मैले व्यक्तिगत खर्चमा किनेका स्वास्थ्य सामग्री ‘चिनियाँ सहयोग’ होइन : वनमन्त्री आले
वि.सं.२०७८ जेठ ११ मंगलवार
shares
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै खर्चमा गृह जिल्ला जिल्ला डोटीका लागि १ करोड बराबरको स्वास्थ्य सामग्री पठाए।
ती सामग्रमीमा आफ्नो तस्विर राखेको भनेर अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। कतिपयले ती स्वास्थ्य सामग्री चिनियाँ सहयोग भनेर प्रचार गरिदिएपछि मन्त्री पुनले खण्डन गरेका छन्।
मन्त्री पुनले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट गरे।
सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताए।
उनले भने, “अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ ।” महामारीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको जानकारी दिए।
उनले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटरसमेत आफ्नै लगानीमा किनेर प्रदान गरेको बताउँदै भने, “म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन।”
मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिण्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिण्डर र ५० हजार मास्क प्रदान गरेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री आलेले आफ्नो व्यक्ति लगानीमा डोटी र सेती प्रादेशिक अस्पतालमा गरी कुल ११० अक्सिजन सिलिण्डर प्रदान गरिसकेका छन।
यसैबीच जिल्ला अस्पताल डोटीले पनि विज्ञप्ति जारी गर्दै मन्त्री आलेले सहयोग गरेको प्रष्ट पारेको छ।




























