Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले बढ्यो, ४ अर्ब ५५ करोड पुग्यो

147
shares

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ६०.६८ प्रतिशतले बढेको हो।

 

बैंकले समीक्षा अवधिमा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा बैंकको खुद नाफा १ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीले बढेको हो।

 

खुद ब्याज आम्दानीमा भएको वृद्धि तथा जोखिम व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकममा आएको कमीले बैंकको नाफा बढाउन मुख्य योगदान गरेको देखिन्छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ रहेको छ।

 

बैंकको खुद ब्याज आम्दानी १७.८५ प्रतिशतले बढेको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ८.३४ प्रतिशतले वृद्धि भएको छ। यी सूचकमा भएको सुधारसँगै बैंकको कुल सञ्चालन आम्दानी १४.१९ प्रतिशतले बढेको छ।

 

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि ६४.२६ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब २३ करोड ४४ लाख रुपैयाँ रहेको जोखिम व्यवस्थापन शुल्क घटेर समीक्षा अवधिमा ८४ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ। खर्चमा आएको यही कमीले बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढाउन महत्वपूर्ण योगदान गरेको हो।

 

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ११ रुपैयाँले बढेर समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा पुगेको छ।

 

राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा ४० अर्ब ४५ करोड रुपैयाँ सञ्चित रहेको छ।

 

बैंकको निक्षेप संकलनमा समेत उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ३७.११ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १३.६० प्रतिशतले वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ।

civil hospital
Hams Hospitals