ऐतिहासिक महत्त्व बोकेको दियालो बङ्‌गला दरबार सङ्ग्रालय

183
shares

 

 

दियालो बङ्गला दरबार सङ्ग्रालय अवलोकनका लागि हामी २०८३ साल असार २८ गते आइतबार श्रीमान विश्वनाथ तिमिल्सिना र म लेखक स्वयम् (भूमिका गैरे तिमिल्सिना) दिनको १:०० बजे स्कुटरमा निस्क्यौँ । दियालो शब्दको अर्थ उज्यालो अथवा दीपको प्रकाशसङ्ग सम्बन्धित छ  । त्यसैलाई आधार मानेर दरबारको नाम दियालो बङ्गला राखिएको हो, भन्ने अनुमान गर्न सकिन्छ ।

 

चितवन जिल्लाको नारायणगढ बजारबाट नजिक करिब दुई किलोमिटर देवघाट जाने बाटो आँपटारी चोकबाट केही वर नवनिर्मित दियालो बङ्गला जाने गेट रहेको छ । गेटबाट भित्र छिरे पछि टिकट काट्ने घर, स्टोन पार्क रहेको छ । ठाउँठाउँमा बस्नका लागि फलामका बेन्चहरू राखिएका छन् । बाटो छेउमा फूलका बिरुवा, पार्क, हेलिप्याड,फुटबल खेल्नका लागि ठुलो खेल मैदान रहेको छ । नारायणीको समीप सेतो रङ‌ले सजिएको ऐतिहासिक स्थल दियालो बङ्‌गला दरबार धार्मिक पर्यटकीय देवघाट क्षेत्रसङ्ग जाडिएकाले पनि राजपरिवारले धार्मिक स्नान गर्नका लागि एवम् जङ्गली जनावरहरूको सिकार गर्ने उद्देश्यले बनाइएको हो, भन्ने भनाइ रहेको पाइन्छ ।

 

चितवनको भरतपुर- १ आँपटारीमा रहेको दियालो बङ्‌गला दरबार जसलाई राजा महेन्द्रले निर्माण गरेका थिए । तत्कालीन समयमा राजपरिवार र निश्चित सरकारी कर्मचारीहरू मात्र रहने व्यवस्था थियो ।

 

विशेष गरी हिउँदको जाडो छल्न र सिकार खेल्नका लागि राजा र राजपरिवारका सदस्यहरू दरबारमा आउँने गर्दथे । नारायणी नदी किनारमा रहेको दि‌यालो बङ्‌गला दरबार सानो र चिटिक्क रहेको छ । उक्त दरबारको भुइँतलामा एउटा ठूलो बैठक कोठा रहेको छ। जसमा पूर्व राजा महेन्द्र रानी रत्नराज्यलक्ष्मी,राजा विरेन्द्र र रानी ऐश्वर्याको ठुलो तस्विर राखिएको छ । भर्याङमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही राखिएको छ, भने भित्तामा बाघको टाउको जस्ताको तस्तै राखिएको छ।

 

यसको कुल क्षेत्रफल ५७ बिघा १३ कठ्ठा ७ धुर रहेको छ। यो बङ्‌गलामा सबैभन्दा धेरै बस्ने राजामा राजा महेन्द्र थिए । तत्कालीन समयमा राजा महेन्द्रले बङ्गला वि. सं. २०१९ सालदेखि २०२६ सालसम्ममा निर्माण गरेका थिए । त्यसको दुई वर्षपछि २०२८ साल माघ १६ गते राजाको सोही दरबारमा हृदयघातका कारण निधन भएको थियो। सिकारका सौखिन राजा महेन्द्र २०२८ साल माघ ३ गते यस बङ्गलामा एक महिनाका लागि बस्न आएका थिए । तर दुर्भाग्यवस उनको माघ १६ गते राती ११ बजे देहवसान भयो ।

 

