फ्रान्सेली राष्ट्रपति पदका उम्मेदवार मेलँसों महँगीविरुद्धको प्रदर्शनमा सहभागी
वि.सं.२०८३ कात्तिक १५ आइतवार
shares
काठमाडौं । फ्रान्समा बढ्दो महँगीको विरोधमा लगातार तेस्रो सप्ताहान्त पनि प्रदर्शन भएको छ । सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनका उम्मेदवार तथा वामपन्थी नेता जाँ–लुक मेलँसों शनिबार पेरिसमा आयोजित प्रदर्शनमा सहभागी भएका छन् ।
फ्रान्सेली समाचार संस्था फ्रान्स २४ का अनुसार शनिबारको प्रदर्शनमा करिब १५ हजार मानिस सहभागी भएका थिए । मेलँसों गत अक्टोबर २४ मा भएको प्रदर्शनमा पनि सहभागी भएका थिए ।
फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्म प्रहरीले २७ जनालाई पक्राउ गरेको थियो । अघिल्लो सप्ताहान्तमा २१७ जना पक्राउ परेका थिए । मन्त्रालयले शनिबारका प्रदर्शनमा उल्लेखनीय अप्रिय घटना नभएको जनाएको छ । हेलोविन पर्वसँगै प्रदर्शन पनि हुन लागेकाले फ्रान्समा सुरक्षा व्यवस्था कडा पारिएको थियो । सम्भावित हिंसा तथा अव्यवस्थालाई ध्यानमा राख्दै सरकारले करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरेको थियो । फ्रान्सका गृहमन्त्री लरेन नुनेजले हिंसात्मक गतिविधि भए कडा प्रतिक्रिया दिने चेतावनी दिएका थिए ।
प्रदर्शनका कारण पेरिस महानगरीय क्षेत्रमा ४० भन्दा बढी मेट्रो तथा उपनगरीय रेल स्टेसन बन्द गरिएको फ्रान्स २४ ले जनाएको छ । फ्रान्समा गत सेप्टेम्बरको अन्त्यदेखि महँगीविरुद्धको प्रदर्शन चर्किएको हो । राष्ट्रपति इमानुएल म्याक्रों नेतृत्वको अल्पमत सरकारले सन् २०२७ को बजेटमाथि छलफल सुरु गरेसँगै विरोध बढेको हो । सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको करिब १२० प्रतिशत पुग्न लागेको र सरकारी ऋणको लागत बढिरहेका बेला सरकारले खर्च कटौती गर्नुपर्ने दबाब सामना गरिरहेको छ ।
विद्यालयको कमजोर अवस्था, कक्षाकोठामा विद्यार्थीको चाप र भर्ना प्रणालीमा रहेको भनिएको असमानताविरुद्ध आन्दोलनरत विद्यार्थीलाई ट्रेड युनियन तथा ‘यल्लो भेस्ट’ आन्दोलनका सदस्यले साथ दिएका छन् । उनीहरूले बढ्दो जीवनयापन खर्च नियन्त्रण गर्न माग गरेका छन् ।
यसैबीच, जर्मनीमा पनि शनिबार ‘जेन्ज रेगेल्ट’ अभियानको नेतृत्वमा प्रदर्शन भएको छ । प्रदर्शनकारीले अनिवार्य सैन्य सेवाको विरोध गर्दै शिक्षा क्षेत्रमा लगानी बढाउन माग गरेका छन् ।
युरोपका विभिन्न देशमा पछिल्लो समय युवाको नेतृत्वमा प्रदर्शन भइरहेका छन् । बढ्दो जीवनयापन खर्च, शिक्षाको कमजोर अवस्था, सामाजिक असमानता र आर्थिक अवसरमा आएको संकुचनप्रति युवाहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् । एएनआई































