संसद विघटनविरुद्धका रिटमाथि आजबाट सुनुवाइ हुँदै
वि.सं.२०७८ जेठ १४ शुक्रवार
shares
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ हुने ३० वटामध्ये २६ रिट निवेदनमा प्रतिनिधि सभा पुनःस्थापना र संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ ।
त्यस्तै बाँकी चार वटा निवेदनमा भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने माग गरिएको छ ।
अन्तरिम आदेश माग गरेर दर्ता भएका १९ वटा रिटलाई बिहिबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संवैधानिक इजलासमै पठाउने आदेश दिएको थियो ।
बिहिबार रिटको प्रारम्भिक सुनुवाइका क्रममा बजेट पेस गर्नुपर्ने भन्दै जेठ १५ अघि नै प्रतिनिधि सभा पुनःस्थापना आवश्यक भएकाले अन्तरिम आदेशको माग गरिएको थियो ।
तर प्रधानन्यायाधीशको इजलासले रिट निवेदनहरुमा उठान भएको विषयसमेत गम्भीर संवैधानिक व्याख्याको विषय भएकाले आवश्यक प्रक्रिया पूरा गरी संवैधानिक इजालसमा पेस गर्न आदेश भएको थियो ।



























