अलबिदा जनगायक टुहुरे !
वि.सं.२०७८ भदौ ११ शुक्रवार
shares
‘आमा दिदी बैनी हो, कति बस्छौं दासी भै
सुखको सधैं प्यासी बनेर…’
यो कालजयी गीतका स्रष्टा प्रगतिशील, जनवादी तथा क्रान्तिकारी गायक जेबी टुहुरे अब हामीमाझ रहेनन् । आफ्नै गीत संगीतबाट देशमा परिवर्तन ल्याउने कार्यमा जीवन बिताएका उनी भौतिक रूपमा यो संसारबाट विलीन भएका छन् ।
टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार मध्यान्न १२ः३० बजे निधन भएको छ । विगत १० दिनदेखि उपचाररत उनको मस्तिष्कघातका कारण काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो ।
गत १ भदौमा उच्च रक्तचापका कारण मतिष्कघात भएर कलंकीस्थित निवासमा लडेपछि उनलाई परिवारले बयोधा अस्पतालमा भर्ना गरेको थियो । उनी उच्च रक्तचापसहित मधुमेह र फोक्सोसम्बन्धी समस्याबाट पनि पीडित थिए । मस्तिष्कको नसामा रक्तसञ्चार अवरोध भएर पनि अन्य रोगका कारण उनको अप्रेसन गर्न गाह्रो भएपछि औषधिमार्फत बयोधाको आईसीयूमा उपचार भइरहेको थियो । उपचारकै क्रममा बिहीबार उनको निधन भएको हो।
दिवंगत जनगायक टुहुरेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहीबार दिउँसो काठमाडौंको पेरिस डाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालयको प्रांगणमा राखिएको थियो । सो क्रममा माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले टुहुरेको पार्थिव शरीरलाई नेकपा माओवादी केन्द्रको झन्डा ओढाएर पार्टीका तर्फबाट श्रद्धाञ्जली अर्पण गरे । यस्तै, नेकपा माओवादीका नेताहरू वर्षमान पुन र कृष्णबहादुर महराले पनि पेरिसडाँडा पुगेर उनको पार्थिव शरीरमा श्रद्धासुमन अर्पण गरे ।
सो क्रममा पेरिसडाँडा पुगेर माओवादी नेता, कार्यकर्तासहित विभिन्न गायक, गायिका, संगीतकर्मी तथा शुभचिन्तकले उनको पार्थिव शरीरमा फूलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरे ।
दिवंगत गायक टुहुरेको बिहीबार बेलुका पशुपति आर्यघाटमा दाहसंस्कार सम्पन्न गरियो । दाहसंस्कार अघि उनको पार्थिव शरीरमा नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल र खेम नेपालीले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेकपा एमाले समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि आर्यघाट पुगेर जनवादी गायक टुहुरेप्रति श्रद्धाञ्जली अर्पण गरे । यस्तै, आर्यघाट पुगेर एमाले नेताहरू प्रदीप ज्ञवाली, विजय सुब्बा, खगेन्द्र राईलगायतले पनि दिवंगत टुहुरेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनका श्रीमती सत्यदेवी, एक छोरा र चार जना छोरी रहेका छन् ।
जनवादी गायक टुहुरे २००१ साल १५ कात्तिकमा सुनसरीको धरानमा जन्मिएका थिए । उनको न्वारनको नाम जुटबहादुर खड्गी राखिएको थियो । पछि गायनमा उत्रिएपछि सोही नामलाई उनले जेबी टुहुरे बनाएका थिए ।
टुहुरेले २०१८ सालबाट गायन यात्रा सुरु गरेका थिए । उनले सुरुका दिनमा आधुनिक तथा लोक गीतहरू गाउँदै गायन यात्रा सुरु गरेका थिए । सोही क्रममा टुहुरेले रेडियो नेपालमा २०२४ सालमा आफ्नो स्वरमा गीत रेकर्ड गराएका थिए । त्यतिबेला टुहुरेका करिब एक दर्जन मायाप्रेमका गीत रेडियो नेपालमा रेकर्ड भएका थिए ।
२०१८ सालमा नेपालमा पञ्चायती व्यवस्थाको उदयसँगै दलमाथि प्रतिबन्ध लगाइएपछि विभिन्न पार्टीका नेताहरूले भूमिगत रूपमै पञ्चायतविरुद्ध संघर्ष अघि बढाए । यो व्यवस्था टुहुरेलाई मन परेको थिएन । मायाप्रेमको गीत गाउँदै आएका टुहुरेलाई पञ्चायती दमनले मन दुख्यो । अनि उनी पनि तत्कालीन व्यवस्थाको विद्रोही बनेर जनचेतनामूलक गीत गाउँदै जनवादी गायनमा उत्रिए । जसका कारण उनी अन्य नेताहरूसँग विभिन्न कार्यक्रममा जनवादी गायकका रूपमा प्रस्तुत हुन थाले ।
उनको जोसिला गीत आमजनताले रुचाउन थालेपछि टुहुरेलाई खुला रूपमा हिँड्न गाह्रो भयो । जनवादी गायनमा लागेपछि उनले २०२५ सालमा पूर्व कोसी प्रान्तीय कमिटीमार्फत कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । त्यसपछि रेडियो नेपालमा उनका गीत रकेर्ड गर्न पनि बन्देज गरियो ।
गीत गाउँदै जाने क्रममा उनलाई ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैं प्यासी बनेर’ गीतले झनै लोकप्रिय बनायो । त्यतिबेला नारी जागरणका लागि यो गीत निकै शक्तिशाली रूपमा आएको थियो । उनले श्रोताको माग बढेपछि २०३४ सालमा यो गीत रेकर्ड गरेका थिए । राजधानी दैनिकमा समाचार छ।


























