गौरवका आयोजनाकै खर्च २० प्रतिशतभन्दा कम

1K
shares
Shine resunga department bank

काठमाडौं । बजेटको अर्धवार्षिक समीक्षा अवधिमा कम खर्च गर्नेमा गौरवका २२ आयोजना छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकनअनुसार समग्र गौरवका आयोजनामा विनियोजित बजेटको १५ दशमलव १९ प्रतिशत मात्र खर्च भएको पाइएको छ । त्यसमा करिब एक दर्जन आयोजनाले २० प्रतिशतभन्दा कम बजेट खर्चिएका छन् ।

सबैभन्दा कम खर्च गर्नेमा सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना छ । यसले पुँजीगततर्फ ४ करोड ४० लाख बजेटमध्ये २ दशमलव ८ प्रतिशत मात्र खर्च गरेको छ । त्यस्तै आर्थिक वर्ष २०५५/५६ बाट निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजनाले पुँजीगततर्फ २९ करोड १५ लाख रुपैयाँ अर्थात् ५ दशमलव ८९ प्रतिशत मात्र खर्चिएको छ । लामो समयदेखि निर्माणको अन्तिम चरणमा रहेको भनिए पनि अझै आयोजना सम्पन्न हुन सकेको छैन । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९८ दशलमव ५ प्रतिशत छ ।

आयोजनाका अनुसार काठमाडौंको सुन्दरीजलसम्म पानी झार्न परीक्षण गर्ने तयारी हुँदै छ । कम खर्च गर्नेमा विद्युत् प्रसारण आयोजना (मिलेनियम च्यालेन्ज) पनि छ । यसको ५० करोड ३० लाख रुपैयाँमा अहिलेसम्म ७ दशमलव १६ प्रतिशत खर्च भएको छ । गौरवको आयोजनाका रूपमा रहेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको ९ करोड ९२ लाख रुपैयाँमध्ये चालु आर्थिक वर्षको ६ महिनामा ८ दशमलव ७५ प्रतिशत मात्र खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ नै कम खर्च गर्नेमा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पनि पर्छ । यसले २७ करोड १९ लाखमध्ये २ करोड ४८ लाख ५१ हजार ६ सय ६० रुपैयाँ खर्च गरेको छ । यो ९ दशमलव १४ प्रतिशत मात्र खर्च हो ।

प्रगति कम भएका आयोजनालाई गौरवका आयोजनाबाट हटाउनुपर्ने भन्दै दबाब आए पनि त्यो हुन सकेको छैन । समग्रमा सीमित आयोजनाबाहेक अन्य आयोजनाको प्रगति सन्तोषजनक छैन । सम्पन्न हुने चरणमा रहेको वर्षौं बित्दा पनि मेलम्ची र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अझै पूरा हुन सकेका छैनन् । कम खर्च गर्नेमा बूढीगण्डकी जलविद्युत् आयोजना पनि पर्छ । यो आयोजनाको पुँजीगतर्फ १ अर्ब ७ करोड २८ लाख रुपैयाँमध्ये १३ दशमलव ५५ प्रतिशत मात्र खर्च भएको छ ।

काठमाडौं–तराई–मधेस द्रुतमार्ग खर्च प्रगति पनि सुस्त छ । नेपाली सेनाको निर्माण व्यवस्थापन रहेको यो आयोजनाको १ अर्ब २१ करोड ३० लाख रुपैयाँ बजेटमध्ये १३ दशमलव ८४ प्रतिशत खर्च भएको हो । आयोजनामा निर्माण गर्नुपर्ने सुरुङको ठेक्का अझै हुन सकेको छैन । पुल निर्माणका लागि पनि ठेक्का हुन नसक्दा आर्थिक वर्ष २०७८/७९ भित्र आयोजना सम्पन्न हुने अवस्था देखिन्न ।

उत्तर–दक्षिण राजमार्ग (कर्णाली, कालीगण्डकी र कोसी) को पनि खर्च कम छ । यो आयोजनामा ६ महिनामा १३ दशमलव ७ प्रतिशत मात्र खर्च भएको छ । अर्को कम खर्च गर्नेमा बबई सिँचाइ आयोजना छ । आर्थिक वर्ष २०४५/४६ बाट सुरु भएको यो आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ५१ दशमलव ८९ प्रतिशत मात्र छ । आयोजनाले चालु आर्थिक वर्षको ६ महिनामा २६ करोड ६९ लाखमध्ये १८ दशमलव ६५ प्रतिशत मात्र खर्च गरेको छ ।

मध्यपहाडी लोकमार्गले पुँजीगत तर्फ १ अर्ब ६२ करोड २५ लाख रुपैयाँमध्ये २० दशमलव १२ प्रतिशत खर्च गरेको छ । २५ जिल्ला र २ सय १५ बस्ती जोड्ने उक्त मार्गको २०६४/६५ बाट निर्माण थालिएको हो । आर्थिक वर्ष २०७९/८० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि अहिलेसम्मको भौतिक प्रगति ४९ दशमलव ३१ प्रतिशत मात्र छ ।

रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाले १ अर्ब ७४ करोड १० रुपैयाँमध्ये २० दशमलव १५ प्रतिशत खर्च गरेको छ । गौरवका आयोजनाहरूमा चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी खर्च गर्नेमा पशुपति क्षेत्र विकास कोष छ । यसले ७८ दशमलव ९७ प्रतिशत खर्च गरेको तथ्यांकमा उल्लेख छ । लकडाउनका बेला पनि निरन्तर काम गरेर प्रगति बढाएका विमानस्थल गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पनि कम खर्च गरेका छन् ।

पोखरा विमानस्थलको ११ दशमलव १३ प्रतिशत खर्च भएको छ । अहिलेसम्म उक्त आयोजनाको भौतिक प्रगति ७० प्रतिशत छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले चालु आर्थिक वर्षको ६ महिनामा १० प्रतिशत खर्चिएको छ । अहिलेसम्मको यसको भौतिक प्रगति भने ९४ प्रतिशत छ ।

Sharestha treating