वन कर्मचारीद्वारा टेम्पो भीरबाट खसालियो

345
shares

काठमाडौं । कैलालीमा अतिक्रमित वन क्षेत्र खाली गर्ने क्रममा वन कर्मचारीले एक महिलाको टेम्पो भीरबाट खसालिदिएको घटना सार्वजनिक भएपछि विवाद चुलिएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि वन कार्यालयको कार्यशैलीमाथि प्रश्न उठेको छ।

गोदावरी नगरपालिका–४ की धनादेवी धामीले बासपानी क्षेत्रमा सडक किनारमा खुद्रा सामान बिक्रीका लागि प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले धकेल्दै भीरसम्म पुर्‍याएर खसालेको आरोप लगाएकी छन्।

धामीका अनुसार टेम्पोमा रहेको सामान झारिसकेपछि सवारी घर लैजान समय माग्दा पनि कर्मचारीहरूले नमानेर बल प्रयोग गर्दै टेम्पो खसालिदिएका थिए।

यता डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने अतिक्रमण हटाउन पटक–पटक ताकेता गर्दा अटेर गरिएको र कर्मचारीसँग विवाद तथा धकेलाधकेल भएपछि उक्त अवस्था सिर्जना भएको दाबी गरेका छन्।

घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीले छानबिन सुरु गरेको जनाएको छ।

वन कार्यालयले अतिक्रमणमुक्त अभियानअन्तर्गत भिमदत्त राजमार्ग आसपासका वन क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका ४७ वटा कच्ची तथा पक्की संरचना हटाइएको जनाएको छ। भ्यागुते पानी, बासपानी र गोदावरी क्षेत्रका वन अतिक्रमण हटाउन झण्डै २०० जनाको संयुक्त टोली परिचालन गरिएको थियो।

civil hospital
Hams Hospitals