नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण
वि.सं.२०८३ कात्तिक १९ बिहीवार
shares
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
२०८३ कात्तिक १८ गते बुधबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटघाट गरी सामग्री हस्तान्तरण गरेको हो।
भेटका क्रममा नाडाका अध्यक्ष उप्रेतीले संस्थाको तर्फबाट जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्री उपलब्ध गराएका थिए। सो अवसरमा नाडाका समसामयिक गतिविधि, संस्थागत सहकार्य तथा विभिन्न विषयमा छलफलसमेत भएको थियो।
नाडाले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिमा सम्बन्धित संघसंस्था र सरकारी निकायलाई आवश्यकताअनुसार सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।
यस्ता सहयोगात्मक गतिविधिले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै राज्यका निकायसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने नाडाको विश्वास छ।
सामग्री हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्य दीपककुमार अग्रवाल र नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो।
नाडाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगात्मक तथा रचनात्मक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।






























