उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ

861
shares
Shine resunga department bank

काठमाडौं । गत असारको तुलनामा उद्योग व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको भए पनि उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ भएको निष्कर्ष निकालिएको छ ।

नेपाल राष्ट्र बैंकले ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन’अनुुसार गत असारमा ४ प्रतिशत मात्र उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेकामा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेकोे छ । कोभिडका कारण अझै पनि ९.१ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएका छैनन् ।

सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७७ मंसिरमा उद्योग व्यवसाय सञ्चालनमा सुधार आएको देखिएको छ । साथै असारको तुलनामा उद्योग व्यवसायको उत्पादन एवं कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत सुधार आएको देखिन्छ । यद्यपि कोभिड–१९ पूर्वको अवस्थामा उद्योग व्यवसाय सञ्चालन हुन भने सकेका छैनन् ।

 

उद्योग व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको पनि देखिएको छ । गत जेठ–असारमा गरेको अध्ययनमा औसतमा ६१।०३ प्रतिशत उद्योग व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख थियो ।

 

अहिले भने नेपाल सरकारले कोभिड—१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिक रूपमा सञ्चालनमा आउन थालेका छन् । मंसिरमा गरिएको पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ ।

 

सो सर्वेक्षणले ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन कारोबार स्थिति मंसिरसम्मको सर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशतबाट ८७.५१ प्रतिशत पुगेको छ ।

 

१० पृष्ठ लामो प्रतिवेदनअनुसार २०७७ असारको तुलनामा मंसिरमा आइपुग्दा उद्योग र व्यवसाय सञ्चालनमा सुधार आए पनि पूर्ववत् अवस्थामा उद्योग र व्यवसाय सञ्चालन हुन भने नसकेको देखाएको छ ।

 

उद्योग व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्या अगाडि सारेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकको सर्वेक्षणले थोक तथा खुद्रा व्यापारबाट २९.३, उत्पादनमूलक उद्योगबाट १७.२ र होटल तथा रेस्टुरेन्टबाट १६.७ प्रतिशत नमुना प्राप्त गरेको थियो । सबैभन्दा कम विद्युत्, ग्यास तथा पानी क्षेत्रबाट ०.५ प्रतिशत पाएको थियो भने खानी तथा उत्खनन क्षेत्रबाट करिब १ प्रतिशत सहभागिता रहेको थियो ।

 

राष्ट्र बैंकका अनुसार अहिले पनि १६.७९ प्रतिशत घरेलु उद्योग सञ्चालन भएका छैनन् भने १५ करोडसम्म स्थिर पुँजी भएका साना उद्योग १४.०८ प्रतिशत सञ्चालन हुन सकेका छैनन् । १५ देखि ५० करोडसम्म स्थिर पुँजी भएका १२.२४ प्रतिशत उद्योग पनि सञ्चालनमा छैनन् । ५० करोड रुपैयाँमाथि पुँजी भएका कम्पनीहरू ८.३३ प्रतिशत सञ्चालनमा छैनन् ।

 

अहिले रोजगारी दर बढेको छ । उद्योग व्यवसायको आकारअनुसार कोभिड महामारीअगाडिको तुलनामा रोजगारीको अवस्था ७७.५ प्रतिशतबाट बढेर ८७.५१ प्रतिशत पुगेको छ ।

 

गत असारको तुलनामा उद्योग व्यवसायको उत्पादन तथा कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन तथा कारोबार रहेकामा मंसिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रको उत्पादन तथा कारोबार बढेको पाइएको छ ।

 

गत असारको तुलनामा उद्योग व्यवसायको औसत तलब—ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च मंसिरमा आइपुग्दा ७०.४ प्रतिशत पुगेको देखिएको छ । यद्यपि असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा क्षेत्रका उद्योग व्यवसायको औसत तलब—ज्याला खर्च घटेको पाइएको छ । राजधानी दैनिकबाट