सुनसरीसहित तराईका जिल्लामा देखिएको अशान्तिप्रति नाडाको गम्भीर चिन्ता, शान्ति र संवादमार्फत समाधान खोज्न आग्रह
वि.सं.२०८३ साउन १५ शुक्रवार
shares
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पूर्वी नेपाल, विशेषगरी सुनसरी जिल्लाको कप्तानगञ्जलगायत तराईका केही जिल्लाहरूमा पछिल्लो समय देखापरेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम तथा त्यसबाट उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नाडाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र भएको उल्लेख गर्दै विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचारालाई नेपालको सबैभन्दा ठूलो शक्ति भएको जनाएको छ।
विज्ञप्तिमा नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै हिंसा, तोडफोड, अशान्ति तथा सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने स्पष्ट गरिएको छ।
नाडाले यस्ता घटनाले शान्ति सुरक्षा र सामाजिक सद्भावमा मात्र नभई आम नागरिकको दैनिक जीवन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने जनाएको छ। विशेषगरी व्यवसायिक वातावरणमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले सम्पूर्ण व्यवसायी समुदाय यसबाट चिन्तित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
एशोसिएशनले सबै सम्बन्धित पक्षलाई संयमता अपनाउन, कानुनी तथा लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ।
त्यस्तै, नेपाल सरकार तथा सम्बन्धित निकायलाई शान्ति सुरक्षा कायम राख्न, नागरिकको जनधनको संरक्षण सुनिश्चित गर्न तथा सामान्य जनजीवन र व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन प्रभावकारी पहल गर्न अनुरोध गरिएको छ।
विज्ञप्तिको अन्त्यमा नाडाले सम्पूर्ण नेपाली नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्णुतालाई थप सुदृढ बनाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अपिल गरेको छ।





























