खोसिएको जागिर र बेरोजगारीको पीडा पछि विवेकले रोजे आत्मदाहको बाटो

420
shares

सर्लाही । विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि अहिले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटिया निवासी मण्डलको शरीरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार शुक्रबार दिउँसो मण्डलले आफ्नै शरीरमा आगो लगाएका थिए । घटनालगत्तै उनलाई प्रादेशिक अस्पताल मलङ्गवामा पु¥याएर प्राथमिक उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो ।

 

परिवारका अनुसार विवेकले विज्ञान विषयमा एमएस्सी उत्तीर्ण गरेका थिए । उनका बुवा उपेन्द्र मण्डलका अनुसार उनी करिब एक वर्षअघिसम्म महोत्तरीको गौशालास्थित एक विद्यालयमा पढाउने काम गर्दथे । त्यहाँ करिब तीन वर्ष शिक्षकका रूपमा काम गरेका विवेक विद्यालयभित्रको राजनीतिक चलखेलका कारण जागिर छोड्न बाध्य भएको परिवारको दाबी छ ।

 

उनको नजिकका साथीहरुका अनुसार अध्यापनको क्षमता राम्रो हुँदाहुँदै पनि राजनीतिक चलखेल गरेर उनलाई त्यहाँबाट जागिर छोड्न बाध्य बनाईएको थियो ।

 

जागिर गुमाएपछि विवेक घरमै बस्दै आएका थिए । त्यसयता उनले विभिन्न शैक्षिक संस्थामा रोजगारीका लागि पहल गर्नुका साथै लोक सेवा आयोगका परीक्षामा समेत सहभागिता जनाएका थिए । तर, कुनै पनि प्रयास सफल हुन सकेन ।

 

बिबेककि श्रीमती रिनादेवी मण्डलका अनुसार बेरोजगारी लम्बिँदै जाँदा उनी निराश बन्दै गएका थिए । आफूले आमाबुवाको सम्पत्ति खर्च गरेर उच्च शिक्षा हाँसिल गरेपनि उपलब्धि हासिल गर्न नसकेको भन्दै उनी बेलाबेला परिवारसँग दुःखेसो पोख्ने गर्दथे ।

 

विवेककी आमा मन्टुटिया देवीका अनुसार आर्थिक अभाव र लामो समयको बेरोजगारीका कारण उनी मानसिक तनावमा परेका थिए । केही समयअघि उनको उपचारसमेत गरिएको थियो ।

 

परिवारमाथि आर्थिक भार पनि कम छैन । बुवा उपेन्द्र मण्डलका अनुसार विवेकको अध्ययन र घरखर्चका क्रममा गाउँघर तथा बैंकबाट लिएको ऋण गरी अहिले करिब ३५ लाख रुपैयाँ तिर्न बाँकी छ ।

 

विवेकका दाजु विगत चार वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा छन् । परिवारका अनुसार दाजुकै कमाइबाट घरखर्च र विवेकको उच्च शिक्षाको खर्च जुटाइएको थियो । एमएस्सी पूरा गरेर शिक्षकको जागिर पाएपछि परिवारले आर्थिक अवस्था सुधारिने अपेक्षा गरेको थियो । तर, त्यो रोजगारी लामो समय टिक्न सकेन ।

 

विवेकका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा हाल महोत्तरीस्थित मामाघरमा बसेर अध्ययन गरिरहेका छन् भने छोरी परिवारसँगै घरमा छिन् । पहिलेदेखि नै कमजोर आर्थिक अवस्थासँग संघर्ष गरिरहेको मण्डल परिवार अहिले विवेकको उपचारका कारण थप आर्थिक समस्यामा परेको छ । परिवारले गाउँघर र बैंकको गरी करिब ३५ लाख रुपैयाँ ऋणसमेत तिर्न बाँकी रहेको जनाएको छ ।

civil hospital
Hams Hospitals