ओलीलाई पोखरेलको चुनौती
वि.सं.२०७८ भदौ १५ मंगलवार
shares
आगामी मंसिरमा हुन गइरहेको नेकपा (एमाले)को महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशनमा हालका अध्यक्ष ओलीलाई कसैले पनि चुनौती नदिने विश्लेषण भइरहेका बेला महासचिव पोखरेल अघि बढेका हुन् । यद्यपि, उनी यो विषयमा कहिलेसम्म अडिग हुन्छन्, निश्चित छैन ।
वसुन्धरामा सोमबार पत्रकारसँग कुराकानी गर्दै महासचिव पोखरेलले उमेदवारी दिने घोषणा गरेका हुन् । ‘अबको नेतृत्वमा मैले कुनै पनि पदीय रूपमा जिम्मेवारी लिन सक्छु भन्ने कुरो मैले अहिलेसम्म गरेको कामले देखिएको छ । परिस्थिति आए र कार्यकर्ताले पनि साथ दिए म ‘डिजर्ब’ गर्न सक्छु,’ उनले भने ।
कार्यकर्ताको भावना र आवश्यकताका साथै परिस्थिति हेरेर आफू अघि बढ्ने उनको भनाइ छ । एमालेले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
नेपालको राजनीति अहिले दुईवटा पोलमा केन्द्रित भएर अघि बढेको उनको भनाइ छ । केपी शर्मा ओलीले एउटा पोलको नेतृत्व गरेको र अर्को त्यसविरुद्ध बनेको गठबन्धन भएको उनको भनाइ थियो । गठबन्धन टालाटुली बटुली भएको आरोप लगाउन उनले ओलीका शब्द सापटी लिएका थिए । राजधानी दैनिकमा समाचार छ।


























