थ्रीजीको अन्त्य, फोरजीको नयाँ युग : एनसेलले पुस पहिलो साताभित्र देशभर सेवा बन्द गर्ने

116
shares
Nabil bank

काठमाडौं । दूरसञ्चार सेवाको गुणस्तर सुधार, नेटवर्क क्षमता विस्तार तथा आधुनिक प्रविधिको प्रभावकारी उपयोग गर्ने उद्देश्यसहित एनसेलले देशभर सञ्चालनमा रहेको थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ। कम्पनीले फोरजी सेवाको व्यापक विस्तारपछि यही मंसिरदेखि चरणबद्ध रूपमा थ्रीजी नेटवर्क विस्थापन गर्दै पुसको पहिलो साताभित्र देशभर थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ ।

 

एनसेलका अनुसार कम्पनीको फोरजी सेवा हाल देशको करिब ९५ प्रतिशत जनसंख्याको पहुँचमा पुगिसकेको छ। सक्रिय ग्राहकहरूमध्ये करिब ३ प्रतिशतले मात्रै थ्रीजी सेवा प्रयोग गरिरहेका छन्। यद्यपि, फोरजी सेवा देशव्यापी रूपमा विस्तार भइसकेको अवस्थामा पनि ४ लाख २० हजारभन्दा बढी ग्राहकसँग अझै पुराना थ्रीजी सिमकार्ड रहेको कम्पनीको तथ्यांकले देखाएको छ।

 

पुरानो प्रविधिलाई विस्थापन गरी नेटवर्कमा उपलब्ध क्षमता र फ्रिक्वेन्सीको अधिकतम उपयोग गर्ने रणनीतिअन्तर्गत एनसेलले थ्रीजी सेवा बन्द गर्न लागेको जनाएको छ। यसबाट उपलब्ध नेटवर्क स्रोतसाधनलाई फोरजी सेवाको गुणस्तर सुधार, क्षमता अभिवृद्धि तथा आधुनिक दूरसञ्चार प्रविधिको विस्तारमा केन्द्रित गर्न सकिने कम्पनीको विश्वास रहेको छ।

 

३ हजार १३९ टावरमध्ये ९९२ मा थ्रीजी सेवा बन्द

एनसेलले देशभर रहेका थ्रीजी टावरहरूमा सेवा बन्द गर्ने प्रक्रिया विभिन्न चरणमा अघि बढाएको छ। कम्पनीका अनुसार हालसम्म करिब ३ हजार १३९ थ्रीजी टावरमध्ये ९९२ वटा टावरमा सेवा पूर्ण रूपमा बन्द गरिसकिएको छ। मंसिरको पहिलो सातादेखि थप करिब २ हजार १५० वटा थ्रीजी टावरमा सेवा बन्द गर्ने योजना कम्पनीको छ। यसअन्तर्गत पहिलो चरणमा लुम्बिनी र गण्डकी प्रदेशमा थ्रीजी सेवा बन्द गरिनेछ। त्यसपछि बागमती प्रदेशमा प्रक्रिया अघि बढाइनेछ भने मधेश, कोशी र अन्य प्रदेशका विभिन्न स्थानमा पनि क्रमशः सेवा बन्द गरिने कम्पनीले जनाएको छ। एनसेलको योजनाअनुसार पुसको पहिलो साताभित्र देशभर थ्रीजी सेवा पूर्ण रूपमा बन्द हुनेछ।

 

थ्रीजी बन्द भए पनि आधारभूत सञ्चार सेवा निरन्तर

थ्रीजी सेवा बन्द हुँदा ग्राहक आधारभूत सञ्चार सुविधाबाट वञ्चित नहुने एनसेलले स्पष्ट पारेको छ। फोरजी सेवा सञ्चालन गर्न नसक्ने पुराना मोबाइल सेट प्रयोग गर्ने ग्राहकले टुजी नेटवर्कमार्फत सामान्य भ्वाइस कल तथा एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्। विशेषगरी दुर्गम क्षेत्र तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई डिजिटल पहुँचबाट वञ्चित हुन नदिन आधारभूत सञ्चार सेवा निरन्तर उपलब्ध गराइने कम्पनीले जनाएको छ। फोरजी सुविधा उपलब्ध हुने मोबाइल सेट भए पनि पुरानो थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई भने सिम परिवर्तन गर्न एनसेलले आग्रह गरेको छ।

 

निःशुल्क फोरजी सिमसँगै २ जीबी डेटा

एनसेलले पुरानो सिमकार्ड प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिम उपलब्ध गराउने जनाएको छ। सिम परिवर्तन गर्ने ग्राहकले सात दिनको वैधता भएको २ जीबी मोबाइल डेटा पनि निःशुल्क प्राप्त गर्नेछन्। फोरजी सिममार्फत ग्राहकले उच्च गुणस्तरको मोबाइल इन्टरनेट सेवा उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ। यसैगरी, एनसेलले फोरजी नेटवर्कमै भ्वाइस कल गर्न सकिने भोल्टे (VoLTE) प्रविधिको प्रयोगलाई पनि प्रोत्साहन गर्दै आएको छ। भोल्टे सेवाबाट मोबाइल डेटा चलाइरहेकै अवस्थामा स्पष्ट आवाजमा छिटो र गुणस्तरीय भ्वाइस कल गर्न सकिने छ।

 

नेटवर्क सुधार र गुणस्तरीय सेवामा केन्द्रित

थ्रीजी प्रविधि विस्थापनसँगै नेटवर्कमा उपलब्ध फ्रिक्वेन्सी तथा स्रोतसाधनको प्रभावकारी उपयोग गर्न सकिने एनसेलले जनाएको छ। पुरानो प्रविधि सञ्चालनका लागि आवश्यक स्रोतलाई आधुनिक नेटवर्कको क्षमता विस्तार तथा सेवा गुणस्तर सुधारमा परिचालन गर्दा ग्राहकले अझ प्रभावकारी दूरसञ्चार सेवा प्राप्त गर्ने कम्पनीको अपेक्षा रहेको छ। फोरजी सेवाको विस्तारसँगै नेटवर्कलाई थप सुदृढ बनाउने, मोबाइल इन्टरनेटको गुणस्तर सुधार गर्ने र ग्राहकलाई आधुनिक प्रविधिमा आधारित सञ्चार सुविधा उपलब्ध गराउने लक्ष्य एनसेलले अघि सारेको छ।

 

देशभर फोरजी सेवाको पहुँच विस्तार भइसकेको अवस्थामा थ्रीजी प्रविधि विस्थापनलाई नेटवर्क आधुनिकीकरणको महत्वपूर्ण कदमका रूपमा लिएको एनसेलले ग्राहकलाई समयमै फोरजी सिम परिवर्तन गर्न तथा भोल्टे सेवा प्रयोग गर्न आग्रह गरेको छ। थ्रीजी युगको अन्त्यसँगै एनसेलले आफ्नो नेटवर्कलाई आधुनिक प्रविधिमा रूपान्तरण गर्दै सेवा गुणस्तर, नेटवर्क क्षमता र ग्राहक अनुभव सुधारमा केन्द्रित हुने जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x