प्रेस चौतारी नेपालको कडा चेतावनी : “कलम दबाउने षड्यन्त्र बन्द गर, प्रेस स्वतन्त्रतामाथिको हमला सह्य हुँदैन”
वि.सं.२०८३ जेठ ११ सोमवार
shares
काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गर्दै धरपकडको तयारी, निरन्तर निगरानी, मानसिक दबाब र धम्कीपूर्ण गतिविधि भइरहेको भन्दै प्रेस चौतारी नेपाल आक्रोशित बनेको छ । संगठनले सरकारलाई तत्काल यस्ता गतिविधि बन्द गर्न कडा चेतावनी दिएको छ ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाद्वारा सोमबार जारी विज्ञप्तिमा जनआस्था साप्ताहिक र जनआस्था डटकममा प्रकाशित समाचारकै कारण प्रधानमन्त्री तथा गृहमन्त्रीको तहबाट पत्रकार श्रेष्ठलाई लक्षित गरेर प्रतिशोधपूर्ण कदम चालिएको दाबी गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ —
“पत्रकारलाई समाचार स्रोत खुलाउन बाध्य पार्ने प्रयास, धरपकडको तयारी र धम्कीपूर्ण गतिविधि लोकतन्त्रमाथिको कालो धब्बा हो ।”
चौतारीले राज्यशक्तिको आडमा स्वतन्त्र सञ्चारमाध्यम र वरिष्ठ पत्रकारमाथि योजनाबद्ध हमला भइरहेको आरोप लगाउँदै यसलाई प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहारको संज्ञा दिएको छ । निष्पक्ष पत्रकारितालाई दबाउने, सत्य बाहिर ल्याउने आवाजलाई चुप लगाउने र मानसिक त्रास सिर्जना गर्ने प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट चेतावनी दिइएको छ ।
पत्रकार श्रेष्ठले आफूमाथि उठाइएका विषयमा निष्पक्ष छानबिनको माग गरिरहेका बेला उल्टै निगरानी, धम्की र मानसिक यातना बढाइनुले सरकारको नियतमाथि नै गम्भीर प्रश्न उठेको चौतारीको भनाइ छ ।
संगठनले सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी र लोकतन्त्रप्रेमी शक्तिलाई प्रेस स्वतन्त्रताको पक्षमा एकजुट हुन आह्वान गर्दै दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याउन माग गरेको छ ।
चौतारीले अन्तिम चेतावनी दिँदै भनेको छ —
“कलमलाई थुन्न खोज्ने हरेक प्रयास असफल हुनेछ । प्रेस स्वतन्त्रता कुनै शासकको कृपा होइन, संविधानले दिएको अधिकार हो ।”



























