नाइमा एक्स्पोमा बीवाईडीका नयाँ अवतार : एट्टो १ मा ३६० क्यामेरादेखि एट्टो ३ को फेसलिफ्टसम्म
वि.सं.२०८३ साउन २६ मंगलवार
shares
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ मा विद्युतीय सवारी निर्माता बीवाईडीले आफ्ना एट्टो सिरिजका नयाँ तथा अपग्रेडेड मोडल प्रदर्शनमा राखेको छ।
एक्स्पोमा बीवाईडीका एट्टो १, एट्टो २ र एट्टो ३ का नयाँ संस्करण मुख्य आकर्षणका रूपमा रहेका छन्। कम्पनीले यी मोडलमा ग्राहकको सुरक्षा, सुविधा र ड्राइभिङ अनुभवलाई लक्षित गर्दै विभिन्न नयाँ फिचर थप गरेको जनाएको छ।बीवाईडी भक्तपुर शाखाका म्यानेजर रोजन महर्जनका अनुसार एट्टो १ मा पहिलोपटक ३६० डिग्री क्यामेरा थप गरिएको छ। त्यस्तै, एट्टो २ मा नयाँ ‘इसेन्सियल’ भेरियन्ट सार्वजनिक गरिएको छ भने एट्टो ३ लाई फेसलिफ्ट डिजाइनसहित एक्स्पोमा उतारिएको छ।
उनका अनुसार एट्टो १ को अपग्रेडेड संस्करणमा ३६० डिग्री क्यामेरासँगै वायरलेस चार्जिङ र साइड मिररमा अटोमेटिक फोल्डिङ सुविधा थप गरिएको छ। यसअघि यी सुविधा उपलब्ध थिएनन्।महर्जनले तीनवटै मोडल बीवाईडीको ब्लेड ब्याट्री प्रविधि र ई–प्लेटफर्म ३.० मा आधारित रहेको जानकारी दिए। उनका अनुसार सवारीसाधनमा सुरक्षा तथा यात्राको सुविधालाई प्राथमिकता दिँदै विभिन्न प्रविधि समावेश गरिएको छ।
बीवाईडीले एट्टो २ सिरिजमा तुलनात्मक रूपमा कम ब्याट्री क्षमताको नयाँ ‘इसेन्सियल’ भेरियन्ट थप गरेको छ। यसले एट्टो २ लाई फरक मूल्य र आवश्यकताका ग्राहकका लागि थप पहुँचयोग्य बनाउने कम्पनीको अपेक्षा छ।यता एट्टो ३ मा बाहिरी डिजाइन तथा अन्य पक्षमा परिमार्जन गरिएको फेसलिफ्ट संस्करण प्रदर्शनीमा राखिएको छ।
एक्स्पोमा सार्वजनिक गरिएको विवरणअनुसार बीवाईडी एट्टो १ को डाइनामिक भेरियन्टको मूल्य ३० लाख ७५ हजार रुपैयाँ तोकिएको छ। यसको प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ८० हजार रुपैयाँ रहेको छ।एट्टो २ को इसेन्सियल भेरियन्ट ४५ लाख ९५ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्ट ४८ लाख ९९ हजार रुपैयाँ मा उपलब्ध हुने बताइएको छ।
त्यस्तै, एट्टो ३ एडभान्सको मूल्य ६२ लाख ९० हजार रुपैयाँ र सुपेरियर भेरियन्टको मूल्य ७८ लाख रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।बीवाईडीका प्रतिनिधिले एट्टो १ लाई नेपाली सडक र यहाँको भौगोलिक अवस्थालाई ध्यानमा राखेर पनि उपयुक्त सवारीका रूपमा प्रस्तुत गरेका छन्।सानो आकार, छोटो ह्विलबेस र १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले एट्टो १ सहरी सडकसँगै सामान्य ग्राभेल तथा केही कठिन सडकमा समेत चलाउन सहज हुने महर्जनको दाबी छ।
नेपालमा विद्युतीय सवारीको माग पछिल्लो समय बढिरहेको भन्दै उनले यसको मुख्य कारण सञ्चालन खर्च कम हुनु रहेको बताए। पेट्रोल तथा डिजेलबाट चल्ने सवारीको तुलनामा विद्युतीय गाडी सञ्चालन गर्दा दैनिक खर्च कम पर्ने भएकाले ग्राहकको आकर्षण बढेको उनको भनाइ छ।नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर बीवाईडीले ग्राहकलाई विभिन्न अतिरिक्त सुविधा दिने घोषणा गरेको छ।
कम्पनीका अनुसार एक्स्पोमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको सडक कर, अटो प्लस इन्स्योरेन्स, निःशुल्क एसेसोरिज तथा एक वर्षको बीवाईडी एप सुविधा प्राप्त गर्नेछन्।बीवाईडीको स्टल एक्स्पोको हल नम्बर ५ मा मुख्य प्रवेशद्वारबाट प्रवेश गर्नेबित्तिकै रहेको छ। ग्राहकले एक्स्पोस्थलमै गाडीको अवलोकन गर्नुका साथै अनलाइनमार्फत पनि बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।
बीवाईडीले नेपालमा आफ्नो बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल पनि विस्तार गरिरहेको जनाएको छ।कम्पनीका अनुसार देशभर २० भन्दा बढी शोरुम र १३ भन्दा बढी सर्भिस सेन्टर सञ्चालनमा छन्। थप चारवटा सर्भिस सेन्टर निर्माणको क्रममा रहेको महर्जनले जानकारी दिए।उपत्यकाबाहिरका ग्राहकलाई समेत आपत्कालीन सेवा उपलब्ध गराउन रोडसाइड असिस्टेन्सको व्यवस्था गरिएको कम्पनीको भनाइ छ।
साउन ३१ गतेसम्म सञ्चालन हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा विभिन्न ब्रान्डका नयाँ प्रविधि र मोडल प्रदर्शनमा राखिएका छन्।एक्स्पोमा ५१ वटा स्टलमा ५५ भन्दा बढी सवारीसाधन राखिएको आयोजकले जनाएको छ। विद्युतीय सवारीको बढ्दो बजारलाई लक्षित गर्दै विभिन्न कम्पनी तथा आधिकारिक डिलरले नयाँ पुस्ताका ईभीसहित पेट्रोल तथा अन्य प्रविधिमा आधारित सवारीसमेत प्रदर्शनीमा राखेका छन्।
बीवाईडीले एट्टो सिरिजमा गरेको अपग्रेड र नयाँ भेरियन्टको प्रदर्शनले एक्स्पोमा विद्युतीय सवारीप्रति ग्राहकको चासोलाई थप बढाउने अपेक्षा गरिएको छ।





























