टोकियो ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्ने
वि.सं.२०७८ असार ३० बुधवार
shares
काठमाडौँ । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्ने भएकी छिन् ।
नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रम मार्फत आज टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको हो ।
सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् । नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक प्राप्त गरेकी थिइन् ।
टोकियो ओलम्पिकमा सिंहसहित पौडीबाट एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सोनिया भट्टले सहभागिता जनाउने छन् ।
सिंहले महिला १०० सय फ्रि स्टाइल, एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा, परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउने छन् ।
यस्तै प्रशिक्षकहरु पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्ल समेत टोकियो ओलम्पिकमा सहभागी हुने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी र अफिसियलसहित कुल २६ जनाको सहभागिता रहने ओलम्पिक कमिटीले जनाएको छ । टोकियो ओलम्पिक आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
































