दिपा अचारको उपभोक्ता ठगी धन्दा, खाद्य विभागले दियो कारबाहीको चेतावनी

580
shares
Nabil bank

काठमाडौं । उपभोक्तालाई गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउने जिम्मेवारी बोकेका व्यवसायीले नै तौल र गुणस्तरमा खेलबाड गरेको पाइएको छ। काठमाडौंको वनस्थली, ढुंगेधारामा बिक्री हुँदै आएको ‘दिपा अचार’ले प्याकेट तथा बट्टामा उल्लेख गरिएको तौलभन्दा निकै कम अचार बिक्री गर्दै आएको तथ्य सार्वजनिक भएको छ।

 

बट्टाको लेबलमा ४०० ग्राम लेखिएको अचार तौल गर्दा बट्टासहित जम्मा २५० ग्राम मात्र पाइएको छ। अझ ४०० ग्राम लेखिएको टिमुरको छोप अचारको मूल्य ५०० रुपैयाँ राखिएको भए पनि बट्टासहित तौल गर्दा जम्मा २२५ ग्राम मात्र भेटिएको छ। यसले उपभोक्तालाई मूल्यअनुसारको परिमाण उपलब्ध नगराई खुलेआम ठगी भइरहेको आशंका जन्माएको छ।

 

लेबलमा ४०० ग्राम उल्लेख गर्ने तर बट्टासहित पनि त्यति तौल नपुग्ने अवस्थाले उक्त उद्योगको उत्पादन, प्याकेजिङ र बिक्री प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ। अचारको वास्तविक तौल अझै कम हुन सक्ने देखिएकाले यसको निष्पक्ष परीक्षण र अनुगमन आवश्यक देखिएको छ।

 

उक्त अचार उद्योग थानकोटमा रहेको र आफू दिपा अचारको सञ्चालक रहेको दिपा श्रेष्ठले जानकारी दिएकी छन्। विभिन्न प्रकारका अचार बिक्री गर्दै आएको उद्योगले उत्पादनको तौल, गुणस्तर र लेबलिङसम्बन्धी मापदण्ड पालना नगरेको विषय सार्वजनिक भएपछि उद्योगको व्यावसायिक कार्यशैलीमाथि प्रश्न उठेको छ।

 

श्रेष्ठकै भनाइअनुसार केही समयअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगलाई दर्ता प्रक्रियामा आउन र प्रचलित कानुनअनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको थियो। तर विभागको निर्देशनपछि पनि उपभोक्तासँग सम्बन्धित तौल तथा लेबलिङको विषय विवादमा आउनुले नियमनको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

 

यस विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता प्रशान्त पोखरेलसँग प्रतिक्रिया लिँदा उनले उक्त अचार उद्योगमाथि तत्काल अनुगमन टोली पठाउने र कैफियत भेटिए कानुनबमोजिम कारबाही गर्ने बताएका छन्।

 

पोखरेलले आवश्यक मापदण्ड पूरा नगरेको पाइए कारबाहीको दायरामा ल्याउने र कानुनविपरीत सञ्चालन भएको पुष्टि भए उद्योग नै बन्द गर्नेसम्मको चेतावनी दिएका छन्।

यता, दिपा अचारकी सञ्चालक दिपा श्रेष्ठले भने अचार बिक्री गर्दा कतिपय अवस्थामा हस्तलिखित विवरण प्रयोग गरेको स्वीकार गरेकी छन्। बट्टामा तौल र मूल्यसमेत हातैले लेखेर पठाउने गरेको उनको भनाइ छ।

 

तर सञ्चालकले गल्ती स्वीकार्दै सुधार गर्ने प्रतिबद्धता जनाउँदैमा उपभोक्ताले भोगेको क्षतिको विषय समाप्त हुँदैन। ४०० ग्राम भनेर बिक्री गरिएको उत्पादन बट्टासहित २५० ग्राम र २२५ ग्राम मात्र भेटिनु सामान्य कमजोरी हो वा नियोजित रूपमा उपभोक्तालाई कम परिमाणको वस्तु बिक्री गरिएको हो भन्ने विषय विभागको अनुसन्धानबाट स्पष्ट हुनुपर्छ।

 

अब खाद्य विभागले अनुगमनको औपचारिकता पूरा गरेर मात्रै पुग्दैन। उद्योगको उत्पादनस्थल, प्याकेजिङ, वास्तविक तौल, खाद्य गुणस्तर, लेबलिङ र बिक्री अभिलेखको समेत परीक्षण गर्न आवश्यक छ।

 

उपभोक्ताले ४०० ग्रामको मूल्य तिरेपछि ४०० ग्राम नै उत्पादन पाउनुपर्छ। लेबलमा एउटा तौल लेखेर बट्टाभित्र अर्कै परिमाण राख्ने प्रवृत्तिमाथि सम्बन्धित निकायले प्रभावकारी कारबाही गर्न नसके बजारमा उपभोक्ता ठगीले थप प्रश्रय पाउने निश्चित छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x