मन्त्रिपरिषद् गठन : आकांक्षी धेरै हुँदा भागबन्डामा सकस

921
shares

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी र जनमोर्चा आबद्ध छन् । यी दलबीच शुक्रबार यता दिनहुँजसो मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुँदै आइरहेको छ ।

सोमबार मात्रै पनि बिहान र साँझ गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुईपटक बैठक बसेको थियो । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका नेताहरू सहभागी थिए ।

बैठकमा गठबन्धन आबद्ध दलले लिने मन्त्रालयका विषयमा कुरा नमिल्दा फेरि मंगलबार बिहान बैठक बस्ने भन्दै नेताहरू बैठक स्थलबाट उठेका थिए ।

यसअघि कांग्रेससहित सत्ता गठबन्धन आबद्ध दलबीच कांग्रेसले कुल ७ र अन्य गठबन्धन आबद्ध दलहरूले एक राज्यमन्त्रीसहित ६÷६ मन्त्रालय लिने सहमति बनेको थियो ।

कांग्रेस नेता मीन विश्वकर्मा भने मंगलबार मन्त्रालयका विषयमा गठबन्धन आबद्ध दलहरूबीच सहमति गरेर बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताउँछन् ।

‘भोलि शीर्ष तहको बैठक बसेर मन्त्रालयको विषयमा सहमति गर्ने र बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने नेताहरूबीच सहमति छ,’ नेता विश्वकर्माले भने ।

सरकार विस्तारबारे सहमति जुटाउन आइतबार पनि सत्ताधारी दलका शीर्ष नेता दुईपटक बैठक बसेका थिए । तर, सत्ता साझेदार सबैले आफ्नो अडान नछाडेपछि सहमति जुटेको थिएन ।

माओवादी केन्द्रले ६ मन्त्रालय र एक राज्य मन्त्रालयमा दाबी गरेको छ । यस्तै, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ६ वटा मन्त्रालयमा दाबी गरेको छ । जसपाले पनि ६ वटा मन्त्रालयकै दाबी गरिरहेको छ । उसले माओवादी र समाजवादीकै हैसियत पाउनुपर्ने अडान लिएको छ । राजधानी दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals