मिसाइलको मनोवैज्ञानिक प्रभावबाट प्रभावित पश्चिम एशिया
वि.सं.२०८३ असार १० बुधवार
shares
पश्चिम एशिया आज विश्व राजनीतिका तनाव, युद्ध, सुरक्षा र मनोवैज्ञानिक अस्थिरताको केन्द्र बनेको छ। यहाँको आकाशमा उड्ने प्रत्येक मिसाइल धातु, बारुद र प्रविधिको संयोजन मात्र हुँदैन त्यसले मानिसको मन, समाजको चेतना र राष्ट्रहरूको सामूहिक मनोविज्ञानलाई समेत प्रभावित गरिरहेको हुन्छ। युद्धको वास्तविक प्रभाव मानिसको मनमा उत्पन्न हुने भय, असुरक्षा र अनिश्चिततामा देखिन्छ।
पश्चिम एशियामा विगत केही दशकदेखि भइरहेका द्वन्द्वहरूले एउटा यस्तो वातावरण निर्माण गरेका छन् जहाँ मानिसहरू सधैं सम्भावित आक्रमणको मनोवैज्ञानिक दबाबमा बाँच्न बाध्य भएका छन्। जब कुनै शहरमाथि मिसाइल आक्रमण हुन्छ, त्यसको आवाज केवल केही क्षणका लागि सुनिन्छ, तर त्यसले सिर्जना गर्ने त्रास वर्षौंसम्म मानिसको चेतनामा जीवित रहन सक्छ। यही कारण युद्धविज्ञहरू मिसाइललाई केवल सैन्य अस्त्रका रूपमा मात्र होइन, मनोवैज्ञानिक हतियारका रूपमा पनि हेर्न थालेका छन्।
मनोविज्ञानका दृष्टिले हेर्दा भय मानिसको सबैभन्दा आधारभूत भावना हो। जब मानिसलाई आफ्नो जीवन, परिवार वा भविष्य सुरक्षित छैन भन्ने अनुभूति हुन्छ, तब उसको व्यवहार, सोच र निर्णय क्षमतामा व्यापक परिवर्तन आउँछ। पश्चिम एशियाका धेरै शहरहरूमा आज यही अवस्था देख्न सकिन्छ। विद्यालय जाने बालबालिका, अस्पतालमा उपचाररत बिरामी, कार्यालयमा कार्यरत कर्मचारी वा घरमा बसिरहेका वृद्धवृद्धा—सबैले कुनै पनि बेला साइरन बज्न सक्ने र मिसाइल खस्न सक्ने सम्भावनालाई मनमा बोकेर जीवन बिताइरहेका छन्।
मिसाइलको मनोवैज्ञानिक प्रभावको अर्को महत्वपूर्ण पक्ष अनिश्चितता हो। प्राकृतिक विपत्तिमा मानिसले जोखिमको अनुमान गर्न सक्छ। तर युद्धमा खतरा कहिले, कहाँ र कसरी आउँछ भन्ने निश्चित हुँदैन। यही अनिश्चितताले मानसिक तनावलाई झन् तीव्र बनाउँछ। पश्चिम एशियाका धेरै नागरिकहरू राति निदाउन कठिन अनुभव गरिरहेका छन्। साना आवाजले समेत उनीहरूलाई झस्काउने अवस्था सिर्जना भएको छ। यसलाई मनोविज्ञानमा हाइपरभिजिलेन्स अर्थात् अत्यधिक सतर्कताको अवस्था भनिन्छ।
बालबालिकामाथि यसको प्रभाव अझ गम्भीर हुन्छ। बाल्यावस्था सुरक्षित वातावरणमा कल्पना, सिकाइ र व्यक्तित्व विकासको समय हो। तर युद्धग्रस्त क्षेत्रमा हुर्किरहेका बालबालिकाले संसारलाई विश्वास र आशाको दृष्टिले होइन, डर र असुरक्षाको दृष्टिले हेर्न सिकिरहेका हुन्छन्। उनीहरूको चेतनामा विस्फोटको आवाज, भागदौड, साइरन र ध्वंसका दृश्यहरू स्थायी स्मृतिका रूपमा बस्न सक्छन्। यस्ता अनुभवले भविष्यमा उनीहरूको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ।
