बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा.अधिकारी

638
shares
Nabil bank

 

काठमाडौं । अष्ट्रेलियामा कार्यरत चिकित्सक डा. समृद्धि अधिकारीले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्शको आवश्यकता रहेको बताएकी छन् ।

बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले उनले ‘मिसन नेपाल’ अभियान सुरु गरेकी हुन् । उक्त अभियानअन्तर्गत असल छिमेकी नेपाल र नेपाल इन्टरनेसनल फेलोसिपसँगको सहकार्यमा रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताइन् ।

अष्ट्रेलियामै हुर्केकी डा.अधिकारीले बाढीले गरेको व्यापक विध्वंशको खबर सुन्नासाथ नेपाल आएर आफ्नो चिकित्सकीय सीपमार्फत सहयोग गर्ने सोच आएको बताइन् ।

‘बाढी आएको खबर हेर्दा र पढ्दा नेपालको अवस्थाले निकै दुःखी बनायो । के गरेर सहयोग गर्न सकिन्छ भन्ने सोच आयो । मेरो चिकित्सकीय पृष्ठभूमि भएकाले यही बेला आएर सेवा दिनुपर्छ भन्ने लाग्यो,’ उनले भनिन् ।

मिसन नेपालमार्फत सञ्चालन गरिएको स्वास्थ्य शिविरमा बालबालिकाको मनोसामाजिक अवस्थालाई पनि प्राथमिकतामा राखिएको उनले बताइन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनका क्रममा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म विभिन्न स्वास्थ्य समस्या देखिएको बताइन् ।

बाढीका कारण परिवारका सदस्य गुमाएका बालबालिकामा मानसिक तथा मनोवैज्ञानिक असर परेको उनले बताइन् । विशेषगरी अभिभावक गुमाएका बालबालिकामा चिन्ता, डिप्रेसन, छुट्टिने डर र व्यवहारमा परिवर्तन देखिएको उनको भनाइ छ ।

‘बाढीमा आमा–बुबा गुमाएका बालबालिकाको मनोवैज्ञानिक अवस्था देख्दा एकदमै दुःख लाग्यो । उनीहरूमा व्यवहार परिवर्तन भएको, एन्जाइटी, सेपरेसन एन्जाइटी र डिप्रेसनजस्ता समस्या देखिन थालेका छन्,’ उनले भनिन् ।

उनका अनुसार प्रभावित क्षेत्रमा बालबालिकालाई मनोसामाजिक परामर्शसँगै आर्ट थेरापी र सिर्जनात्मक गतिविधिमार्फत आफ्ना भावना व्यक्त गर्न सहयोग भइरहेको छ । यस्ता गतिविधिले बालबालिकालाई दुःख र पीडाबाट बाहिर निस्कन सहयोग पुग्ने उनले बताइन् ।

डा.अधिकारीले बाढी प्रभावित क्षेत्रमा अस्थायी आवास तथा होल्डिङ सेन्टरको अवस्था पनि कमजोर रहेको बताइन् । धेरै मानिस सीमित सुविधामा बस्न बाध्य भएको र एउटै स्थानमा धेरै परिवार बस्दा सरसफाइ तथा स्वास्थ्यसम्बन्धी समस्या देखिएको उनको अनुभव छ ।

उनले भनिन्,‘एउटा अस्थायी शिविरमा धेरै विस्थापितहरु बसी रहनु भएको थियो  । दुईवटा मात्रै बाथरुम थिए । जसका कारण पनि स्वास्थ्य समस्या आइरहेको थियो । परिवारका सदस्य गुमाएका, विस्थापित भएका र अस्थायी आश्रयमा बसेका मानिसहरूको अवस्था निकै कठिन देखियो ।’

स्वास्थ्य शिविरका क्रममा ज्वरो, चोटपटक, घाउको उपचार तथा दीर्घरोग भएका बिरामीले नियमित स्वास्थ्य सेवा पाउन नसकेको पनि उनले बताइन् । स्वास्थ्यकर्मी र औषधिको अभावका कारण कतिपय बिरामीको उपचार प्रभावित भएको उनको भनाइ छ ।

त्यस्तै, राहत सामग्री वितरणमा समेत प्रभावकारी व्यवस्थापन हुन नसकेको उनले औँल्याइन् । आवश्यकताभन्दा बढी सामग्री केही समुदायमा पुग्ने तर कतिपय ठाउँमा आवश्यक सामग्री नै नपुग्ने अवस्था देखिएको उनले बताइन् ।

