सिआइबीको एक्सन: पूर्व अध्यक्ष शेखर गोल्छा नक्सालबाट पक्राउ

537
shares

काठमाडौं । नेपालका चर्चित उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार उनलाई काठमाडौंको नक्सालबाट नियन्त्रणमा लिएको हो।

सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठ का अनुसार गोल्छामाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोप छ। काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार यो गिरफ्तारी कुनै सामान्य घटना नभई ठूलो आर्थिक नेटवर्कसँग जोडिएको प्रकरण हो। गोल्छा हिमालयन रि–इन्स्योरेन्सका निवर्तमान अध्यक्ष समेत हुन्, र उनीमाथि धितोपत्र कारोबारमा गम्भीर अनियमितता गरेको आरोप लागेको छ।

यस प्रकरणको जरो अहिले हिरासतमा रहेका दीपक भट्ट सम्म पुग्छ। भट्टले सञ्चालन गरेको भनिएको गैरकानूनी धितोपत्र कारोबारमा गोल्छाको समेत संलग्नता देखिएको प्रारम्भिक प्रतिवेदनले औंल्याएको छ।

धितोपत्र सम्बन्धी प्रारम्भिक जाँचबुझ तथा सुपरिवेक्षण प्रतिवेदनले गोल्छासहित हिमालयन रि–इन्स्योरेन्स, हिमालयन क्यापसर्भ, हिमालय सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फण्ड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र रोहित गुप्तालाई समेत कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो।

प्रहरीले अहिले यो प्रकरणलाई उच्च प्राथमिकतामा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ। यस घटनाले नेपालका वित्तीय तथा धितोपत्र क्षेत्रभित्र गहिरो अनियमितता रहेको संकेत दिएको छ भने आगामी दिनमा अझै ठूला नामहरू तानिने सम्भावना बढेको छ।

civil hospital
Hams Hospitals