ठाकुरको अध्यक्षतामा जसपा लोकतान्त्रिक

14.2K
shares
Nabil bank

गठन भएको १६ महिनामै जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ। जसपाको अध्यक्षबाट हटाइएका महन्थ ठाकुरले बुधबार जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

२०७७ वैशाख १० गते मध्यरातमा हतारहतारमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण गरी जनता समाजवादी पार्टी गठन गरिएको थियो। गठन भएको एक वर्ष नबित्दै पार्टीभित्र गम्भीर विवाद सिर्जना भयो। केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुगेको भए ठाकुर पक्षले एक महिनाअघि नै नयाँ पार्टी गठन गर्ने थियो। अहिले सरकारले पार्टी विभाजन र गठनका लागि सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि ठाकुर पक्षले नयाँ पार्टी गठन गरेको हो।

जसपा आधिकारिकता विवादमा निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि राजनीतिक दलसम्बन्धी ऐनमा भएको प्रावधानका कारण ठाकुर पक्ष नयाँ पार्टी खोल्न पनि नसक्ने र जसपामा पनि बस्न नसक्ने अवस्थामा पुगेको थियो। त्यति बेला नयाँ पार्टी घोषणा गर्नेबित्तिकै उनीहरूको सांसद पद जाने थियो।

त्यसैले ठाकुर पक्षले जसपामै रहेर नयाँ पार्टीको अभ्यास गरिरह्यो। पार्टी अध्यक्ष यादवले ठाकुर पक्षलाई निरन्तर पेल्दै गए। सुरुमा यादवले ठाकुरलाई अध्यक्षबाट हटाए। त्यसपछि ठाकुर र उनीनिकट नेताहरूलाई कार्यकारिणी समितिबाट हटाइयो। निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा ठाकुरलाई साथ दिएका १६ जनालाई केन्द्रीय सदस्य पदबाट समेत हटाइयो।

यस्तै अप्ठेरो परेका बेला सरकारले दल विभाजन र गठनका लागि सहज हुनेगरी ल्याएको अध्यादेशले ठाकुर पक्षका नेताहरूलाई ठूलो राहत मिल्यो। उनीहरूले बुधबार नयाँ दल गठनका लागि निर्वाचन आयोगमा निवेदन दिए।

नयाँ दल दर्ताका लागि निवेदन दिएपछि ठाकुर पक्षका नेता केशव झाले भने्, ‘राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएकोमा शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विशेष धन्यवाद छ।’ देउवालाई अध्यादेश ल्याउन आग्रह गर्न ठाकुर पक्षका नेताहरू मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

ठाकुर पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा कार्यकारिणी समिति २४ सदस्यीय हुने उल्लेख छ। जेलमा रहेका रेशम चौधरीको नाम पनि कार्यकारिणी समितिमा राखिएको छ। यसअघि उनी उपेन्द्र यादव पक्षमा थिए। ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) मा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी १४ सांसद रहेको दाबी गरेको छ। पार्टीमा एकल अध्यक्षको व्यवस्था गरिएको छ। राजेन्द्र महतोलाई वरिष्ठ नेता बनाइएको छ। तत्कालीन राजपामा जस्तो अध्यक्षमण्डल राखिएको छैन। चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ।

जसपा नेपाल (लोकतान्त्रिक) को कार्यकारिणी समितिका अधिकांश सदस्य तत्कालीन राजपा खेमाका छन्। तत्कालीन समाजवादी पार्टीबाट आएका उमाशंकर अरगरैया र विमल श्रीवास्तवलाई पनि ठाकुरले कार्यकारिणी समितिमा राखेका छन्। नागरिक दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x