‘मैले प्रयोगमा नआएका टेन्टहरू भुइँमा फालिएको देखेँ । एउटा समुदायले २५ वटा प्रेसर कुकर पाएको भन्ने पनि सुनियो । एउटै समुदायलाई त्यति धेरै प्रेसर कुकर आवश्यक नहुन सक्छ । त्यसैले राहत सामग्रीको वितरण र व्यवस्थापन आवश्यकताका आधारमा हुनुपर्छ,’ उनले भनिन् ।

प्रभावित क्षेत्रमा सडक र पुल भत्किएका कारण स्वास्थ्य सेवा तथा राहत सामग्री पु¥याउनसमेत कठिनाइ भएको उनले बताइन् । वर्षाका कारण आवतजावत झन् कठिन हुँदा बिरामीसम्म स्वास्थ्य टोली पुग्न समस्या भएको उनको अनुभव छ ।

ज्येष्ठ नागरिकमा घुँडा, खुट्टा र ढाड दुख्नेजस्ता दीर्घकालीन मांसपेशी तथा हाडजोर्नीसम्बन्धी समस्या धेरै देखिएको उनले बताइन् । यस्ता समस्यामा सामान्य औषधि र मलमले मात्रै समाधान नहुने भन्दै उनले पुनस्र्थापना, फिजियोथेरापी र नियमित स्वास्थ्य सेवाको आवश्यकता औँल्याइन् ।

‘ज्येष्ठ नागरिकलाई मलम र औषधि मात्रै दिएर हुँदैन । उहाँहरूलाई होलिस्टिक हेल्थ केयर चाहिन्छ । औषधिसँगै रिह्याबिलिटेसन, मोबिलिटी सपोर्ट र लामो समयसम्म फिजियोथेरापी पनि आवश्यक हुन्छ,’ उनले भनिन् ।

डा. अधिकारीले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले ‘मिसन नेपाल’ नामक संस्था स्थापना गरी स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिइन् । असल छिमेकी नेपाल र नेपाल इन्टरनेसनल फेलोसिपसँगको साझेदारीमा रसुवा र नुवाकोटमा स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताइन् ।

हालसम्म उक्त परियोजनाका लागि करिब ३ हजार ९ सय रकम फन्डरेजिङ भएको र लक्ष्य अझै ठूलो रहेको उनले जानकारी दिइन् ।

उनका अनुसार अहिले परियोजना प्रभावित क्षेत्रको अवस्था, स्वास्थ्य सेवामा रहेका कमीकमजोरी र आवश्यकताबारे अध्ययन तथा समीक्षा गर्ने चरणमा छ । त्यसपछि संकलित रकम आवश्यकताका आधारमा वितरण गरी प्रभावित समुदायका स्वास्थ्यसम्बन्धी समस्या समाधानमा खर्च गरिनेछ ।

उनले विपद्का बेला एकपटक राहत दिएर मात्रै नहुने भन्दै प्रभावित समुदायसँग निरन्तर सम्पर्क र सहकार्य आवश्यक रहेको बताइन् ।

उनले भनिन्,‘एकपटक गएर हेरेर मात्रै हुँदैन । त्यहाँका मानिसहरूलाई फेरि भेट्नुपर्छ, उनीहरूको अवस्था बुझ्नुपर्छ र निरन्तर सेवा दिनुपर्छ । हामीले स्थानीय संस्थासँग मिलेर दीर्घकालीन रूपमा काम गर्न खोजेका छौँ।’

डा. अधिकारीले भविष्यमा विपद् प्रभावित क्षेत्रबाहेक जेलमा रहेका कैदीबन्दी, अनाथ बालबालिका, मानव बेचबिखनबाट प्रभावित व्यक्ति र ग्रामीण क्षेत्रका स्वास्थ्य सेवाबाट वञ्चित समुदायसम्म पनि समग्र स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य राखेको बताइन् ।

अष्ट्रेलियामा सिकेको ज्ञान, सीप र अनुभव नेपालमा उपयोग गर्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै उनले विदेशमा हासिल गरेको सीप नेपालकै सेवामा लगाउनुपर्नेमा जोड दिइन् ।

‘विदेशमा गएर हामीले आफ्नो प्रतिभा र सीपलाई अझ परिष्कृत गर्न सक्छौँ । तर त्यो सीप विदेशमै मात्रै राख्नु हुँदैन । नेपाल फर्काएर नेपालको सेवामा पनि लगाउनुपर्छ भन्ने मेरो ठूलो चाहना हो,’ उनले भनिन् ।

आगामी दिनमा नेपाल फर्किएर दीर्घकालीन रूपमा स्वास्थ्य सेवाको समग्र मोडल विकासको लागि काम गर्ने र स्थानीय संस्थासँगको सहकार्यलाई निरन्तरता दिने योजना रहेको पनि उनले बताइन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x