लोकतन्त्र संकटमा परेको पापडको निष्कर्ष, बालेन्द्र सरकारविरुद्ध सडक संघर्षको घोषणा
वि.सं.२०८३ असार ४ बिहीवार
shares
काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नेतृत्वको कार्यशैलीले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता तथा नागरिक अधिकारमाथि गम्भीर चुनौती सिर्जना गरेको निष्कर्ष निकाल्दै सरोकारवालाहरूलाई एकजुट हुन आह्वान गरेको छ।
बिहीबार जारी विज्ञप्तिमार्फत पापडले नागरिक अधिकार खुम्च्याउने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने तथा सूचनाको हकमाथि प्रहार गर्ने प्रवृत्तिविरुद्ध साझा संघर्ष अपरिहार्य भएको जनाएको छ। यसका लागि शुक्रबार दिउँसो ४ बजे काठमाडौंको माइतीघर मण्डलामा आयोजना हुने बृहत् र्यालीमा सहभागी हुन सबै लोकतन्त्र पक्षधर शक्तिलाई आग्रह गरिएको छ।
पापडले संविधानको सर्वोच्चता, शक्ति सन्तुलन, पारदर्शिता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक स्वतन्त्रताको सुनिश्चिततामै लोकतन्त्रको सार निहित रहेको स्मरण गराउँदै पछिल्ला गतिविधिहरूले लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न उठाएको जनाएको छ।
विज्ञप्तिमा सुकुम्बासी बस्तीमा बलपूर्वक डोजर चलाउने कार्य, न्यायपालिकाको स्वतन्त्रता कमजोर बनाउने प्रयास, संसद्को भूमिकालाई निष्क्रिय बनाउने प्रवृत्ति, सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी, पेशागत तथा ट्रेड युनियन अधिकारमाथि नियन्त्रणमुखी व्यवहार तथा शिक्षा र स्वास्थ्य क्षेत्रप्रति देखिएको नीतिगत अस्पष्टताको कडा विरोध गरिएको छ।
‘आमनागरिकको जीविका, व्यवसाय र सम्मानजनक जीवनयापनमा समेत प्रतिकूल असर पार्ने कदमप्रति पापड गम्भीर रूपमा असहमत छ,’ विज्ञप्तिमा उल्लेख छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र, प्राध्यापक संघका अध्यक्ष प्रा. डा. रमेशकुमार जोशी, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी तथा इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले संयुक्त रूपमा विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
०६२/६३ को जनआन्दोलनताका निर्णायक भूमिका निर्वाह गरेको पापड केही समय निष्क्रियजस्तै रहे पनि पुनः लोकतन्त्र र नागरिक अधिकारको रक्षाका लागि सडक आन्दोलनमा फर्किएको घोषणा गर्दै माइतीघरको प्रदर्शनलाई व्यापक बनाउन सबैलाई सहभागिताको अपिल गरेको छ।



























