प्रधानमन्त्रीको भिडियो सन्देश : कोरोनाको तेस्रो लहरको संकेत देखिँदै छ, सचेत रहौं
वि.सं.२०७८ साउन २४ आइतवार
shares
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहर सुरु हुने संकेत देखिएको भन्दै सचेत रहन सबैमा आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले शनिबार एक भिडियो सन्देशमार्फत महामारीका रूपमा फैलिएको कोरोना भाइरसको तेस्रो लहरको संकेत देखिन थालेकाले सचेत रहन आमसर्वसाधारण नागरिकमा अपिल गरेका हुन् ।
उनले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको एक्लो प्रयास मात्रै पर्याप्त नहुने भन्दै सबैले हातेमालो गरेर कोरोना महामारीविरुद्ध एक भएर अघि बढ्नुपर्नेमा समेत जोड दिए ।
‘कोरोना महामारीको तेस्रो लहरका लक्षण देखिन थालेका छन् । सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन,’ प्रधानमन्त्री देउवाले भिडियो सन्देशमा भनेका छन्, ‘सबै मिलेर मात्रै यो महामारी तह लगाउन सकिन्छ ।’
उनले आवश्यक परे मात्रै घरबाहिर निस्कन, निस्किँदा नाक र मुख छोपिने गरी मास्कको प्रयोग गर्न पनि आमनागरिकमा आग्रह गरेका छन् ।
‘म यहाँहरूसँग आग्रह गर्छु, अत्यन्त आवश्यक परेको बेलामात्रै बाहिर निस्कौं, बाहिर निस्कनूअघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं र बेलाबेलामा साबुन पानीले हात धोऔं, स्वास्थ्य सचेतनासम्बन्धी मापदण्ड सबै पालना गरौं,’ उनले भने ।
प्रधानमन्त्री देउवाले महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी अस्त्र खोप भएको भन्दै खोप लगाउन जाँदासमेत सामाजिक दूरी कायम गरी लाइनमा बस्न सबैमा आग्रह गरे ।
‘महामारी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी अस्त्र भनेको खोप हो, अहिले विभिन्न उमेर समूहलाई खोप लगाउने कार्यक्रम जारी छ, खोप लगाउन जाँदा सामाजिक दूरी कायम गरी लाइनमा बस्न पनि म सबैलाई अनुरोध गर्छु,’ प्रधानमन्त्री देउवाले सन्देशमा भनेका छन् ।
राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्थालाई भिडभाड हुनेगरी कार्यक्रम आयोजना नगर्न र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएर मात्रै पेसा, व्यवसाय सञ्चालन गर्न पनि प्रधानमन्त्री देउवाले सबैमा आग्रह गरे ।
राजधानी दैनिकमा समाचार छ।
































