Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नेपाल वायु सेवा निगमका उपाध्यक्ष बाँस्तोलाले दिए राजीनामा, छोटो समयमै निगमबाट बाहिरिए

912
shares

 

काठमाडौं । नेपाल वायु सेवा निगमका उपाध्यक्ष दिपकप्रकाश बाँस्तोला पदबाट राजीनामा दिएका छन्। खुला प्रतिस्पर्धाबाट निगमको सञ्चालक समिति सदस्य हुँदै उपाध्यक्ष बनेका बाँस्तोलाले नियुक्तिको छोटो समयमै पद त्यागेका हुन्।

नेपाली सेनाका पूर्वउपरथीसमेत रहेका बाँस्तोला निगममा लामो समय टिक्न सकेनन्। पछिल्लो समय निगमको आम्दानीमा सुधार देखिन थालेका बेला उपाध्यक्षको राजीनामाले निगमभित्रको व्यवस्थापन र नेतृत्वमाथि फेरि प्रश्न उठाएको छ।

निगमको नेतृत्वसम्बन्धी विवादसमेत कायमै रहेका बेला बाँस्तोलाको राजीनामा आएको हो। ८१ वर्षीय महेश्वर श्रेष्ठलाई कार्यकारी अध्यक्ष बनाइएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला निगमका उपाध्यक्षले नै पद छाडेपछि नेतृत्व व्यवस्थापन थप पेचिलो बनेको छ।

बाँस्तोला नेपाली सेनाको हवाई सेवा विभागमा सिनियर एरोनटिकल इन्जिनियरका रूपमा झन्डै चार दशक कार्यरत रहेका थिए। प्राविधिक तथा हवाई क्षेत्रमा लामो अनुभव भएका उनलाई खुला प्रतिस्पर्धाबाट निगमको सञ्चालक समितिमा ल्याइएको थियो।

सरकारले निगमको नियुक्तिमा नेपाली सेनाका पूर्वअधिकारीलाई प्राथमिकता दिएको भन्दै आलोचना भइरहेका बेला बाँस्तोलाको छोटो कार्यकालमै भएको बहिर्गमनले उक्त नियुक्तिमाथिको बहसलाई थप चर्काउने देखिएको छ।

निगमलाई सुधार, व्यावसायिकता र दीर्घकालीन रणनीतिक नेतृत्व आवश्यक रहेको बहस चलिरहेका बेला उपाध्यक्षकै राजीनामाले निगमभित्रको नेतृत्व स्थायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ।

civil hospital
Hams Hospitals