त्यसपछि राजा बिरेन्द्र राजा महेन्द्रको वार्षिक तिथि पारेर आउँने गर्दथे। राजा बिरेन्द्रले २०५७ सालमा आफ्नो जन्मदिन पनि यसै बङ्‌गलामा मनाएका थिए। त्यही बेला रानी ऐश्वर्याको घुमाउरो भर्याङमा गोडा चिप्लिएर मर्केको थियो । राजा बिरेन्द्रले तत्काल अर्को भर्याङ बनाउँन लगाएका थिए । राजाका पर्सनल डाक्टर पनि सङ्गै रहने गरेको र  सुसारेहरू पनि सङ्गै रहने गर्दथे । राजपरिवारका लागि खाना आगोमै पकाएर ख्वाएको आफुले देखेका कुरा २०५७ सालदेखि राजप्रथा सेवा हाल निजामती सेवामा कार्यरत दानवहादुर ढकाल द्वारा जानकारी भयो ।

 

दियालो बङ्‌गला दरबारमा राजपरिवारले प्रयोग गरेका सामग्रीहरू, सिकार गरी मारेका वन्यजन्तु छाला लगायतले सजाइएको छ।

 

दरबारको छेउमा दरबारका महिलाका लागि ‘नानीगञ्ज’ सुरक्षाका लागि गार्डको एडीसी क्वाटर छ, भने मूल दरबारमा व्यवस्थित बैठक कोठा, राजाले प्रयोग गरेका पलङ. बेड,बिस्तारा, भान्सा, डायनिङ, सामग्रीहरू, बन्दुक, लगायतका विभिन्न सामग्रीहरू रहेका छन्।

 

भ्रमण वर्ष सन् २०२४, लक्षित गरी नेपाल ट्रस्टको स्वामित्वमा रहेको दियालो बङगला दरबार सङ्‌ग्रालय २०८१ साल असार २३ गते आइतबारबाट सर्वसाधारणका लागि खुला गरिएको हो ।

 

दरबारमा पाँचओटा खोपी रहेका छन्। १ नं.खोपी मुमा रत्नराज्यको हो, भने २ नं.खोपी राजा महेन्द्रको हो । ३ नं. रानी र  ४ र ५ नं. को खोपी राजपरिवारका सदस्यहरूको रहेका छन् । सबै खोपीसङ्ग जोडिएका शौचालयहरू पनि रहेका छन्। सवारी साधन राख्नका लागि  ग्यारेज रहेको छ। त्यसको छेउमा उत्तरपट्टी पौडी खेल्नका लागि स्वीमिङ पुल/पोखरी रहेको छ ।

 

चारैतिर सिसिटिभी जडान गरि‌एकाले सुरक्षाका दृष्टिकोणले पनि सुरक्षित रहेको छ। चारैतिर जङ्गल नै जङ्‌गल, हरियाली ठूला ठूला रुख बिरुवाहरू देख्न सकिन्छ ।

 

सुनसान, प्रकृतिको अलौकिक दृश्यले मननै लोभ्याउँछ । जङ्‌गली जनावरमा बाघ, चितुवा, मृग, जङ्गली हात्ती देख्ने गरेको जान‌कारी पाइयो । शान्त,सुन्दर एवम् एकान्त ठाउँमा रहेको दरबारको सुरक्षा नेपाली सेनाले गरेको छ ।

 

चितवन देशको मध्य भागमा भएकाले गर्दा पनि राजाले यहीँ ठाउँमा दियालो बङ्गला बनाएका थिए । ढकालका भनाइ अनुसार यहाँ पहिला बस्ती थियो, उक्त बस्तीलाई स्थानान्तरण गरी राजा महेन्द्रले पूर्व पश्चिमको यात्रा गर्नु पर्दा सहजताका दृष्टिकोणले पनि बङ्गला बनाएका थिए । र यात्राका क्रममा यहीँ आएर बस्थे । दरबारको दक्षिणतर्फ जाडोमा राजाहरूले आगो बालेर ताप्ने गरेको ठाउँ पनि रहेछ।

 

उत्तरतर्फ स्वीमिङ पुल जसलाई छेक्न पर्खाल पनि बनाइएको रहेछ। अत्यन्त मनमोहक, तटीय क्षेत्र,जलपर्यटनका क्रियाकलापहरू हुने, साल जमुना,यमुना,सिन्दुर,सिसौ जस्ता रुखहरूको हरियाली वनस्पति, विभिन्न प्रजातिका चराचुरुङ्‌गी एवम् राजाहरूले प्रयोग गरेका विभिन्न सामग्रीहरू आज आकर्षणको केन्द्र बनेको छ ।

