फिफा विश्वकप : इराकमाथि सेनेगलको ५–० को शानदार जित

138
shares

 

 

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा इराक १० खेलाडीमा सीमित भएपछि सेनेगलले त्यसको पूरा फाइदा उठाउँदै ५–० को प्रभावशाली जित निकालेको छ। फराकिलो जितसँगै सेनेगलले नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको भए पनि अन्तिम निर्णय अन्य समूहका नतिजामा निर्भर रहनेछ।

 

टोरन्टोमा शनिबार बिहान सम्पन्न खेलमा इराकले १३औँ मिनेटमै रेबिन सुलाकाले रातो कार्ड पाएपछि बाँकी अधिकांश समय १० खेलाडीमा खेलेको थियो। त्यसपछि सेनेगलले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै गोलको वर्षा गर्यो।

 

सेनेगलका लागि पापे गुएले दुई गोल गर्दा हबिब डियारा, इस्माइला सार र इलमान न्डियाएले समान एक–एक गोल गरे। पहिलो हाफ १–० मा सकिएको खेलमा दोस्रो हाफमा सेनेगलले थप चार गोल गर्दै शानदार जित सुनिश्चित गर्यो।

 

यस जितसँगै सेनेगलले तीन खेलबाट तीन अंक जोड्दै समूह ‘आई’मा तेस्रो स्थानमा रहँदै उत्कृष्ट तेस्रो स्थानका टोलीहरूको सूचीमा आफूलाई बलियो बनाएको छ। यद्यपि नकआउट चरणमा स्थान सुरक्षित गर्न उसले अन्य समूहका खेलको नतिजा पर्खिनुपर्ने अवस्था छ।

 

उता, लगातार तीन खेलमा पराजित भएको इराक अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

 

यस समूहबाट फ्रान्स तीनवटै खेल जितेर समूह विजेता बनेको छ भने नर्वे ६ अंकसहित उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

civil hospital
Hams Hospitals