मिसाइलको प्रभावले सम्पूर्ण समाजको सामूहिक मनोविज्ञानलाई पनि परिवर्तन गर्छ। समाजशास्त्रीहरूका अनुसार लगातारको सुरक्षा संकटले समाजलाई बढी आक्रामक, शंकालु र विभाजित बनाउन सक्छ। जब मानिसहरू निरन्तर डरमा बाँच्न थाल्छन्, तब उनीहरूको प्राथमिकता स्वतन्त्रता, सहिष्णुता र संवादबाट हटेर सुरक्षातर्फ केन्द्रित हुन थाल्छ। यसले लोकतान्त्रिक मूल्य, सामाजिक विश्वास र मानवीय सम्बन्धलाई समेत कमजोर बनाउन सक्छ।
आर्थिक क्षेत्रमा पनि मनोवैज्ञानिक प्रभाव स्पष्ट देखिन्छ। लगानीकर्ताहरू असुरक्षित क्षेत्रमा लगानी गर्न हिच्किचाउँछन्। पर्यटन घट्छ। व्यवसायहरू भविष्यप्रति अनिश्चित हुन्छन्। बजारमा डरको वातावरण सिर्जना हुन्छ। आर्थिक तथ्यांकले देखाउने क्षति भन्दा ठूलो क्षति मानिसहरूको आत्मविश्वासमा हुने गिरावट हो। जब भविष्यप्रतिको विश्वास कमजोर हुन्छ, विकासको गति पनि सुस्त बन्छ।
पूर्वीय दर्शनले मनलाई सम्पूर्ण अनुभवहरूको केन्द्र मान्छ। उपनिषद्हरूमा भनिएको छ—“मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः।” अर्थात् मन नै बन्धन र मुक्ति दुवैको कारण हो। युद्धको मनोवैज्ञानिक प्रभावलाई बुझ्न यो विचार अत्यन्त सान्दर्भिक देखिन्छ। बाहिरी युद्धले पहिले मानिसको मनमा आक्रमण गर्छ। जब मन भयले भरिन्छ, तब स्वतन्त्र चेतना संकुचित हुन थाल्छ। यस अर्थमा मिसाइलले केवल भौतिक संरचना ध्वस्त पार्दैन, यसले मानव चेतनाको शान्ति र स्थिरतालाई पनि चुनौती दिन्छ।
भगवद्गीताले भयलाई अज्ञान र आसक्तिसँग जोडेर हेर्छ। तर आधुनिक युद्धको सन्दर्भमा भय केवल व्यक्तिगत कमजोरी होइन; यो असुरक्षित वातावरणको स्वाभाविक प्रतिक्रिया पनि हो। त्यसैले युद्धपीडित समाजलाई केवल भौतिक पुनर्निर्माणले मात्र पुग्दैन। मानसिक पुनर्स्थापना, सामुदायिक सहयोग र भावनात्मक उपचार पनि उत्तिकै आवश्यक हुन्छ।
पश्चिम एशियाको वर्तमान अवस्था विश्वका लागि एउटा महत्वपूर्ण पाठ हो। आधुनिक प्रविधिले मिसाइललाई अत्यन्त शक्तिशाली बनाएको छ, तर मानव मन अझै पनि संवेदनशील छ। कुनै पनि सैन्य विजय तबसम्म अपूर्ण रहन्छ, जबसम्म त्यसले समाजमा स्थायी शान्ति र मनोवैज्ञानिक सुरक्षा स्थापित गर्न सक्दैन। इतिहासले बारम्बार देखाएको छ कि भयको आधारमा निर्माण भएको शान्ति दीर्घकालीन हुँदैन।
