अन्योलमा कांग्रेस महाधिवेशन, तल्ला तहका अधिवेशन स्थगित

11.7K
shares
Nabil bank

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि पूर्वनिर्धारित कार्यतालिकाअनुसार घोषित तल्ला तहका सबै अधिवेशन स्थगित भएको छ । तल्ला तहका अधिवेशन स्थगित भएपछि कांग्रेसको १४औं महाधिवेशन पनि अन्योलमा परेको छ ।

क्रियाशील सदस्यताको विवाद बढ्दै जाँदा कांग्रेसले १२ साउनबाट सुरु गर्ने भनेको वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनमुनिका सबै तहका अधिवेशन अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरेको हो।

शनिबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यसअघि निर्धारित तल्ला तहका अधिवेशन स्थगित गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए ।

महतका अनुसार क्रियाशील सदस्यता विवादबारे टुंगो लगाएपछि केही दिनभित्रमा नै सबै तहका अधिवेशनका लागि अर्को मिति तोकिनेछ ।

‘क्रियाशील सदस्यताका विषयमा विवाद देखिएपछि वडा तहदेखिका अधिवेशन स्थगित गरिएको छ, केन्द्रीय महाधिवेशनको मिति अहिले चलाइएको छैन, सदस्यताका विषयमा टुंगो लगाएर केही दिनभित्रै सबै तहका अधिवेशनका मिति घोषणा हुन्छ,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने ।

सानेपामा अनसन

क्रियाशील सदस्यताका विषयमा विवाद बढ्दै जाँदा बारा, सर्लाही र धनुषाका जिल्ला तहका नेता कार्यकर्ता कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा अनसन तथा धर्नामा छन् । उनीहरूले जिल्ला तहका पुराना नेता कार्यकर्तालाई नै छुटाएर क्रियाशील सदस्यताको विवरण केन्द्रमा मनोमानी ढंगबाट पठाइएको भन्दै आपत्ति जनाउँदै आइरहेका छन् ।

सदस्यताका विषयमा विवाद हुँदा नेता रमेश लेखकको नेतृत्वमा कांग्रेसले बनाएको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यताको विवरण अन्तिम रूप दिन सकेको छैन । सदस्यताले अन्तिम रूप नपाउँदा समितिले सभापतिलाई सदस्यताको सूची बुझाउन पाएको छैन भने सो सूची नबुझाउँदासम्म वडातहका अधिवेशन सुरु हुने अवस्था छैन । त्यसैकारण कांग्रेसले तल्ला तहका अधिवेशन स्थगित गरेको हो ।

धर्ना र अनसनरत पक्षसँग वार्ता र सहमति प्रयास गर्न कांग्रेसले सहमहामन्त्री डा. प्रकासरण महत र पूर्वसहमहामन्त्री डा. रामशरण महतलाई जिम्मेवारी दिएको थियो ।

२२ क्षेत्रमा विवाद, प्रदेश २ मा धेरै

हालसम्म देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १ सय ४३ निर्वाचन क्षेत्रको सदस्यता मात्रै टुंग्याएको छ । २२ क्षेत्रमा भने विवाद देखिएको छ । विवाद देखिएकामा धेरै प्रदेश २ का जिल्ला छन् । यसैगरी, ७० बढी वडाको विवादका कारण सदस्यता नै स्थगित गरिएको छ । सप्तरी र बारामा भने बढी विवाद देखिएको छ ।

प्रदेश १ मा सोलुखुम्बु र सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा विवाद कायमै छ । लुम्बिनीमा कपिलवस्तु–३ र प्युठानमा विवाद कायमै छ भने सुदूरपश्चिमको डडेल्धुरा र कैलालीमा विवाद देखिएको छ । बाग्मतीको काभ्रे र सिन्धुपाल्चोकमा पनि विवाद देखिएको छ ।

कांग्रेसले यसअघि घोषणा गरेको कार्यतालिकाअनुसार १२ साउनबाट वडा अधिवेशन सुरु भइसक्नुपर्ने थियो । यसैगरी, गाउँ र नगरको अधिवेशन १६ साउन, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनका लागि तय गरिएको थियो । यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन र प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा गर्ने भनिएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार नयाँ र पुराना गरी विदेशबाट बाहेक ८ लाख ५० हजार २ सय ३२ जनाले क्रियाशील सदस्यतासम्बन्धी फाराम भरेका छन् । त्यसमध्ये ४ लाख ४४ हजार १ सय ४१ नयाँ छन् । बाँकी पुराना सदस्यतामा भने विवाद छैन । विवादित स्थानका सदस्यता नटुंगिए १३औं महाधिवेशनकै सदस्यतालाई आधार मानेर अधिवेशन गर्न सिफारिस गर्ने छानबिन समितिको तयारी छ ।

भदौबाट प्रक्रिया सुरु

कांग्रेसले पूर्वनिर्धारित अधिवेशनका कार्यतालिकालाई स्थगित गरेर पहिले सदस्यताको विवाद टुंग्याउने र त्यसपछि मात्रै अधिवेशनको मिति तोक्ने तयारी गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आगामी मंगलबार सदस्यताको सूची सभापतिलाई बुझाउने तयारी गरेको छ ।

विवाद टुंग्याएर अधिवेशनको मिति तोक्दा भदौ पहिलो साताबाट वडा तहको अधिवेशनको प्रक्रिया सुरु गर्ने र प्रक्रिया सुरु गरेपछि क्रमशः महाधिवेशलाई तन्काउने कांग्रेसको आन्तरिक तयारी रहेको हो ।

यसरी भदौबाट प्रक्रिया सुरु गरेपछि कात्तिकमा महाधिवेशन गर्ने विषयमा कांग्रेसको संस्थापन समूहमा छलफल चलिरहेको छ । तर, यो विषयमा संस्थापनइतर समूह भने तयार भइसकेको छैन ।

‘संस्थापन समूहको तयारी भदौमा वडा अधिवेशन सुरु गर्ने, त्यसो हुँदा महाधिवेशनको प्रक्रिया सुरु हुने भन्ने छ, त्यसपछि क्रमशः अन्य तहका अधिवेशन भदौ र असोजमा सकेर कात्तिकमा केन्द्रको महाधिवेशन गर्ने तयारी छ, सो विषयमा छलफल हुँदै छ,’ कांग्रेस उच्च स्रोतले राजधानीसँग भन्यो ।

विकल्पबारे पनि छलफल

शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशन गर्ने उपाय र विकल्पबारे पनि छलफल भएको छ ।

सदस्यताको विषयमा विवाद समाधान नभए १३औं महाधिवेशनका पुरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानुनी र संवैधानिक उपाय सोच्नेलगायतका विकल्पमा छलफल भएको छ । सो प्रस्ताव कांग्रेस संस्थापन इतर मानिएको रामचन्द्र पौडेल समूहले राखेको हो ।

तर, संस्थापन पक्ष भने पुरानो सदस्यताबाट अधिवेशन गर्ने पक्षमा छैन । संस्थापन पक्ष विवाद देखिएका स्थानमा नयाँ सदस्यता स्थगन गरेर महाधिवेशनमा जान भने तयार छ ।

राजधानी दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x