प्रतिपक्षको विरोधका बीच संसद् सञ्चालन
वि.सं.२०७८ भदौ २६ शनिवार
shares
काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा शुक्रबार तीनवटा बैठक बसे । तीनवटै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकबीच धकेलाधकेल चलिरह्यो । तर, सभामुख अग्नि सापकोटाले बैठकलाई सञ्चालन गरिरहे । त्यहीबीचमा अर्थमन्त्री जनार्दन शर्मा दौडिँदै रोस्ट्रम पुगे र विभिन्न अध्यादेश तथा विधेयक पेस गरे । एमाले सांसदहरूको रोस्ट्रम कब्जा गर्ने प्रयासलाई मर्यादापालकहरूले असफल पारिदिए ।
एमालेको अवरोध र नाराबाजीबीच सभामुख सापकोटाले शुक्रबारको प्रतिनिधि सभा बैठक चलाए । बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए । पहिलोपटक सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि रोकेका थिए । दोस्रो बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी जारी राखे । उनीहरूको नाराबाजीबीच सभामुख सापकोटाले बैठक अघि बढाए । केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संसद्मा पेस गर्न सभामुख सापकोटा अर्थमन्त्री जनार्दन शर्मालाई समय दिए । एमाले सांसदको नाराबाजीबीच संसद्को बहुमतले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको थियो ।
त्यसपछि बस्ने बैठकमा सरकारले अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने कार्यसूची थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले ओलीले ल्याएको बजेट परिमार्जन गरेको थियो । तेस्रोपटक बसेको बैठकमा पनि एमाले सांसदले फेरि नाराबाजी गर्न थाले । उनीहरूको नाराबाजीबीच अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पढिरहे । सुरुमा नाराबाजी गरिरहेका एमाले सांसदहरूलाई मर्यादापालकले रोकिरहेका थिए । केहीबेरपछि सांसदहरूले आफ्ना साथीलाई उठाएर काँध चढाए । उनीहरूले काँध चढेरै रोस्टमसम्म पुग्न प्रयास गरेको देखिन्थ्यो । तर, मर्यादापालकले उनीहरूको प्रयास सफल हुन दिएनन् ।
प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसदको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले संघीय प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रस्तुत गरे । यसैबीच एमाले सांसदले प्रधानमन्त्री शेरबहादुर देउवा बसेको लाइनको माइक थुत्न थालेपछि प्रधानमन्त्री देउवाले आफ्नो माइक लुकाएका थिए । हुलदंगाबीच संसद्मा एमाले सांसदले माइक टिप्नै लाग्दा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई रोकेका थिए । राजधानी दैनिकमा समाचार छ।
































