समस्याग्रस्त सहकारीका थप २१६ साना बचतकर्ताले पाए रकम फिर्ता
वि.सं.२०८३ जेठ २६ मंगलवार
shares
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका थप २ सय १६ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बिहीबार शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई उनीहरूको बचत रकम उपलब्ध गराएको हो।
समितिका अनुसार सहकारीबाट ऋण असुली गरी प्राप्त भएको रकमबाट पीडित बचतकर्तालाई रकम फिर्ता गरिएको हो। पहिलो चरणमा कम रकम बचत गरेका सदस्यहरूलाई प्राथमिकतामा राखिएको र आगामी दिनमा बचतको आकारका आधारमा वर्गीकरण गर्दै रकम वितरणलाई निरन्तरता दिइने जनाएको छ।
हाल समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। तीमध्ये अधिकांश साना बचतकर्ता छन्। पाँच लाख रुपैयाँभन्दा कम बचत भएका सदस्यलाई साना र पाँच लाखभन्दा बढी बचत भएका सदस्यलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। समितिका अनुसार ७६ हजार बचतकर्तामध्ये १८ हजार जनाले पाँच लाख रुपैयाँभन्दा बढी बचत गरेका छन्।
समस्याग्रस्त सहकारी संस्थाको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमका आधारमा कानुनी व्यवस्था अनुसार बचत फिर्ता गर्ने काम जारी रहेको समितिले जनाएको छ। हालसम्म १ हजार ३ सय १३ जना साना बचतकर्ताले आफ्नो रकम फिर्ता पाइसकेका छन्।


























