प्रहरी सेवामा ठूलो सुधार, तलब प्रणाली पूर्ण रूपमा बदलिँदै

234
shares

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि नेपाल प्रहरीका कर्मचारीहरूलाई समेत अर्धमासिक (हरेक १५ दिनमा) तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग (बजेट शाखा)ले देशभरका बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई परिपत्र जारी गर्दै अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्रअनुसार नयाँ तलब प्रणाली कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

परिपत्रमा उल्लेख गरिएअनुसार अर्थमन्त्रीस्तरीय निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको गत जेठ २१ गतेको पत्रबमोजिम आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीहरूको तलबभत्ता मासिक रूपमा नभई प्रत्येक १५ दिन पूरा भएपछि अर्धमासिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।

यस नयाँ प्रणाली अनुसार तलब भुक्तानी प्रक्रियालाई अझ व्यवस्थित, नियमित र पारदर्शी बनाउने उद्देश्य लिइएको बताइएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले सम्बन्धित सबै इकाइहरूलाई सोही अनुसार आर्थिक प्रणाली अद्यावधिक गर्न र कार्यान्वयनमा कुनै ढिलाइ नगर्न निर्देशन दिएको छ ।

त्यसैगरी, प्रहरी प्रधान कार्यालय अन्तर्गतको कल्याण महाशाखालाई पनि नयाँ तलब प्रणालीसँग सम्बन्धित आर्थिक व्यवस्थापन तथा प्रणाली समायोजन गर्न आवश्यक तयारी गर्न भनिएको छ ।

सरकारी निर्णय लागू भएपछि प्रहरी कर्मचारीहरूको तलब भुक्तानी प्रणालीमा संरचनागत परिवर्तन हुने अपेक्षा गरिएको छ ।

civil hospital
Hams Hospitals