वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचनसम्मै
वि.सं.२०७८ साउन ३१ आइतवार
shares
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव गरेका छन् । शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्ष दाहालले संविधानको रक्षा, प्रतिगमनविरुद्धको लडाइँ एवं मुलुकको समस्या समाधानका लागि पनि गठबन्धनको निरन्तरता अत्यावश्यकता रहेको उल्लेख गरेका छन् ।
अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तीमा पनि कायम राख्ने पार्टीको नीति हुनेछ’
गठबन्धनको संयुक्त सरकारले आफ्नो साझा नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरेको सन्दर्भ जोड्दै अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनमा त्यसलाई सफल कार्यान्वयन गर्न जोड दिने उल्लेख गरेका छन् । राजधानी दैनिकमा समाचार छ।
































