स्वास्थ्य आपतकाल घोषणा गर्ने तयारी
वि.सं.२०७८ जेठ ७ शुक्रवार
shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश अनुमतिविना सवारीसाधन चलाए जरिबाना तिर्न पर्ने व्यबस्था गरिएको छ । निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना तिर्नुपर्ने भएको हो । राष्ट्रपति भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा २ (ग) यस्तो व्यवस्था गरिएको छ । अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन चलाए दुई हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ जरिवना हुने उल्लेख छ ।
कोरोना भाइरसको संक्रमण तीव्र भएको अवस्थामा स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने व्यवस्थासहित सरकारले अध्यादेश ल्याएको छ । सुरक्षाकर्मीले ती सवारीसाधनलाई निश्चित समय नियन्त्रणमा लिनसक्ने पनि भनिएको छ । मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ जरिबाना तिराउन सक्ने पनि व्यवस्था गरिएको छ ।
शुक्रबार मात्रै विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १ सय ८५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार ४४ वटा गाडी र २ हजार १ सय ४१ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय ४ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने १ सय ५१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । २ हजार ६ सय ९० जनालाई सम्झाइ बुझाइ गरिएको छ । साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार ९ सय ८७ जनालाई सचेत गराईएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।


