पश्चिम एशियालाई प्रायः सभ्यताको जन्मस्थल भनेर चिनिन्छ। यहाँ नाइल डेल्टा, टिग्रिस–यूफ्रेटेस नदी उपत्यका र जोर्डन नदी बेसिनमा प्राचीन सभ्यता विकसित भएको थियो। यहूदी धर्म, इसाई धर्म र इस्लाम धर्मको उद्गम यहीँ भएको मानिन्छ।
१९४८–१९७९ को पहलवी युगमा इरानले इजरायललाई मान्यता दियो र दुबै देशबीच रणनीतिक सम्बन्ध विकसित भयो। तर १९७९ मा इस्लामिक क्रान्तिपछि इरानले इजरायललाई “सानो शैतान” घोषणा गर्यो। अमेरिकी दूतावास बन्धक प्रकरणपछि क्षेत्रीय तनाव बढ्यो। १९८०–२०२३ सम्म पश्चिम एशियामा छाया युद्ध जारी रह्यो। इजरायल र इरानले प्रोक्सी समूहहरूमार्फत टकराव गरिरहे।
पश्चिम एशियामा अरब, टर्क, पर्शियन, कुर्द, यहूदी र असिरियन लगायतका विविध जातीय समूहहरू बसोबास गर्छन्। धर्मको दृष्टिले, यहाँ इस्लाम, यहूदी धर्म र इसाई धर्मको मूल उद्गम भएको छ। यस सांस्कृतिक विविधताले क्षेत्रीय राजनीति, सामाजिक संरचना र संघर्षमा प्रत्यक्ष प्रभाव पार्छ।
हालका दशकहरूमा पश्चिम एशिया राजनीतिक अस्थिरता, तेल स्रोतको नियन्त्रण, जातीय र धार्मिक संघर्षको केन्द्रबिन्दु बनेको छ। कतिपय विद्वानहरूले पश्चिम एशिया शब्दलाई यूरोकेन्द्रित र उपनिवेशवादी दृष्टिकोणबाट आलोचना गरेका छन्। अन्य विकल्पहरू, जस्तै “साउथ–वेस्ट एशिया” वा “स्वासिया,” कम मात्र प्रयोगमा छन्।
पश्चिम एशिया प्रायः गर्मी र सुख्खा जलवायु भएको क्षेत्र हो, विशेष गरी अरेबियन प्रायद्वीप र इजिप्टमा। केही नदी प्रणालीहरूले कृषि र जीवनको आधार प्रदान गर्छन्। नाइल डेल्टा, टिग्रिस–यूफ्रेटेस नदी उपत्यका र जोर्डन नदीको बेसिनले सीमित तर सुसंगठित कृषियोग्य भूमि प्रदान गर्छ। यी क्षेत्रहरूलाई सधैं “फर्टाइल क्रिसेन्ट” भनेर चिनिन्छ। यहाँ प्राचीन सभ्यताहरूको उद्गम भएको मानिन्छ, जसमा मेशोपोटामिया, क्यानान, मिस्र आदि पर्छन्।तर केही क्षेत्रहरूमा भूमध्यसागरीय जलवायु प्रचलित छ, जस्तै लिवान्ट तट र टर्कीको अधिकांश भाग। यहाँको गर्मी सुख्खा र जाडो चिसो र वर्षायामयुक्त हुन्छ। पर्शियन गल्फमा रहेका देशहरूमा पेट्रोलियम स्रोतहरू प्रचुर मात्रामा पाइन्छ। विशेष गरी अरब प्रायद्वीपका शाहीहरूले तेलको निर्यातबाट ठूलो आर्थिक लाभ उठाएका छन्। जलवायुको सुख्खापन र जिवास्म इन्धन उद्योगमा निर्भरता भएका कारण, पश्चिम एशिया जलवायु परिवर्तनको मुख्य क्षेत्र हो र यसले दीर्घकालीन वातावरणीय प्रभाव पर्छ।
२०२६ मार्चमा इजरायलले इरानको साउथ पार्स जस्तो अत्यन्त महत्वपूर्ण ऊर्जा इन्फ्रास्ट्रक्टचरलाई निशाना बनाएपछि पश्चिम एशियामा तनावले नयाँ उचाइ पाएको छ। साउथ पार्स विश्वकै ठूलो प्राकृतिक ग्यास क्षेत्रमध्ये एक हो त्यसले अन्तर्राष्ट्रिय ऊर्जा बजार, विशेष गरी पाँचौं विश्व तेल बजारमा अस्थिरता निम्त्याएको छ। तेल मूल्यमा आएको उतार–चढाव र आपूर्ति अवरुद्ध हुने सम्भावनाले विश्व अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पार्ने स्थिति सिर्जना गरेको छ।
इजरायली आक्रमणको जवाफमा इरानले आफ्नो ब्यालिस्टिक मिसाइल र रकेट क्षमताको प्रयोग गर्दै प्रतिहमला गरेको छ। यसले खाडी राज्यहरू—जस्तै साउदी अरब, युएई र कतारमा सुरक्षा चुनौती सिर्जना गर्यो। क्षेत्रीय तनाव वृद्धिले सैन्य, राजनीतिक र आर्थिक अस्थिरताको वातावरण निर्माण गरेको छ।
यी घटनाक्रमहरूले स्पष्ट संकेत गर्छन् कि पश्चिम एशियामा मिसाइल–आधारित द्वन्द्व पहिलेभन्दा अधिक तीव्र, अनिश्चित र व्यापक हुनसक्ने अवस्था उत्पन्न भएको छ। यदि यस किसिमको द्वन्द्व जारी रह्यो भने केवल क्षेत्रमै सीमित नभई विश्वव्यापी सुरक्षा, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय राजनीतिमा पनि गम्भीर प्रभाव पर्ने सम्भावना छ।
इरान, इजरायल र तेस्रो पक्षहरू—विशेष गरी हिजबुल्लाह—सबैसँग उच्च प्रविधियुक्त बलिस्टिक मिसाइल र ड्रोन क्षमताहरू रहेका छन्। यी क्षमताहरूले क्षेत्रीय शक्ति सन्तुलनमा मात्र होइन, रणनीतिक अस्थिरतामा पनि महत्त्वपूर्ण भूमिका खेल्छन्। २०२५ जूनमा, इरानले इजरायलमाथि करिब १५० भन्दा बढी बलिस्टिक मिसाइलहरू र १०० भन्दा बढी ड्रोनहरू प्रहार गरेको थियो, जसले पश्चिम एशियामा द्वन्द्वलाई नयाँ आयाममा पुर्यायो। यस किसिमको ठूलो मात्रामा मिसाइल प्रहारले केवल सैन्य चुनौती मात्रै होइन, सामाजिक, आर्थिक र भूराजनीतिक दबाब पनि सिर्जना गर्छ।
विशेष गरी शहरी क्षेत्र, उर्जा उत्पादन केन्द्र, बन्दरगाह वा सैन्य अवसंरचनामाथि प्रहार भएमा, परिणाम विनाशकारी हुनसक्छ। यसले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति, आर्थिक बजार र विश्वव्यापी राजनीतिक स्थिरता पनि जोखिममा पार्ने सम्भावना राख्दछ।
इरानको परमाणु कार्यक्रम विगत दशकदेखि अन्तर्राष्ट्रिय विवादको केन्द्रमा रहँदै आएको छ। संयुक्त राज्य अमेरिका र इजरायलले यसलाई क्षेत्रीय अस्थिरताको मुख्य खतरा मान्दै आएका छन्। समय–समयमा उनीहरूले इरानमाथि सैन्य आक्रमण, आर्थिक प्रतिबन्ध र कूटनीतिक दबाब लागू गर्दै आएका छन्, ताकि इरानी परमाणु कार्यक्रमले सम्भावित युद्धको जोखिम उत्पन्न नगरोस्।
