त्रिभुवन विमानस्थलबाट १०० केजी अवैध ‘शिखर आइस’ चुरोट बरामद — कुरियर कम्पनीमाथि कडा अनुसन्धान सुरु
वि.सं.२०८३ वैशाख २१ सोमवार
shares
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा भन्सार विभागले करिब १०० केजीभन्दा बढी ‘शिखर आइस’ चुरोट अवैध रूपमा विदेश पठाउन लागिएको अवस्थामा बरामद गरेको छ। चार बक्सामा प्याक गरिएको उक्त चुरोट आवश्यक कागजपत्र र प्रक्रिया पूरा नगरी पठाउन खोजिएको पुष्टि भएपछि भन्सारले नियन्त्रणमा लिएको हो।
भन्सार स्रोतका अनुसार पछिल्लो समय केही कुरियर तथा ढुवानी कम्पनीहरूले नुनदेखि सुनसम्मका सामग्री कानुनी प्रक्रिया विपरीत पठाउने प्रयास बढ्दै गएको पाइएको छ। यस्ता गतिविधिलाई नियन्त्रण गर्न भन्सारले केही समययता कडाइ बढाएको छ।
हिजो बरामद गरिएको चुरोट पनि नियमानुसार भन्सार प्रक्रिया नपुर्याई लान खोजिएको भेटिएपछि सम्बन्धित कम्पनीलाई आवश्यक कागजपत्र पेश गर्न निर्देशन दिइएको छ। साथै घटनामा संलग्न कम्पनी र व्यक्तिहरूमाथि विस्तृत अनुसन्धान अघि बढाइएको भन्सार कार्यालयले जनाएको छ।
भन्सार अधिकारीहरूले स्पष्ट रूपमा चेतावनी दिएका छन्—कुनै पनि वस्तु विदेश पठाउँदा अनिवार्य रूपमा कानुनी प्रक्रिया, कर भुक्तानी र आवश्यक कागजात पूरा गर्नैपर्छ, अन्यथा कडा कारबाही हुनेछ।
यस्ता अवैध क्रियाकलापले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि कमजोर बनाउने खतरा बढेको सरोकारवालाहरूले बताएका छन्। पटक–पटक भइरहेको गैरकानुनी निर्यातका कारण अन्य देशहरूले नेपालप्रति हेर्ने दृष्टिकोणमा समेत नकारात्मक असर परेको चिन्ता व्यक्त गरिएको छ।
भन्सार विभागले आगामी दिनमा यस्ता अवैध गतिविधि नियन्त्रणका लागि निगरानी अझै कडा बनाउने र दोषीमाथि कुनै पनि हालतमा छुट नदिने चेतावनी दिएको छ।




























