बिन्ती छ आऊ, लुछ हाम्रो मासु गिद्धले लुछे जस्तै 

2.2K
shares

       बिन्ती छ आऊ, लुछ हाम्रो मासु गिद्धले लुछे जस्तै 

काँग्रेसलाई पालो दिएकै हो

आयौ, पायौ, खायौ, लयौ, गयौ !

एमालेलाई पनि पालो दिएकै हो

आयौ, पायौ, खायौ, लयौ, गयौ !

माओवादी, मधेसवादी, रा.प्र.पा,

सबैलाई पालो दिएकै हो

मिलीजुली गर न त भनेर हेरेकै हो

साना, ठुला, दुला, हेर्न बाँकी को छ र ?

आयौ, पायौ, खायौ, लयौ, गयौ !

रवीन्द्र मिश्रको विवेकशील साझा बाहेक

देशलाई प्रयोगशाला बनाउन को नै बाँकी छौ र ??

तिमीहरूले लुट्दा लुटिन तयार भएकै हो

तिमीहरूले कुट्दा कुटिन तयार भएकै हो

तिमीहरूले भुट्दा भुटिन तयार भएकै हो

तिमीहरू फुट्दा फुटिन तयार भएकै हो

तिमीहरूले जुट्दा जुटिन तयार भएकै हो

एक पछि अर्को गर्दै सबैलाई भोट दिएकै हो

कन्चटमा पेस्तोल ताकेर माग्दा नोठ दिएकै हो

कलिला छोरा छोरी तिम्रो कथित जनयुद्धमा

खुसीले होइन, आँसुका भेलसँगै दिएकै हो

जङ्गलमा बसेर लुट्यौ

सहर पसेर लुट्यौ

पालै पालो लुट्यौ

जुटेर लुट्यौ,

फुटेर लुट्यौ

तमासा देखाएर लुट्यौ

दिन प्रतिदिन लुटिइरहेका हामीलाई अझै कति लुट्छौ ??

बहुदल भनेर लुट्यौ

प्रजातन्त्र भनेर लुट्यौ

लोकतन्त्र भनेर लुट्यौ

गणतन्त्र भनेर लुट्यौ

सङ्घीयता भनेर लुट्यौ

बहुमत भनेर लुट्यौ

अल्पमत भनेर लुट्यौ

मिलीजुली भनेर लुट्यौ

दुई तिहाइ भनेर लुट्यौ

भूकम्पका बहानामा लुट्यौ

कोरोना माहामारिका नाममा लुट्यौ

अहिले हामी कोरोनासँग जीवन मरणको लडाइँ लड्दै छौं

एक मुठी श्वासका लागि लड्दै छौं

अक्सिजन र बेडको अभावमा लड्दै छौं

बाँकी रहेको एक मुठी श्वास कुन बेला सकिने हो कुन्नि !

ए सत्ता पक्ष, ए प्रतिपक्ष, ए विपक्ष

आऊ सबै आऊ, हाम्रो मासु लुछेर खाऊ

परदेशमा रगत र पसिना बेच्ने

हाम्रा अभागी छोरा छोरीले पठाएको

दुई चार पैसा बाँकी भए त्यो पनि पुछेर खाऊ

तिमीहरू बेस्सरी रमाऊ, कमाऊ, जमाऊ

आरती उतार्ने र फेरो समाउनेहरू

तिम्रा नेताको फेरो समाउन र देश हरि कङ्गाल बनाउन

अझै पनि पछि लाग तिनको, फेरो समाऊ

रक्सी, मासु र भाग बिलोमै रमाऊ

र, आऊ हाम्रो मासु लुछ गिद्धले लुछे जस्तै

हामी अब मासु लुछिन मात्र बाँकी छौं

अरू सबै सबै लुटिसकेका छौ तिमीहरूले

बिन्ती छ आऊ लुछ हाम्रो मासु गिद्धले लुछे जस्तै !

आसुँ मात्रै किन ? खाउ हाम्रो मासु पनि

बनाउ राम नाम सत्य !

किनकी हामी जिउँदै मरिसकेका छौं

मारीइ सकेका छौं तिमीहरुबाट !

बिन्ती छ आऊ लुछ हाम्रो मासु गिद्धले लुछे जस्तै !

आसुँ मात्रै किन ? खाउ हाम्रो मासु पनि !

 

-मे २२-२०२१, हाल अमेरिका

civil hospital
Hams Hospitals