इजरायल आफैले खुलेर आफ्नो परमाणु क्षमता रहेको कुरा स्वीकार नगरे पनि, उसले “परमाणु क्षमतासहितको प्रतिवद्धता” सुरक्षा नीतिको मूल आधार बनाएको छ। यसले प्रतिकूल राष्ट्रहरूलाई गम्भीर डर र रणनीतिक पुनर्विचारमा डुबाएको छ, जसले क्षेत्रीय शक्ति सन्तुलनमा स्थिरता र अस्थिरता दुवैलाई प्रभावित गर्छ।
यस अर्थमा, यदि पश्चिम एशियाका दुई पक्ष खुलेर परमाणु क्षमतासहित र अर्को छिपिछिपि संवर्धनमा प्रत्यक्ष मिसाइल युद्ध सुरु भयो भने, परिणाम क्लिष्ट, विनाशकारी र विश्वव्यापी अस्थिरता फैलाउने खतरामा पर्न सक्छ। यसले अन्तर्राष्ट्रिय सुरक्षा, ऊर्जा आपूर्ति, आर्थिक बजार र मानव जीवनमा गहिरो प्रभाव पार्ने सम्भावना राख्दछ।
संयुक्त राज्य अमेरिका इजरायललाई पश्चिम एशियामा मिसाइल र परमाणु संरचनालाई लक्षित गर्ने नीतिगत कार्यहरूमा पनि संलग्न छ। उनीहरूले इरानको बलिस्टिक मिसाइल र नौ–सैन्य क्षमतालाई प्रभावहीन बनाउन चाहन्छन्। यसको उद्देश्य केवल इरानमाथि सैन्य दबाब मात्र होइन, संभावित मिसाइल–आधारित खतरा न्यून गर्ने र क्षेत्रीय अस्थिरता नियन्त्रण गर्ने पनि हो।तर अमेरिका र इजरायलका लक्ष्यहरूमा स्पष्ट अन्तर रहेको छ। इजरायलले आफ्नो प्राथमिकता रणनीतिक तथा नेतृत्त्वीय लक्ष्यहरू जस्तै प्रमुख राजनीतिक वा सैन्य नेताहरूको हानिमा केन्द्रित गर्दछ, जसले तत्काल युद्ध रणनीतिमा प्रभाव पार्छ। यसको विपरीत, अमेरिकाको लक्ष्य मिसाइल प्रणाली र नौ–सैन्य क्षमताको व्यापक नाश हो, जसले दीर्घकालीन रूपमा क्षेत्रीय शक्ति सन्तुलन कायम राख्ने उद्देश्य राख्छ।
यदि इरानले मिसाइल क्षमताको प्रयोग लगातार जारी राख्यो भने, पश्चिम एशियाका शहरी, सैन्य, ऊर्जा र बन्दरगाह केन्द्रहरू समेत निशानेमा पर्न सक्छन्। यसले विश्व ऊर्जा आपूर्तिमा ठूलो प्रभाव पार्नेछ किनकि सत्र प्रतिशत तेल आपूर्ति होर्मुज स्ट्रेट मार्फत जाने अनुमान गरिन्छ।
इरान, इजरायल र अमेरिका बीच प्रत्यक्ष मिसाइल–आधारित टकरावले दोस्रो तथा तेस्रो पक्षहरू (जस्तै साऊदी अरब, युएई, हिजबुल्लाह, शिया मिलिस समूह) लाई पनि खिच्न सक्छ। यसले व्यापक युद्धलाई उत्प्रेरित गर्न सक्छ जहाँ मिसाइल युद्ध केवल पश्चिम एशियामै सीमित नरहने, आन्तरिक सुरक्षा, ऊर्जा बजार, र विश्व अर्थतन्त्रलाई प्रभाव पार्ने जोखिम हुनेछ।