 

दरबार राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरूको लागि अध्ययन अनुसन्धानको थलो बन्न सक्ने अनुमान गर्न सकिन्छ। दरबार बिहान १०:०० बजेबाट साँझ ४:०० बजेसम्म अवलोकन गर्न पाइने व्यवस्था रहेछ।

 

दियालो बङ्‌गला दरबार ऐतिहासिक महत्त्व बोकेको पर्यटकीय गन्तव्य हो । विभिन्न संघ संस्था बिद्यार्थीहरूले अध्ययन अवलोकन गर्न सक्छन् । राजामहाराजाहरूको चालचलन,रहनसहन,गतिविधि, जीवन शैली के कस्तो रहेछ त ? बुझ्न सक्छन्, इतिहास जान्ने गतिलो अवसर पनि हुने देखिन्छ ।

 

टिकटबाट उठेको रकमको ५० प्रतिशत ट्रस्टलाई जाने र ५० प्रतिशत महानगरले लिने सम्झौता भएको रहेछ।

 

प्रकृतिको अपार सुन्दरता, शान्त वातावरण मनोरम दृश्य, हरियाली अनेकन प्रकारका चराचुरुङ्गी,बिरुवा, वनस्पति, सैनिक इलाका रहेको ठूलो क्षेत्रफलमा फैलिएको दियालो बङ‌्गला दरबार सङ्‌‌ग्रालय श्वेत रङ्गले सजिएको छ । शान्ति,इमान्दरिता र सरलताको प्रतीक हो । जीवनमा नयाँ अवसर र आशाको सङ्‌केत गर्दछ। त्यहाँ जाँदा मनमा एक किसिमको व्यग्रता,शान्ति, स्वच्छताको महसुस हुन्छ। त्यहाँको परिदृश्य अत्यन्तै रमाइलो हुनुका साथै प्राकृतिक सौन्दर्यता निकै मनमोहक रहेको छ । बङ्‌गला तीनतलाको रहेको छ। त्यहाँ राजाहरूका जीवनशैली, खानपान, रहनसहन, व्यवहार, प्रवृतिको अध्ययन अनुसन्धान गर्नका लागि एकपटक सबैले दियालो बङ्गला दरबार संग्रालयको परिभ्रमण गर्नु आवश्यक रहन्छ ।

 

राजा महेन्द्रले विभिन्न स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिहरूको स्वागत एवम् औप‌चारिक भेटघाट,विश्राम, बैठक तथा सरकारी कामकाजका लागि पनि बङ्गला प्रयोग गरिएको थियो। सङग्रालय भित्र राजपरिवारले प्रयोग गरेका शयनकक्ष, बैठक कक्ष भोजन कक्ष, भर्याङ,पुराना फर्निचर, तस्बिर लगाएत अन्य ऐतिहासिक सामग्रीहरूको अध्ययन अवलोकन गर्न सकिन्छ।

 

दियालो बङ्‌गला दरबार आधुनिक शैलीमा निमार्ण गरिएको छ,जसमा पूर्वीय र पश्चिमी वास्तुकलाको प्रभाव देखिन्छ। फराकिलो बरन्डा ठुलो बगैंचा, प्राकृतिक प्रकाश तथा हावापानीलाई ध्यानमा राखेर डिजाइन गरेको पाइन्छ। अझ रोचकको कुरा त के छ भने राजा महेन्द्रको निधन भएको शयनकक्ष पनि सङ‌ग्रालयमा सुरक्षित तबरले राखिएको छ। बङ्‌गला राजतन्त्रकालीन इतिहास, वास्तुकला र सांस्कृतिक सम्पदाको महत्त्व बोकेकाले अहिलेका पुस्ताका लागि चासो एवम् खोजको विषय बन्न सक्छ । नेपालको राजतन्त्रको इतिहासका बारेमा जानकारी लिन, शोध खोज, अध्ययन अनुसन्धान, आवश्यक सोधपुछ,सामग्री सङ्कलन गर्नका लागि थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

civil hospital
Hams Hospitals