केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको: माधवकुमार नेपाल

1K
shares
Nabil bank

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताए।

 

आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए ।

 

ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको पनि नेता नेपालले बताएका छन । ‘पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन’ उनले भने ।

 

ओलीले आलोचना र सुझाव नसुन्ने, पार्टी एकतालाई स्वार्थ सिद्धिको साधन बनाएको भन्दै नेता नेपालले भने ‘जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाउनुभयो, आफ्नो गल्तीको दोष सधैंभरी अरुलाई थोपर्नुभयो ।’

 

ओली सधैं पूर्वाग्रही रहेको र असहमतलाई पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उनले एक अर्का नेतालाई लडाउने, भिडाउने काम गरेको आरोप पनि लगाएका छन ।

 

‘उहाँले प्रधानमन्त्रीको कुर्सी बचाउन संविधानको अपब्याख्या गर्नुभयो, पार्टी निर्णय र सहमति भएका भन्दा विपरीत काम गर्नुभयो’ नेता नेपालले बताए ।

 

नेपालले आफूहरुले आयोजना गरेको कार्यकर्ता भेला स्थगित भयो भनेर फेक सूचना जारीसमेत गरेकोमा आपत्ति जनाएका छन् ।

 

“योगेश भट्टराईको नक्कली हस्ताक्षरसहित टाँसेर फेक सूचना सम्प्रेषण गरिरहेका थिए”, ललितपुरमा भएको कार्यकर्ता भेलामा उनले भने, “४ र ५ गतेको भेला स्थगित गरिएको छ भनेका थिए । म आफैँ पनि हेरेँ के पो आएछ ? सही फोटोकपी गरेर टाँसेर सम्प्रेषण गरिएको रहेछ ।”

 

उनले अहिले पनि साइबर स्यालहरु ज्युँदै रहेको बताएका छन । “साइबर स्यालहरु अझै पनि ज्युँदै रहेछन् । यो साइबर स्यालहरु अझै पनि बाँचिरहेका रहेछन् । नेकपा हुँदा थिए एमाले हुँदा हराए भनेको त अझै रहेछन् । साइबर स्यालदेखि होसियार, गलत सूचना सम्प्रेषण गर्नेछन् ।”

 

उनले भ्रमपूर्ण समाचार तथा पोस्टमा नपर्न आग्रह गरेका छन । पार्टी निर्माणसँग जोडिएको लडाइँमा आफूहरु रहेकोले यो पनको लडाइँ नभएको उनले बताएका छन।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited