नेकपा एमाले अध्यक्ष ओली आज इलाम जाँदै
वि.सं.२०७८ चैत ६ आइतवार
shares
नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज आइतबार इलामको सूर्योदय नगरपालिका जाँदै छन् । एमालेकाे जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्न लागेका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्नेछन् ।
एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा कार्यक्रम हुँदैछ ।झलनाथ खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो ।
पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ ।
नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी दिइन् ।
फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ ।




