पश्चिम एशियामा मिसाइल युद्धको खतरा सन् २०२६ सम्मको घटनाक्रम, प्रतिहमला, ऊर्जा सुरक्षा जोखिम र भू-राजनीतिक रणनीतिहरूले यो क्षेत्र अब सुरक्षा अस्थिरता र रणनीतिक अनिश्चितताको केन्द्र बनेको छ। इरान, इजरायल र अन्य क्षेत्रीय शक्तिहरूबीचको तनाव केवल स्थानीय सीमामा सीमित छैन यसको प्रभाव विश्वव्यापी स्तरसम्म फैलिनसक्छ। पश्चिम एशियामा मिसाइल प्रयोगले ऊर्जा उत्पादन र आपूर्तिमा संकट उत्पन्न गर्नसक्ने, तेल र ग्यास बजारमा मूल्य अस्थिरता ल्याउने, र अन्तर्राष्ट्रिय आर्थिक संरचनालाई चुनौती दिने सम्भावना छ।
यस परिस्थिति अन्तर्गत शक्ति सन्तुलन अत्यधिक अस्थिर भएको छ। विगतका दशकमा स्थायित्व र सुरक्षा सुनिश्चित गर्ने तत्व अब कमजोर छन्। ब्यलिस्टिक मिसाइल र परमाणु क्षमताहरू केवल ‘आतंकको साधन’ होइन ती रणनीतिक साधनका रूपमा स्थापित भइसकेका छन्। यसले क्षेत्रीय राष्ट्रहरूलाई मात्र होइन, विश्वव्यापी सुरक्षा, आपूर्ति सञ्जाल, आर्थिक बजार र मानव जीवन माथि पनि गम्भीर जोखिम उत्पन्न गर्दछ।
पश्चिम एशियामा बढ्दो मिसाइल युद्धको सम्भावना रणनीतिक वा सैनिक प्रश्न मात्र होइन, यो मानवीय र मनोवैज्ञानिक संकटको पूर्वसंकेत पनि हो। रणनीतिक निर्णयमा हुने सानो त्रुटि, गलत आकलन वा असमञ्जसले तत्काल विनाश मात्र निम्त्याउँदैन, यसले जनमानसमा दीर्घकालीन भय, असुरक्षा र मानसिक अस्थिरताको वातावरण सिर्जना गर्छ। विशेषतः मध्यपूर्वमा देखिएको मिसाइलको मनोवैज्ञानिक प्रभावले स्पष्ट देखाउँछ कि युद्धको असर केवल भौतिक संरचनामा सीमित हुँदैन, यो मानिसको चेतना, व्यवहार र सामाजिक संरचनामा समेत गहिरो रूपमा प्रवेश गर्छ।
पश्चिम एशियामा मिसाइल युद्धको जोखिमलाई हल्का रूपमा लिनु गम्भीर भूल हुनेछ। यो भूराजनीतिक असन्तुलनको संकेत मात्र नभई, मानव अस्तित्व र विश्व शान्तिका लागि गम्भीर चुनौती हो। अतः, यस क्षेत्रप्रति प्रभावकारी कूटनीतिक पहल र उच्च स्तरको रणनीतिक सतर्कता अपरिहार्य छ, जसले युद्ध रोक्न मात्र होइन, मानव मनोविज्ञानमा उत्पन्न हुने गहिरो घाउहरूलाई पनि न्यून गर्न सहयोग पुर्याउन सक्छ।
पश्चिम एशियामा मिसाइलहरूको प्रभाव वास्तविक प्रभाव मानिसहरूको निद्रामा, बालबालिकाको कल्पनामा, परिवारहरूको भविष्यप्रतिको आशामा र सम्पूर्ण समाजको सामूहिक चेतनामा देखिन्छ। युद्धका घाउ भवनहरूमा भन्दा गहिरो गरी मानव मनमा बस्छन्। त्यसैले शान्तिको खोज मानव मनलाई भयबाट मुक्त गराउने प्रक्रिया पनि हो। जबसम्म मानिसको मन सुरक्षित हुँदैन, तबसम्म कुनै पनि क्षेत्र वास्तवमा सुरक्षित हुन सक्दैन। पश्चिम एशियाको अनुभवले यही गम्भीर सत्यलाई पुनः स्मरण गराइरहेको छ।



























