चीनसँगको सीमा विवाद अध्ययन गर्न छानबिन समिति

Ghorahi cement

काठमाडौं । सरकारले चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्ला नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा विवाद अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाउन गृह मन्त्रालयका सहसचिव नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हुम्लाका विभिन्न ठाउँमा देखिएका सीमा विवादबारे अध्ययन गर्न छानबिन समिति गठन गर्ने निर्णय भएको बताए । उनका अनुसार छानबिन समितिमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारी र सीमाविद् समावेश गरिने छ । मन्त्रिपरिषद् बैठकले तीन निजामती कर्मचारीको बढुवा पनि गरेको छ ।

सरकारका प्रवक्ता एवं कानुनमन्त्री कार्कीका अनुसार सहसचिव राजकुमार श्रेष्ठ सचिवमा बढुवा भएका छन् । त्यस्तै, सरकारले परराष्ट्र मन्त्रालयका दुई उपसचिव कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई सहसचिवमा बढुवा गरेको छ । सरकारले धितोपत्र बोर्ड अध्यक्ष भीष्म ढुंगानाले कानुनविपरीत आफन्तका नाममा शेयर खरीद गरेको विषयमा छानबिन गर्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

बोर्ड अध्यक्ष सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न उच्चअदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको हो । जसमा विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल र अर्का सदस्य नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का छन् । धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसार कारबाही पूक्रिया अघि बढाउने उद्देश्यले छानविन समिति गठन भएको हो । राजधानी दैनिकमा समाचार छ।

Nepali patro