कार्यालयमा हाजिर नहुने र बिदा स्वीकृत नगराई अनुपस्थित हुने ७ इन्जिनियर सरकारी सेवाबाट बर्खास्त

203
shares
Nabil bank

 

काठमाडौं । कार्यालयमा हाजिर नहुने र बिदा स्वीकृत नगराई लामो समय अनुपस्थित रहने प्रवृत्तिमाथि सरकारले कारबाही गर्दै पूर्वाधार विकास मन्त्रालयअन्तर्गत कार्यरत सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख)(१) बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाएको हो। मन्त्रालयको बुधबार प्रकाशित सूचनाअनुसार २०८३ कात्तिक २० गतेको निर्णयबाट उनीहरूलाई सेवाबाट हटाइएको हो।

सेवाबाट हटाइएका सबै इन्जिनियर नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणीका कर्मचारी हुन्।

 

मन्त्रालयका अनुसार पुजन न्यौपाने, सृष्टि भुषा, सम्योग श्रेष्ठ, आस्था आचार्य र नरेश थापा कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट हटाइएका हुन्। त्यस्तै, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठ बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कसुरमा कारबाहीमा परेका छन्।

सरकारी सेवामा रहेर जिम्मेवारी निर्वाह नगर्ने, कार्यालयमा उपस्थित नहुने तथा स्वीकृतिबिनै अनुपस्थित रहने कर्मचारीमाथि कानुनी कारबाही हुने सन्देश मन्त्रालयको यो निर्णयले दिएको छ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) र (ज) मा रहेको व्यवस्थाअनुसार उनीहरूमाथि कारबाही गरिएको जनाएको छ।

सरकारी सेवामा नियुक्त भएर जनताको सेवा गर्ने जिम्मेवारी पाएका कर्मचारी कार्यालयमै अनुपस्थित भएपछि प्रशासनिक काम प्रभावित हुने र राज्यको सेवा प्रवाहमा असर पर्ने भन्दै मन्त्रालयले उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरेको हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x