—कानुन सबैका लागि बराबर लागू हुन्छ कि शक्तिशालीका लागि मात्रै नियम फरक हुन्छ?



























